काठमाडौं, ३० चैत । सरकारी कर्मचारी कतिसम्म क्रुर र अपराधी हुन्छन् भन्ने उदाहरण हेर्न धेरै टाढा जानु पर्दैन् । राजधानीमा हुनुहुन्छ भने ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा पुगे हुन्छ । बाहिर हुनुहन्छ भने अञ्चल कार्यालयहरूमा हेर्दा त्यहाँको वास्तविकता छर्लङ्ग हुन्छ ।
यातायात व्यवस्था कार्यालय बागमती अन्यको तुलनामा धेरै भीड हुनेमा पर्छ । यो कार्यालय अत्याधिक बदनाम कार्यालय पनि हो । त्यहाँ सेवा लिन आउने सेवाग्राहीले यो कार्यालयका कर्मचारीहरूलाई नसरापेको र गाली नगरेको सायदै छैनन् होला ।
कार्यालय परिसरमा प्रिन्ट गरेर टाँसिएका थुप्रै सूचना पढ्न पाइन्छ । त्यसमध्ये ‘बिचौलिया’ र ‘पकेटमार’ शब्द अलिधेरै छन् । सावधान हुनुहोला भन्ने पनि लेखिएका छन् ।
बिडम्बना त्यहाँ जे लेखिए पनि बिचौलिया र दलालहरू कार्यालयभित्रैका कर्मचारी छन् । गेटमा बस्ने पालेदेखि यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश अधिकारीसम्म दलाल र बिचौलियाको फन्दामा छन् । यो जान्दाजान्दै पनि अधिकारी चुपचाप छन् । आफ्नो कमिशनको चक्करमा छन् ।
धेरै भीड हुने भएपछि कार्यालयले धेरै काउन्टर स्थापना गरेर सेवा दिनु पर्ने हो । तर काउन्टरहरू धेरै राखिएका छैनन् । किन भने थोरै काउन्टर भयो भने सेवाग्राहीले झन्झट मान्टन् र दलालमार्फत पैसा तिरेर भित्रबाट काम गराउँछ । त्यसबापत रकम आउँछ । धेरै काउन्टर राखियो भने छिटो काम बन्छ । काम छिटो बन्यो भने कर्मचारीले पैसा कसरी कमाउने ? कमाउनकै लागि थोरै काउन्टरहरू राखेर सेवाग्राहीलाई दुःख दिइन्छ ।
यतिसम्मकि दश रुपियाँको हुलाक टिकट १५ रुपियाँमा यातायात कार्यालयको परिषदरभित्रैबाट धमाधम बिक्री भइरहेको छ । नयाँ लाइसेन्स लिने, गाडीको कागजात, नवीकरण आदि काम लिएर जाने सेवाग्राहीलाई कार्यालयको अव्यवस्था र घुसखोरीका कारण तीन दिन विताउनु पर्ने बाध्यता छ ।
सेवाग्राही लाइनमा बसेको हुन्छ तर, कर्मचारी, दलाल र बिचौलियाले पाँच रुपियाँदेखि पाँच हजारसम्म लिएर सबै काम दिनभरिमा फत्ते गरिदिन्छ । यातायात व्यवस्था कार्यालयको यो बेहालका विषयमा जिज्ञासा राख्दा कार्यालय प्रमुख उमेश अधिकारीले स्पष्ट जवाफ दिएनन् । ‘यो धेरै भीड हुने कार्यालय हो । तपाई एक दिन आएर हुन्छ र ? हामीले काम गरिरहेका छौँ । सरकार नै यस्तै छ ।’ आफ्नो नेमप्लेटमा उपसचिव र कार्यालय प्रमुख भनेर लेखेका अधिकारीले सबै दोषभरि सरकारको थाप्लोमा हालिदिए ।
कार्यालय प्रमुख अधिकारीसँग कुराकानी गर्दा दैनिक नेपाल डटकमका सम्वाददाताले आफ्नो परिचय नदिइ साधारण सेवाग्राहीका रुपमा जिज्ञासा राखेका थिए ।
लाईन व्यवस्थित र सुरक्षाको जिम्मेवारी लिएको यातायात व्यवस्था कार्यालयका सुरक्षागार्डले पनि सेवाग्राहीसँग राम्रो व्यवहार गर्दैनन् । कर्मचारी त झन् ‘तपाईले हामीलाई कानुन सिकाउने होइन’, ‘सबै सिस्टमले चल्टछ’ भन्दै झर्कन्छन् । सुरक्षाकर्मी कुर्सीमा आङतानेर कसैलाई टेरपुच्छर नलगाइ लम्पसार परे बस्छन् । (हेर्नुस् तस्बिरमा)
