अभिनेत्री रेखा थापालाई अघिल्लो बर्ष झैँ यस बर्ष पनि फाप्यो । प्रर्दशनरत चलचित्र रामप्यारीले हाउसफुल ब्यापार गरिरहेको छ । केही नयाँ अनुहारका लागि पनि यस बर्ष फलिफाप रह्यो । प्रदीप खड्का यसका उदाहरण हुन् । यसबर्षका भाग्यमानी अभिनेता, अभिनेत्रीबारे तल पढ्नुहोस् :
१ रेखा थापा
रेखा त्यस्ती नायिका हुन् जो १३ बर्षदेखि नेपाली सिने जगतमा एकछत्र राज गर्न सफल छिन् । हिरो चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी रेखाका अधिकांश चलचित्र हिट छन् । पछिल्लो समय उनी आफ्नै ब्यानर रेखा थापा ब्यानरमार्फत चलचित्र निर्माण गरिरहेकी छिन् । रेखाको निर्माण रहेको रामप्यारी अहिले प्रदर्शनमा छ । रिलिजको पहिलो दिनदेखि नै धमाकेदार ब्यापार सुरु गरेको रामप्यारीले त्यो ब्यापार कायमै राखेको छ । हल रिपोर्टहरुका अनुशार रामप्यारीको अकुपेन्सी अर्को सफल चलचित्र ड्रिम्सको भन्दा पनि माथि रहेको छ । यस अर्थमा, रेखालाई २०७२ साल पनि अघिल्ला सालहरुमा जस्तै फापेको छ । यसअघि उनी एक्लैले निर्माण गरेको काली र हिम्मतवाली सफल रहेका थिए ।
२ अनमोल केसी
अनमोल केसीले पुराना स्थापित कलाकारलाई पछि पार्दै यसपाली सर्वाधिक लोकप्रिय अभिनेता बन्न सफल रहे । साम्राज्ञी राज्यलक्ष्मी शाहसँगको जोडीमा अनमोलको ड्रिम्स यसबर्षको सबैभन्दा सफल सिनेमा बन्यो । चर्चा र ब्यापारिक हिसाब दुबैले उनको ड्रिम्सले यो बर्ष बाजी मार्यो । यसअघि जेरी र होस्टेलमा जादु गरेका अनमोलको क्रेज ड्रिम्ससम्म आईपुग्दा झन् बढेको देखियो । हलमा उनका सिनेमा हेर्न उर्लिएको जनसागर हेर्दा उनको स्टारडम सजिलै झल्किन्थ्यो । उनको गाजलु जेठ २९ मा रिलिज हुँदैछ । गाजलुमा उनी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग देखिनेछन् ।
३ प्रदीप खड्का
प्रदीप नेपाली सिनेमाका लागि नयाँ अनुहार थियो । तर, प्रेमगीतमा उनले देखाएको अभिनयकलाले सबैलाई छक्कै पारिदियो । प्रदीपले ७२ सालभरमा जम्मा एउटा सिनेमा गरे । तर, त्यही सिनेमाले उनलाई स्टार बनाईदियो । प्रेमगीत हिट भएपछि अहिले उनको माग ह्वात्तै बढेको छ । प्रदीपले भने अहिलेसम्म अर्को सिनेमाका लागि हस्ताक्षर गरेका छैनन् ।
४ दयाहाङ राई
दयाहाङ राईलाई पनि यस बर्ष अघिल्ला बर्षहरुमा झैँ फाप्यो । उनका चलचित्र फ्लप भएपनि उनी अभिनित चरित्र हिट भईरहन्छन् । उनको यही खुबीका कारण हुनुपर्छ उनलाई चलचित्रको कमी हुँदैन । २०७२ मा दयाहाङलाई कबड्डी कबड्डीबाट राम्रो सफलता मिल्यो । फिल्म कबड्डी जस्तै हिट भयो भने उनको अभिनयको पनि तारिफ नै भयो । अहिले दया रामबाबु गुरुङको पुरानो डुंगाका लागि काम गरिरहेका छन् । उनी अभिनित राहदानीले पनि सन्तोषजनक नै ब्यापार गर्यो ।
५ प्रियंका कार्की
प्रियंका कार्की अहिले छक्का पंजा र पुरानो डुंगामा ब्यस्त छिन् । उनी अभिनित चलचत्रि नाई नभन्नु ल ४ ले राम्रो ब्यापार गरिरहेको छ । रेखाको रामप्यारीसँगै रिलिज भएको यो चलचित्रले पनि सबै हलहरुमा राम्रो ब्यापार गरिरहेको छ । उनको हाउ फन्नी छिट्टै रिलिज हुँदैछ । प्रियंकालाई बर्षैभर सिनेमाको खाँचो परेन । उनी अभिनित चलचित्रहरुले पनि राम्रो ब्यापार गर्यो ।
६ पूजा शर्मा
मोडलिङमा रुचाईएकी पूजालाई २०७२ साल फलिफाप भयो । चंखे संखे पंखेमा भने जस्तो सफलता नपाएकी पूजाले प्रेमगीतबाट भने नसोचेको सफलता पाईन् । सुर्दसन थापा निर्देसित फिल्म हिट भयो । यसले पूजा र प्रदीपको भाग्य नै बदलिदियो ।
७ निखिल उप्रेती
नायक निखिल उप्रेतीको कमब्याक सफल रह्यो । उनको भैरव यस बर्ष हिट भयो । उनले फेरी नेपाली सिनेमा उद्योगमै जम्न सक्ने संकेत दिएका छन् । उनी भैरवको सफलतासँगै चलचित्रहरुमा अनुबन्ध भईसकेका छन् । कतिपयको सुटिङ पनि सकिसकेका छन् ।
८ साम्राज्ञी राज्यलक्ष्मी शाह
ड्रिम्सले साम्राज्ञीको उचाई ह्वात्तै बढाईदियो । डेब्यु फिल्मबाटै यति धेरै चर्चा र सफलता सायद उनका लागि अप्रत्यासित नै थियो । ड्रिम्सलाई लिएर चौतर्फी चचाई भईरहँदा यी अभिनेत्रीले अहिलेसम्म अर्को फिल्ममा अनुबन्ध भने भएकी छैनन् । जे होस साम्राज्ञीलाई चर्चा र सफलताका लागि ड्रिम्स नै काफी रह्यो ।
No comments:
Post a Comment