Tuesday, 19 April 2016

धुर्मसु–सुन्तलीले बनाउने भए अर्को सुन्दर नयाँ बस्ती, यस्तो छ तयारी

काठमाण्डु, ७ वैशाख–भूकम्पले ध्वस्त भएका वस्तीहरुमा एकीकृत वस्ती निर्माण गरेर उदाहणीय काम गरेका चर्चित हाँस्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले फेरि दोश्रो अभियानको सुरुवात गरेका छन् ।

गत साल वैशाख १२ को भूकम्पपछि उनीहरुले काभ्रेपलाञ्चोकमा एउटा सुन्दर एकीकृत नमुना वस्ती निर्माण गरेका थिए । जसको चर्चा अहिले पनि भैरहेको छ ।
त्यस्तै अहिले उनीहरुले सिन्धुपाल्चोकको मेलम्चीमा सोही खालको नमूना वस्ती निर्माण गर्ने तयारीका साथ सबैसँग सहयोगको लागि अपिल समेत गरेका छन् ।

प्रस्तुत छ, धुमुर्स र सुन्तलीले सुरु गरेको सो अभियानको अपिलपत्र ः
दोश्रो एकिकृत बस्ती बनाउन सहयोगी मनहरुलाई धुर्मुस सुन्तलीको अपिल
स्थान : मेलम्ची नगरपालिका ८, गिदानचौर, सिन्धुपाल्चोक
क्षेत्रफल : १ सय रोपनी
बन्ने घरको किसीम : ट्वाइलेट बाथरुमसहित चार कोठे भूकम्प प्रतिरोधी भवन
घरको रंग : रातो, सेतो र निलो (राष्ट्रिय रंग)
घर संख्या : ६५
पिडित संख्या : ५ सय १५

बस्तीको किसिम : एक घर, एक धारा, एक चर्पी, एक बगैँचा, बालमैत्री एवं सफा एकिकृत गाउँ साथमा एक सामुदायिक भवन ।
भूकम्पले हजारौँ नेपालीको ज्यान गयो । लाखौँको घरबास उठायो । बाँच्नेलाई पीडामाथि पीडाको थुप्रोले थिच्यो । विध्वंशले विश्वको ध्यान खिच्यो । ढलेका घर उठाउने, नयाँ बस्ती बसाउने, भूकम्प पीडितका आला घाउहरुमा मल्हम पट्टी लगाउने विषयमा थुप्रै बैठक र बहस चल्यो ।

तर, त्यी बहसमा उठाइएका विषयहरु ९ महिनामा नौलो र वर्षदिन नबित्दै बिर्सिए जस्तो महसुस धेरैले गरेका छन् । सुरक्षित आवास बन्ने आशामा रहेकाहरु निराश बन्दै गएका छन् । यद्यपि, उठिबास लागेकाहरुले अस्थायी छाप्रोको ठाउँमा सुरक्षित घर बन्ने आशा पुरै मारिसकेका भने छैनन् ।
पुन निर्माणमा थुप्रै देशहरुले हातमा हात मिलाएर साथ दिने तत्परता देखाए । ठूलो धनराशी सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तत्कालका लागि त्यी बचननै भूकम्प पिडितको मुहारमा खुसी ल्याउने प्याकेज बन्यो । दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो र सिङ्गो वर्ष बित्यो । भूकम्पका पराकम्पले पीडितहरु अझै झस्किरहेका छन् । तर, पुनःनिर्माणमा भइरहेको ढिलाई र भूकम्प प्रभावितले भोगिरहेका विविध समस्या सरकार र सरोकारवालाहरुको सरोकार जुन गतिमा हुनुपर्ने थियो सो अनुसार हुन सकेको छैन ।