लाईसेन्स नवीकरण शाखाको त झनै अव्यवस्था छ । दलालका मान्छेलाई अर्को ढोकाबाट छिराउने र काम गर्ने गरिएको सेवाग्राहीहरूले नै आरोप लगाए । फोटो खिच्ने स्थानमा छ वटा कम्युटर राखिएका छन् तर, चार वटामा मात्रै चालु छ । सबैभन्दा भीड हुने फोटो खिच्ने र राजश्व संकलन शाखामा थोरै कर्मचारी किन राखियो भन्ने स्पष्ट जवाफ कार्यालय प्रमुख अधिकारीसँग छैन ।
लाइनमा बसेका बालाजुका राममान श्रेष्ठले भने, ‘म लाइनमा बसेको आज तीन दिन भो काम भएको छैन । घुस खुवाउने पनि पैसा छैन । पाँच हजार दिए एकैछिनमा सबै काम सकिदिन्छ भनेर पैसा मागेको मागै छ ।’
कोटेश्वर निवासी रमिला कार्की पनि लाईसेन्स नवीकरण गर्न आएकी रहिछिन् । दुई सयभन्दा बढीको लाइनको पुछारमा बसेकी उनले सुस्केरा हाल्दै भनिन्, ‘खै कहिले आउने हो पालो ?’ रमिला पनि दुईदिनदेखि लाईनमा रहिछन् । महिला र पुरुषको लागि लाईनको व्यवस्था नहुँदा महिलालाई सेवा लिन धेरै गाह्रो भएको उनले सुनाइन् ।
अनामनगर बस्ने विकास गुरुङले भने, ‘अख्तियारका लोकमानसिंह कार्कीले यो कार्यालयमा कहिले काहीँ छापामारेको समाचारमा पढेको थिएँ । खै यहाँ त झन् बेहाल पो रहेछ । लोकमानले पनि पैसा खाएका होलान् । त्यही भएर त सुधार भएको रहेनछ ।’
यतिसम्मकि बागमती यातायात कार्यालयले सेवाग्राहीसँग ठूलो रकम लिन्छ तर, पिउने पानीको व्यवस्था पनि गरेको छैन । पिउने पानी कता छ भनेर सोधेको प्रश्नमा कार्यालयका प्रमुख अधिकारले भने, ‘यस्तो भीडभाडमा तपाईलाई कहाँ पानी पुगाउन सकिन्छ ? पानीसानी छैन ।’
कार्यालयका कर्मचारीले अधिकांशले ड्रेस लगाएको देखिएन । कार्यालयको कर्मचारी हो कि होइन भनेर पनि चिन्नै गाह्रो । यति धेरै भीड हुने कार्यालयका कर्मचारीले ड्रेस र आफ्नो परिचय पत्र त लगाउनु पर्ने हो तर लगाएको पाइएन ।
सेवाग्राहीलाई आवश्यक पर्ने फारम पाइने स्थान पनि साँघुरो स्थानमा लगेर राखिएको छ । सेवालिन जानेहरूसँग सडक पेटिमा बसेका गुन्डाहरूले पार्किङको पैसा उठाइरहेका हुन्छन् । तर नजिकै बसेको प्रहरीले त्यसमा कुनै प्रतिक्रिया जनाउँनन् ।
सार्वजनिक स्थान अझ सडकपेटीमा राखिएका सवारीबाट कसले किन पार्किङको पैसा उठाउन त्यस्ता टोले गुन्डालाई अनुमति दियो ? यो विषयमा पनि यातायात कार्यालय अनभिज्ञ छ ।
हुन त राज्यका हरेक सरकारी कार्यालयको अव्यवस्था यस्तै हो । तर सेवाग्राहीको भीड लाग्ने कार्यालयमा किन सहि रुपमा काम हुँदैन भन्ने प्रश्न जोडदार रुपमा उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र जस्तो निकायले पनि सधै छापामारेर समस्याको समाधान हुँदैन । यसका लागि जिम्मेवारी पाएको कर्मचारीको आचरणमा सुधार अनिर्वाय छ ।
जसललाई आफ्नो पदको दायित्व बोध हुँदैन, भ्रष्टार, जनतालाई दुःख दिएर आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने सोँचिरहन्छ उसले राष्ट्र र जनताका लागि केही गर्न सक्दैन । उ जनता र राष्ट्रको भार हो ।दैनिक नेपाल बात
No comments:
Post a Comment