Tuesday, 12 April 2016

वैशाखदेखि मोबाइल सेट नम्बर दर्ता

'नयाँ वर्षदेखि हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्नुपर्ने छ,' प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले नागरिकसँग भने 'वैशाख १ गतेदेखि आयातकर्ताले ल्याउँदा नै त्यो नम्बर अनिवार्य रुपमा प्राधिकरणमा दर्ता गर्नुपर्ने छ।'

प्राधिकरणले नेपालमा बढ्दै गएको मोबाइल सेट प्रयोगलाई व्यवस्थित गर्न तिनको नम्बर दर्ता गर्न लागेको अर्यालले बताए। देशको जनसंख्यालाई पुग्ने गरी मोबाइल सेट भित्रिसकेको अनुमान छ। ती सेटलाई व्यवस्थित गर्नु अहिलेको आवश्यकता भएको अर्यालले बताए।

हराएका, चोरी भएका, राजस्व छलिएका र नक्कली सेट प्रयोग, मोबाइलबाट हुने आपराधिक गतिविधि रोक्न आइएमइआई नम्बर दर्ता गर्नुपरेको हो। 'आइएमइआई दर्ता गर्दा भन्सार चुहावट रोक्न सकिन्छ,' अर्यालले भने, 'जसले गर्दा राजस्व बढ्न सक्छ।' अहिले बजारमा राजस्व छलिएका र नक्कली मोबाइल पनि बिक्री–वितरण भइरहेको बताइन्छ। यसको मद्दतले मोबाइल चोरी भए वा हराएमा खोजी गर्न सकिने छ। चोरी वा हराएको मोबाइल सेटको आइएमइआई नम्बर ट्र्याक गरेर (पत्ता लगाएर) कहाँ चलाइरहेको छ, थाहा हुन्छ।

आइएमइआई नम्बर दर्तापछि मोबाइल सेट प्रयोग गरेर हुने अपराध कम हुने विश्वास गरिएको छ। विभिन्न अपराधमा फेक, डुब्लिकेट आइएमइआई नम्बर प्रयोग भएका मोबाइल प्रयोग भएको पाइएकाले यस्ता क्रियाकलाप कम हुने अर्यालले बताए।

अहिले बजारमा नक्कली आइएमइआई नम्बर प्रयोग भएका सेटसमेत बिक्री भइरहेको पाइएको छ। त्यो कति संख्यामा छ, अनुमान गर्न सकिएको छैन। आइएमइआई नम्बर मोबाइल कम्पनीले हाल्नुपर्छ। कम्पनीले शुल्क तिरेर आइएमइआई नम्बर किन्नुपर्ने भएकाले नक्कली नम्बर हालेर पनि बजारमा पठाउने जानकार बताउँछन्। भारत, नेपाल जस्ता गरिब र कमजोर मुलुकमा यस्ता नक्कली मोबाइल धेरै भेटिन्छन्।

सन् २०१० मा भारतले आइएमइआई नम्बर दर्ता र नक्कली सेट प्रयोगको खोजी थालेको थियो। त्यो बेला झन्डै ३० प्रतिशत मोबाइल सेट नक्कली भेटिएका थिए।

वैशाख १ गतेदेखि आयात हुने मोबाइल सेटको हकमा आयातकर्ताले नै आइएमइआई नम्बर दर्ता गराउने छन्। आइसकेका सेटलाई भने प्राधिकरणले दर्ता प्रक्रियामा ल्याउने तयारी गरिरहेको छ। पुराना सेट सक्कली, नक्कली के हो प्राधिकरणले छुट्ट्याउने छ। 'चलिरहेका मोबाइल सेटलाई ६ महिनासम्म अपरेटर सिस्टमले डिटेक्ट गर्छ,' अर्यालले भने, 'सक्कली, नक्कली वा डुब्लिकेट के हो भनेर पत्ता लगाउने छ।'
सक्कली मोबाइल सेट हो भने त्यो अपरेटरबाट आफैं आइएमइआई नम्बर सेट हुनेछ। नक्कली वा डुब्लिकेट नम्बर हो भने प्राधिकरणले प्रयोगकर्तालाई त्यसको जानकारी गराउने छ।

अर्को चरणमा प्राधिकरणले नक्कली भेटिएका मोबाइल सेटमा आइएमइआई नम्बर दर्ता गराउने कार्यक्रम ल्याउने आर्यालले जानकारी गराए। मोबाइल सेट नै फाल्ने कुरा नभएकाले केही शुल्क तिरेर आइएमइआई नम्बर दर्ता गराउने प्रक्रियामा जाने अर्यालले बताए। आफूले प्रयोग गरेकोसेट नक्कली हो कि होइन, प्रयोगकर्ताले प्राधिकरणले यो कार्यक्रम सुरु भएपछि थाहा पाउनेछन्। नेपालमा त्यस्ता सेट पाइएमा त्यसको मूल्य धेरै पर्ने भएकाले थोरै मूल्यमा सक्कली आइएमइआई नम्बर प्रयोग गर्न लगाइने छ।

प्राधिकरणले यो वर्ष प्रारम्भिक रुपमा आइएमइआई नम्बर दर्ता कार्यक्रम ल्याएको छ। अर्को वर्षदेखि तेस्रो पक्षलाई जिम्मा दिएर पूर्ण कार्यक्रम सञ्चालन गर्ने अर्यालले बताए। आइएमइआई नम्बर दर्ताको लागि सफ्टवेयर चाहिने र अपडेट भइरहनुपर्ने भएकाले अर्को कम्पनीबाट यो कार्यक्रम सञ्चालन गर्ने प्राधिकरणको योजना छ। त्यसपछि निरन्तर रुपमा विदेशबाट आउने मोबाइल सेटको आइएमइआई नम्बर दर्ता हुनेछ।

विदेशबाट व्यक्तिगत रुपमा आउने मोबाइललाई पनि प्राधिकरणले दर्ता गर्ने प्रक्रिया मिलाउने छ। त्यसरी व्यक्तिगत रुपमा आएका सेटलाई आफैं प्राधिकरणमा दर्ता गराउनु पर्नेछ।
nagarik न्युज बात

No comments:

Post a Comment