फलस्वरुप विनासपछि झन् तिव्र गतिमा हुनुपर्ने विकास योजना कछुवा गतिमा अघि बढ्दा सिङ्गो देशनै पछि परिरहेको छ । देशलाई अघि बढाउने, माथि उठाउने जिम्मा धेरथोर हाम्रो काँधमा पनि छ । त्यो जिम्मेवारी बोध गर्दै, एकजुट हुँदै अघि बढ्यौँ भने पुन निर्माणमा केहि न केहि सहयोग अवश्य गर्न सक्ने छौँ ।तपाईँलाई पक्कै अवगत होला, भूकम्पपीडितलाई सहयोग र सेवा गर्न हामी अमेरिकाको विभिन्न राज्यहरुको कार्यक्रम छाडेर स्वदेश फर्किएका थियौँ ।

भूकम्प प्रभावित ११ जिल्लामा राहात सामग्री वितरण गर्न पुग्यौँ । ६० भन्दा बढी परिवारका लागि शौचालय बनायौँ । भूकम्प गएको केहि महिनाभित्रै १८ परिवारको लागि काभ्रेमा एकिकृत नमुना बस्ती बसायौँ । भूकम्प पिडितलाई उक्त सहयोग गर्नका लागि देश विदेशमा रहनुभएका सहयोगी मनहरुको विश्वास र राम्रो साथ मिलेको थियो ।

सामाजिक सञ्जाल सगुन डटकम, हाँस्य टेलिश्रृंखला भद्रगोल टोलीलगायत अन्य थुप्रै संघ–संस्था र देश विदेशमा रहनुभएका देशभक्त नागरिकबाट निकै ठूलो सहयोग प्राप्त भएको थियो । ६७ लाख ५० हजार रुपैँया लागतमा हामीले उक्त नमुना बस्ती निर्माण सम्पन्न गरेका छौँ । त्यसमध्ये ५८ लाख ५० हजार रुपैँया सहयोगी हातबाट प्राप्त भएको थियो भने बाँकी रकम हामीले हाम्रो व्यक्तिगत पैसा खर्च गरेका छौँ । फलस्वरुप भूकम्पले उठिबास लागेर अनेक समस्या भोगिरहेका १८ परिवार पहरीहरु अहिले आफ्नो घरमा आनन्दले बस्न पाएका छन् ।

भूकम्पले सर्वस्व सिध्याएका पीडितहरुलाई बाढी र पहिरोले पिरोल्यो । हावाहुरीले उत्तिकै दुःख दियो । शीतलहरले सतायो । डढेलो र आगलागीले अत्यायो । अब फेरि वर्षा लाग्दैछ । अस्थायी छाप्रोमा एक वर्षा त जसोतसो बिताएकाहरुलाई आउँदै गरेको वर्षायामले दिनुसम्म दुःख दिनेमा दुइमत छैन । त्यसैले पुनःनिर्माणमा सरकार जाग्न आवश्यक छ । सचेत नागरिकहरु पनि पुनःनिर्माणमा सहयोगी भएर लाग्न जरुरी छ ।

पहिलो एकिकृत नमुना बस्ती निर्माणसँगै हामीले धेरै कुरा सिकेका छौँ । हाम्रो अर्को बस्ती बनाउने सपना साकार पार्न सहयोगी हातहरु मिलेको खण्डमा त्यी सिकेका कुरालाई व्यवहारमा उतार्न पाउने छौँ । पहिलो नमुना बस्तीको निकै प्रशंसा भए पनि हतारमा बनाउनु परेकाले धेरै कुराहरु समेट्न सकेका छैनौँ ।
दोश्रो,बस्तीलाई हामी केहि समय खर्चिने छौँ तर साँच्चीकै नमुना बनाउने प्रयास गर्नेछौँ । त्यसका लागि हामीले ठाउँ पनि हेरिसकेका छौँ । एउटा घर बनाउन त गाह्रो हुन्छ झन बस्ती नै बसाउन तपाईँहरुको सहयोग बिना सम्भव छैन ।

