Saturday, 23 April 2016

धरानमा बलात्कारका उजुरीहरु बढ्दाे

धरान / पछिल्लो समय प्रहरीमा बलात्कारका उजुरीहरु बढ्न थालेका छन् । बलात्कृत भएसंगै समाजमा इज्जत जाने डरले उजुरी दिन हिच्किचाउने सर्वसाधारणहरु अहिले सामाजिक चेतना बढ्दै गए पछि अपराधीलाई कारबाहीको दायरमा ल्याउन पिडितहरु सहज बन्दै गएका छन् ।

घर भित्रै लुक्ने गरेका बलात्कारका घटनाहरु प्रहरी सम्म पुग्ने गरेका छन् । पिडकलाई कानुनी कारबाही गर्न पिडितहरुनै प्रशासन सम्म पुगेर उजुरी दिदाँ बलात्कारका घटनाहरु सार्वजनिक हुँदै गएको छ ।

नयाँ वर्ष २०७३ लागे संगै ईलाका प्रहरी कार्यालय धरानमा हप्ता दिनमा ३ वटा जबरजस्ती करणी र एउटा जबरजस्ती करणी उद्योगको उजुरी परेको छ । जस मध्ये धरानमा पहिलो पटक वैवाहिक करणीको मुद्धा एउटा परेको छ ।
चालु आर्थिक वर्षको वैशाख ७ गते सम्म ईलाका प्रहरी कार्यालय धरानमा ९ वटा जबरजस्ती करणी र ३ वटा उद्योगको मुद्धा दर्ता भएका थिए ।

मंगलबार एउटा जबरजस्ती करणीको मुद्धा थप भई १० वटा पुगेको छ । अघिल्ला आर्थिक वर्ष ७१÷७२ मा ७ वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका थिए । सामाजिक चेतना संगै प्रहरी प्रतिको विश्वास बढ्दै गएकाले जघन्य अपराधका उजुरीहरु बढ्न थालेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढोकेन्द्र खतिवडाको भनाई छ ।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ६९÷७० मा ७ वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका थिए । त्यसै गरि ७०÷७१ मा जबरजस्ती करणी ९ र उद्योग तर्फ ११ वटा मुद्धा दर्ता भएको थियो । आर्थिक वर्ष ७१÷७२ मा संख्या घटेर ७ वटा जबरजस्ती र १ वटा उद्योगको मुद्धा दर्ता भएको थियो । ऐन अनुसार दश वर्ष भन्दा मुनिको बालिकालाई जबरजस्ती करणी गरेको भए दशदेखि पन्ध्र वर्षसम्म कैद हुन्छ । त्यसै गरि दश वर्ष भन्दा माथि १६ वर्ष मुनिकालाई भए सातदेखि दश वर्षसम्म कैद र १६ वर्ष वा सो भन्दा माथिको महिलालाई भए पाँचदेखि सात वर्षसम्म कैद हुने प्रावधान छ ।

विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा पिडितहरु प्रहरी प्रशासन सम्म पुग्ने गरेका छन् । पिडित परिवारले न्याय पाउँछौं भन्ने विश्वास बढ्दै गएको छ । त्यही भएर समाजमा लुकाएर राखिने जबरजस्ती करणीका घटनाहरु सार्वजनिक हुन थालेको महिला अधिकारकर्मी तथा महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्य बताउनुहुन्छ ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षको वैशाख ७ गते सम्मका जबरजस्ती करणी र उद्योग मुद्धा अन्र्तगत पक्राउ परेका ७ जनालाई कारबाही भैसकेको छ ।

अन्य जबरजस्ती करणीका ३ जना र उद्योगका १ जना ईलाका प्रहरी कार्यालयको हिरासतमा छन् भने वैवाहिक करणीका आरोपित सहित ३ जना फरार रहेका छन् । जबरजस्ती करणी तथा उद्योगका मुद्धाहरु सरकारवादी मुद्धा हुने भएकाले यसलाई सरकारी वकिलले हेर्ने गर्दछन् । कसुर अनुसार प्रहरी तथा वकिलले सजायको राय सहित अदालतमा बुझाए पछि अदालतले दोषिलाई कानुन अनुसारको कारबाही गर्नेछ ।

No comments:

Post a Comment