Monday, 4 April 2016

१८ युवती ठग्ने ‘अमेरिकी लाहुरे’ को नाम पनि नक्कली : कान्छी श्रीमतीको भाई बनेर लिए दोस्रो नागरिकता

काठमाडौं– ‘अमेरिकन लाहुरे हुँ, तिमीलाई आफ्नी बनाएर अमेरिका लान्छु’ भन्दै १८ जनाभन्दा बढी युवती ठगेका जीवन तामाङले नक्कली भाई बनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई समेत झुक्याएको पाइएको छ ।

‘मेरो घर नुवाकोट हो,’ भन्दै प्रहरीसँग झुट बोल्दै आएका जीवन तामाङ संखुवासभाको तामाफोक गाविसका स्थायी बासिन्दा हुन् । संखुवासभाकै तामाङ युवतीसँग पहिलो विवाह गरेका जीवन आजभन्दा करिब दश बर्षअघि किर्तिपुर बस्थे । किर्तिपुर बस्दैगर्दा ‘अर्कोसँग किन लागिस् ?’ भन्दै निहुँ खाजेपछि उनकी जेठी श्रीमति काखको छोरी च्यापेर रुँदै–रुँदै संखुवासभाको गाडी चढेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार जीवनकी जेठी हाल घर र माइतीको बीचमा पसल चलाएर बसेकी छिन् । छोरी दश बर्षकी भइसकिन् ।
यो पनि पढ्नुहोस्
‘अमेरिकन’ लाहुरेसँग लगनगाँठो कस्न खोज्दा यसरी ठगिए १६ सुन्दरी
जेठी श्रीमतिलाई हप्काएर घर पठाएपछि जीवन अफगानिस्तानतिर लागे । अफगानिस्तानमा केही बर्ष बस्दा उनले अमेरिकन आर्मीको बारेमा धेरै कुरा थाहा पाए । संखुवासभाबाट बनाएको पासपोर्ट साथमा बोकेर वर्किङ भिसामा दुबई पुगेका जीवन त्यहीँबाट गैरकानुनी रुपमा अफगानिस्तान हानिएका थिए ।


नेपाल फर्केपछि एकजना युवतीमार्फत नुवाकोट सामरी स्थायी घर भएकी सुवी तामाङसँग उनको भेट भयो । सुवी काठमाडौंको बालाजुमा सिलाइ कटाईको तालिम लिँदै थिइन् । सिलाई–कटाईको तालिम लिँदै गरेकी सुवीसँग जीवन बिस्तारै नजिकिए र उनको घरसम्म पुगे ।
पहिले सासु–ससुरा त्यसपछि सिडीओलाई झुक्याए !
सुवीका बाबु कमल बहादुर तामाङ सामान्य किसान थिए । ति सोझा किशानलाई आफुलाई सानैमा कसैले काठमाडौं ल्याएर सडकमा छाडेको भन्दै आफु एक्लो भएको कथा सुनाए । बनावटीनै भएपनी दुःखको कथा नेपाली समाजमा सजिलै बिक्छ, कमलबहादुरको मन पग्लियो । कोमल हृदयका धनी कमल बहादुरले जीवनलाई आफ्नी हुर्केकी छोरी मात्र दिएनन्, छोरीभन्दा एक बर्ष उमेर घटाएर नागरिकता बनाईदिए ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका तत्कालिन प्रमुख जिल्ला अधिकारीलाई सुवीको भाई मान्न जीवनले विवस पारे । नागरिकता बनेको केही महिनापछि विदेश जान्छु भन्दै पासपोर्ट बनाए । त्यतिन्जेलसम्म सामरी गाविसका सचिवदेखि सिडीओसम्मलाई जीवनले झुक्याईसकेका थिए । जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सबै डकुमेन्ट बनाएपछि सुवीलाई लिएर जीवन काठमाडौंमा बस्न थाले । सँगसँगै उनले ठगी धन्दा अगाडी बढाए ।
‘उस्को बास्तविक पनि नाम मनकुमार तामाङ रहेछ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्की भन्छन्, ‘अफगानिस्तान पठाइदिन्छु भनेर उसले आफ्नो सानीआमा र ठूलीआमाका छोराहरुलाई समेत ठगेको पाइयो ।’

कार्कीका अनुसार जीवनले अफगानिस्तान पठाइदिने भन्दै सानीआमा र ठूलीआमाको छोरासँग नौ–नौ लाख ठगेका थिए ।
जीवनले फेसवुक मार्फत नाता गाँसेर विवाह गर्ने भन्दै आफुलाई ठगेको भनेर काठमाडौं प्रहरीमा उजुरी दिनेको संख्या १८ पुगिसकेको छ । ‘पैसा फिर्ता दिए त्यसैलाई एक हजारको भोज खुवाउँथे’ महानगरीय प्रहरी परिसरमा भेटिएकी एक युवतीले रातोपाटीसँग भनिन्, ‘काकाको मुटुको उपचार गर्ने भन्दै मसँग सात लाख लिएको छ, कसरी उठाउने होला ?’
जीवन पक्राउ परेपछि सात जना युवतीहरुले उनीबिरुद्ध संयुक्त उजुरी दिएका थिए । अरुले छुट्टछुट्टै उजुरी दर्ता गरे ।

प्रहरीका अनुसार केटीहरुलाई बिहे गरेर अमेरिका लाने भन्दै ठग्ने जीवनले युवाहरुलाई राम्रो काममा विदेश पठाईदिने भन्दै ठग्ने गरेको पाईएको छ । ‘सात जना केटाहरुले जीवन विरुद्ध ठगीको उजुरी दिएका छन्’ परिसरका प्रवक्ता कार्कीले भने, ‘अधिकांशलाई अफगानिस्तान पठाईदिन्छु भन्दै लाखौं ठगेको देखिन्छ ।’
संखुवासभा रहेका जीवनका बास्तविक बावु प्रेम बहादुर तामाङ पनि सामान्य किसान हुन् । जीवन घर नफर्केको दश बर्ष भैसेकेको छ । मंगोलियन अनुहार छानेर ठगी गर्दै आएका जीवन र उनी कान्छी श्रीमती सुवी हाल महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

No comments:

Post a Comment