Saturday, 9 April 2016

जोन सिनाहरूको खेल हेरेरै रेस्लर बनेको हुँः नुवाकोटे टाइगर

राष्ट्रिय खेलकुद परिषदमा एक महिनाअघि दर्ता भएको नेपाल रिङ रेस्लिङ एशोसियशनको आयोजनामा आगामी वैशाख ४ गते काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदैछ । नेपाली खेलाडीहरु त्यसका लागि अहिले तयारीमा व्यस्त छन् ।
११ मुलुकका खेलाडीहरु सहभागी हुने प्रतियोगिताको आयोजना र तयारीको सन्दर्भमा संघका पदाधिकारीसमेत रहेका रेस्लर कमल तामाङ उर्फ नुवाकोटे टाईगरलाई ५प्रश्नः
१. पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै हुनुहुन्छ, प्रतियोगितामा कुन-कुन मुलुकका कतिजना रेस्लरहरु सहभागी हुने्छन् ?
हामीले संघ स्थापना भएपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेका हौं । प्रतियोगितामा अमेरिका, बेलायत, जापान, सिंगापुर, मेक्सिको लगायत ११ मुलुकहरुबाट रेस्लरहरुको सहभागिता रहनेछ । उनीहरु सबै व्यवसायिक खेलाडीहरु हुन् । ११ मुलुकबाट १६ जना रेस्लरहरु हुनेछन् भने नेपालका हामी ६ जनाले प्रतिस्पर्धा गर्नेछौं ।
२. नेपालको तर्फबाट प्रतियोगिताको लागि तयारी कस्तो छ ? प्रतियोगिता खेल्ने नेपाली रेस्लरहरु को-को हुन् ?
संघ दर्ता हुनुभन्दा अघिदेखि नै अन्तर्राष्ट्रिय प्रतियोगिताको सोच बनाएका थियौं । त्यसैले हामी दुई महिनादेखि बिशेष प्रशिक्षणमा छौं । त्यसअघि पनि नियमित प्रशिक्षण गरिरहेका थियौं । तयारी राम्रो भइरहेको छ । नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा मैले गरेको छु ।
प्रतियोगितामा मसँगै बाबु बुई ६१९, मिस्टर यु, युव, किङ कोब्रा र मिस्टर कोजु गरी ६ खेलाडीहरु रिङमा उत्रदैछौं ।
३. खेलाडीसँगै तपाई संघको कोषाध्यक्ष पनि हुनुहुन्छ, प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटी लगायतबाट कस्तो सहयोग पाउनुभएको छ ?
प्रतियोगिताका लागि परिषद लगायत आधिकारीक निकायबाट हामीले आर्थिक सहयोग पाएका छैनौं । रंगशाला हामीलाई उपलब्ध भएको छ । सहयोग यही नै हो । नयाँ संघ भएकाले पनि होला, अर्को अर्को प्रतियोगिताहरुदेखि सहयोग मिल्ने अपेक्षा गरेका छौं ।
प्रतियोगिताको लागि हामीले निजी क्षेत्रबाट सहयोग लिएका छौं । प्रायोजकहरु खोजेका छौं ।
४. रेस्लिङ खेलप्रति नेपालीहरुको धारणा अझै सकारात्मक देखिदैन । नेपाली रेस्लरहरुको खेल टिभीमा हेरेको जस्तो रोमाञ्चक भएन भन्ने आरोप आउने गर्छ । यो प्रतियोगिताले नेपाली रेस्लिङ समर्थकको भ्रम चिर्न सक्ला ?
हामीले सानैदेखि अन्तर्राष्ट्रिय व्यवसायिक खेलाडीहरुले खेलेको टिभीमा हेरेका हौं । मैलेपनि अण्डर डेकर, जोन सिना लगायतको खेल हेरेर उनीहरुकै प्रेरणाले रेस्लर बनेको हो । तर, उनीहरुको र हाम्रो खेल्ने शैली उस्तै हो ।
जहाँसम्म रोमाञ्चक हुँदैन भन्ने आरोप छ, म उहाँहरुलाई के भन्छु भने तपाईहरुले यसअघि हेर्नुभएको रेस्लिङभन्दा नेपाली रेस्लर र विदेशी रेस्लरबीचको खेल आएर हेर्नुस् अनि मसँग कुरा गर्नुस् । तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु कि टिभीमा हेरेको जस्तै तपाईहरुले वैशाख ४ गते हाम्रै दशरथ रंगशालामा देख्न पाउनुहुनेछ ।
५. नेपाल रिङ रेस्लिङ एशोसियशन दर्ता गरेर आधिकारीक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने अवधारणा कसरी आयो ? तपाईँहरु कसरी संगठित हुनुभो ?
यो भन्दा अघिपनि अग्रजहरुले संघ बनाउनुभएको थियो । तर, त्यो खेलकुद परिषदमा दर्ता थिएन । यद्यपि प्रतियोगिता हुन्थ्यो । तर, प्रदर्शनी खेलको रुपमा सिमित भएको थियो ।
हामी पाँच जनाको सक्रियतामा संघ दर्ता भएको हो । अध्यक्ष सुनिता थापा, उपाध्यक्ष सुरेशमान मल्ल, सचिव शुवर्ण श्रेष्ठ, कोषाध्यक्ष म आफैं र सदस्य महेश कोजुको सक्रियतामा रेस्लिङलाई व्यवसायिक बनाउनुपर्छ भन्ने अवधारणा ल्याएर पहिले खेलकुद परिषदमा गत फागुन १३ गते संघ दर्ता गरेका हौं । त्यसपछि पहिलो प्रतियोगिता गर्न लागेका छौं । यसलाई अझै व्यवस्थित बनाएर धेरै भन्दा धेरै प्रतियोगिता आयोजना गर्ने सोचमा हामी छौं ।
हामीले खेलाडी उत्पादनमा पनि जोड दिनुपर्छ । खेलाडीका अलावा मैले प्रशिक्षकको पनि भुमिका निभाइरहेको छु ।

No comments:

Post a Comment