त्यसैले सहयोगी हातहरुको साथ मिल्ने संकेत देखेमा मात्र यो वृहत् एकिकृत बस्ती निर्माणको घोषणा गर्नेछौँ । हामी देशका सचेत नागरीक हौँ, त्यसपछि कलाकार । कलाकार भएपनि हामीसँग पहिलो एकिकृत बस्ती बसाएको अनुभव छ । त्यो अनुभवले पुन निर्माणमा सहज रुपमा सहयोग गर्न सक्ने बनाएको छ ।
त्यसैले पीडामा पिल्सिएका केहि परिवारले भएपनि झरीमा शरीरलाई ओत लगाउने व्यवस्था गर्न पाए हाम्रो मनले अर्को आनन्द पाउने थियो । त्यो आनन्द प्राप्तिका लागि हामीलाई सहयोगी हातहरुको साथ आवश्यक छ ।

हामी जुट्दै अघि बढ्ने हो भूकम्पबाट सुरक्षित एकिकृत बस्तीहरु बसाउन अरुको मुख ताक्नु नपर्ला ।दोश्रो, एकिकृत बस्ती बसाउनका लागि हामीले भूकम्प प्रभावित सिन्धुपाल्चोक जिल्ला छनौट गरेका छौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८, गिदानचौरमा एकिकृत बस्ती बसाउने योजना बनाएका छौँ । जहाँ भूकम्प पिडित ६५ तामाङ परिवारका ५ सय १५ जना अहिले अस्थायी छाप्रोमा बसिरहेका छन् ।
पहिलो एकिकृत बस्ती भन्दा यो निकै ठूलो बस्ती बन्नेछ । यो बस्तीलाई हामी सफा र बालमैत्री नमुना गाउँ बनाउने योजनामा छौँ ।

जहाँ भूकम्पबाट सुरक्षित घर, हरेक घरमा एक चर्पी, एक धारो अनी एक बगैँचा हुनेछ । बस्तीलाई होम स्टेको रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउने अभिप्राय पनि हामीले बोकेका छौँ । त्यस्तै, बस्तीमा कम्युनीटि हल बनाइनेछ । जसको भित्तामा बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम राखिनेछ । बस्ती बसाउने काम सानो र सजीलो पक्कै होइन । चुनौतीका चौघेरा नाघेर यो लडेको यो बस्ती उठाउन सकेमा ६५ परिवार भूकम्प पिडितले राहातको सास फेर्न पाउने छन् । बस्ने बासको चिन्ताबाट मुक्ति पाउने छन् ।

देशले सफा, खुल्ला दिशामुक्त र बालमैत्री एउटा नमुना गाउँ पाउने छ । पुनःनिर्माण र एकिकृत बस्तीको अर्को नमुना बन्नेछ । यो काममा जो कोहि पनि हिस्सेदार र सहयोगी बन्न सक्नेछ । साना–साना सहयोगले नै ठूला काम गर्ने आँट र साहास पलाउनेछ । पहिलो बस्ती निर्माणका क्रममा तपाइँहरुले गरेको सहयोग र विश्वासकै कारण अर्को बस्ती बसाउन सकिन्छ कि ? भन्ने आँट पलाएको हो ।

आशा छ, आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्ने महानुभावहरु हामीले थुप्रै पाउने छौँ । र यो छिट्टै अर्को चिटिक्क परेको बस्ती निर्माण गरेर गिदान चौरका भूकम्प पिडितलाई बुझाउन सक्ने छौँ ।

तपाईँहरुको सल्लाह सुझाव र प्रतिक्रिया पश्चात मात्र हामी यो कामलाई अगाडि बढाउने वा नबढाउने निश्कर्षमा पुग्नेछौँ । सबैको साथ, सहयोग र भरथेग गर्ने हात मिलेमा मात्र दोश्रो एकिकृत नमुना बस्ती बनाउने अभियानलाई अघि बढाउने छौँ । अर्को अपिलमार्फत बस्तीको बारेमा थप जानकारी दिनेछौँ । सल्लाह, सुझाव, प्रतिक्रिया वा सहयोगका लागि धुर्मुस सुन्तली फेसबुक पेज–
www.facebook.com/dhurmusuntalidf म्यासेज वा
dhurmussuntali47@gmail.com मा इमेल वा ९८०३४७२४७६ मा सम्र्पक गर्न सक्नु हुनेछ ।

No comments:

Post a Comment