लन्डन—स्वीजरल्यान्डको जेनेभाबाट लन्डनका लागि उडेको ब्रिटिश एयरवेजको एउटा विमान हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा ड्रोनसँग ठक्किएको छ।
१३२ यात्रु रहेको एयरबस ए३२० जो विमान ड्रोनसँग ठोक्किएर अनियन्त्रित भए पनि सुरक्षित रुपमा विमानस्थलमा अवतरण गरेको छ।
विश्वकै अति व्यस्त लन्डनस्थित हिथ्रो विमानस्थलमा यस किसिमको घटना भएको यो पहिलो पटक हो। स्थानीय समयअनुसार बिहान १२ः५० मा यो घटना भएको थियो।
अवतरणपछि विमानका पाइलटले बताएअनुसार ड्रोन अगाडिको भागमा आएर ठोक्किएको थियो। हिथ्रो विमानस्थलको प्रहरीले अहिले घटनाको छानवीन गरिरहेको छ। ड्रोन मालिक को हो? कसले चलाएको थियो? भन्ने खुलेको छैन। प्रहरीले यो घटनालाई लिएर कसैलाई पक्राउ गरेको छैन।
यो घटनापछि ड्रोनलाई आतंकवादीहरुले विमान खसाउन प्रयोग गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। 'यो घटनाले आतंकवादी आक्रमणमा ड्रोनको प्रयोग हुनसक्छ भन्ने खतराको घन्टी बजाइदिएको छ', प्रतिआतंकवादी विज्ञ कर्नेल रिचर्ड केम्प भन्छन्, 'यो चुनौतीको छिटो छिनोफानो गरिनुपर्छ।'
पछिल्लो पटक ड्रोनको सार्वजनिक प्रयोग बढ्दै जाँदा विमानहरु असुरक्षित भएका खबरहरु आउन थालेका हुन्।
No comments:
Post a Comment