Wednesday, 13 April 2016

नयाँ वर्षको पहिलो दिनमै पश्चिमबाट आयो दुःखद खबर ! देश नै शोकमग्न

काठमाडौं, १ वैशाख । २०७२ सालको दुःखद विदाइ गरेका नेपालीहरुले नयाँ वर्ष २०७३ को पहिलो दिनमै दुःखद खबर सुन्नुपरेको छ ।

नयाँ वर्ष हर्ष उल्लासले मनाइरहेका बेला पश्चिम नेपालबाट दुःखद प्राप्त भएपछि देश नै शोकमा डुबेको छ ।
घटना २०७२ सालको अन्तिम रात अर्थात चैत ३० राति ९ बजेको भएपनि नयाँ वर्षको पहिलो दिन थाहा पाए । यो घटनामा समाजका प्रतिष्ठित व्यक्तिहरुले ज्यान गुमाउँदा पश्चिम नेपालका साथै राजधानी पनि शोकमा डुबेको छ ।
सोमबार राति डोटीमा भएको जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौंका तीन प्राध्यापकसहित आठ जनाले ज्यानै गुमाएका छन् । केही दिनअघि पद्मकन्याकै स्ववियु सभापतिको पनि सवारी दुर्घटनामा परी निधन भएको थियो ।

यो घटनाको पीडा सेलाउन नपाउँदै पद्मकन्याका तीन प्राध्यापकले पनि दुर्घटनामै ज्यान गुमाए ।

प्राध्यापक
प्राध्यापक जयराज पन्त
दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवम् डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा जयराज पन्त, उनकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्तको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत थिए ।

लामो समयदेखि प्राध्यापन गर्दै आएका डा पन्त मध्यपश्चिम र सुदूरपश्चिम नेपालको र खास गरी डोटेली लोक संस्कृतिको अनुसन्धानकर्ता रहेका थिए । पद्मकन्यामा प्राध्यापन गर्नुअघि उनले कैलाली बहुमुखी क्याम्पस धनगढीमा पनि केही समय अध्यापन गरहेको उनका भाइ नन्दराजले बताए ।

संस्कृति सहित दुई विषयमा विद्यावारिधि गरेका प्रा डा पन्तका ‘अञ्जुलीभरि सगुन, पोल्टाभरि फाग, ‘भुवनेश्वरी‘ लगायतका कृति प्रकाशित छन् ।
यस्तै सोही दुर्घटनामा परी डा पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक र हाल बैतडीमा एक गैरसरकारी संस्थामा कार्यरत डा गणेशराज र उनका भाइ कैलाली अत्तरिया नगरपालिकाका ५९ वर्षीय केशवराजको समेत मृत्यु भएको छ ।

आफ्नो जन्मथलो डोटीको जिजोडामाडौं गाविस—८ जैनोली गाउँमा यही वैशाख ३ गतेदेखि सप्ताह यज्ञको आयोजना गर्ने योजनानुसार बाङ्डुग्रीसैनबाट जिजोडामाडौंतर्फ जाँदै गरेको अवस्थामा उनीहरु सवार ना१ज ३२९४ नं को जिप गए राति ९ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक डोटी वनलेक गाविसका– ४५ वर्षीय चेतराज बलायर, जिजोडामाडौं गाविसकी ३६ वर्षीया हरिना टमाटा र ठेगाना खुल्न नसकेकी १७ वर्षीया जानकी ताम्राकारको समेत मृत्यु भएको छ ।
घटनास्थलमा छ जनाको र डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । तिनको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

उद्वारका लागि राति नै घटनास्थल पुग्नुभएका डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले ठाडो उकालो, कच्ची साँघुरो बाटो र धेरै मोड रहनु नै जिप दुर्घटनाको कारण भएको बताए ।

सडकबाट झन्डै पाँच सय मि तल भिरमा खसेर भएको दुर्घटनामा जिपमा सवार ४५ वर्षीया नर्वदा पन्त, ३८ वर्षीय गौरव पन्त, नौ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा र कलावती टमटा, धौली टमटा र २२ वर्षीया अनिता टमटा घाइते भएका छन् ।

घाइतेमध्ये नर्वदा र गौरवलाई थप उपचारका लागि नेपालगन्जतर्फ लगिएको तथा अन्यको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
dainiknepal

No comments:

Post a Comment