मबार, ६ वैशाख
काठमाडाैं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार नामिबियासँग दोस्रो खेलमा उत्रँदा नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिनुहुनेछ । नेपालले शनिबार नामिबियालाई ५ विकेटले पराजित गरेको थियो । च्याम्पियनसिपमा नेपालको यो पहिलो जित थियो ।
पुछारमा रहेको नेपाल जितपछि नामिबिया र यूएईलाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई दोस्रो खेलमा पनि पराजित गर्न सके पपुवा न्युगिनीलाई उछिन्दै नेपाल थप एक स्थान माथि उक्लनेछ । यही पपुवा न्युगिनीसँग नेपालले नोभेम्बरमा यूएईमा दुवै खेल हारेको थियो ।
त्यसयता नेपाली टिम एकै पटक नामिबियासँगको खेलमा उत्रिएको हो । त्यसको प्रभाव नेपालको ब्याटिङमा पनि देखिएको थियो । १ सय ९६ रनका लक्ष्य पूरा गर्न नेपाललाई हम्मे परेको थियो ।
पाँच विकेट झरिसकेको अवस्थामा शरद भेषावकर र विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ८४ रनको साझेदारी गरी नेपाललाई जित दिलाएका थिए ।
सागर पुन घाइते रहेको अवस्थामा नेपाली ब्याटिङ मात्र नभएर पहिलो खेल खेलेको टिम नै यथावत् रहने सम्भावना प्रबल देखिन्छ । सागरको अनुपस्थितिमा शरदले तेस्रो नम्बरमा ब्याटिङ गर्दै विजयी इनिङ्स खेलेका थिए । शरदको संयमित इनिङ्समा विनोदले राम्रो साथ दिंदै नटआउट ४० रन बनाएका थिए ।
‘शनिबार जुन विकेट थियो, त्यसमा ब्याटिङ गर्न सजिलो थिएन । तर हामी के निश्चित हुनुपर्छ भने नामिबियासँग अर्को खेल जित्ने हो भने हामीले अझ सुधारिएको प्रदर्शन गर्नुपर्छ,’ नेपालका कप्तान पारस खडकाले भने, ‘सबैको प्रयासले पहिलो खेल जित्यौं, दोस्रो खेलमा पनि यस्तै प्रदर्शन दोहोर्याउनुपर्छ । हामी हाम्रो खेल योजनामा अडिग हुनुपर्छ ।’
शनिबार नेपाल स्पिनरबाट नामिबियामाथि हावी भएको थियो । नेपालले ३८ ओभर स्पिनरबाट गराएको थियो । सोमपाल कामीसँग नयाँ बल लिएर आएका पारस दोस्रो स्पेलमा आफैंले अफस्पिन बलिङ गर्दै विकेट लिएका थिए ।
त्यसमा देब्रे हाते स्पिनर वसन्त रेग्मीले ३ र ‘डेब्यु’ गरिरहेका लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिएका थिए । ‘विकेट फेरि स्पिनमैत्री हुनेछ र हाम्रो हतियार पनि त्यही नै हुनेछ,’ पारसले भने, ‘ब्याटिङमा चाहिँ हामीले विकेटको स्थिति हेरेर खेल्नुपर्छ ।’
नामिबिया आफ्ना प्रमुख स्पिनर बर्नान्ड सोल्जबिनै नेपाल आएको छ र कप्तान स्टेफन बार्डले आफ्नो टिममा ५ विकेट लिने जस्ता खेलाडी नभएका कारण हार्नुपरेको बताइसकेका छन् ।
उनले भने, ‘हाम्रो ध्यान हाम्रो इनिङ्सको मध्यक्रममा नेपाली स्पिनरहरूलाई झेल्नुहुनेछ । हामीले राम्रो सुरुआत गरेर पनि त्यसलाई निरन्तरता दिन सकेनौं,’ बार्डले भने, ‘स्ट्राइक रोटेट गर्नु, १ तथा २ रन लिनु दोस्रो खेलमा महत्त्वपूर्ण हुनेछ ।’
नामिबियापछि नेपाल च्याम्पियनसिपमा खेल्न अगस्टमा नेदरल्यान्ड्स र नोभेम्बरमा हङकङ जानेछ । अर्को वर्ष नेपालले केन्यासँग घरेलु मैदानमा र त्यसपछि यूएईसँग तटस्थ भूमिमा खेल्नेछ ।
‘प्रतियोगितामा धेरै राम्रा टिम छन् र हामीसँग सम्भवत: अझ तीन अवे खेल बाँकी छन्,’ पारसले भने, ‘यस्तो स्तरमा कुनै पनि टिमसँग खेल्न सजिलो हुँदैन । प्रश्न यो हो कि यहाँबाट हामी कसरी अगाडि बढ्छौं ।’
nepalsandesh
No comments:
Post a Comment