Tuesday, 12 April 2016

वर्षका चर्चित १० पात्रः नेता, प्रहरी र खेलाडीको वर्चश्व

३० चैत, काठमाडौं । वर्षको प्रारम्भमै आएको महाभूकम्प, त्यसको हलचल सेलाउन नपाउँदै मधेस आन्दोलन र त्यसपछि भारतीय नाकाबन्दी । नेपाली जनताका लागि ०७२ साल बिर्सनयोग्य बन्यो ।सामाजका हरेक क्षेत्रमा निराशाको बादल मडारिएका बेला राजनीति र खेलकुदमा भने यो वर्ष ‘ब्रेक थु्र’ भएको छ । राजनीतिको कुरा गर्दा करिब एक दशकदेखि संविधान निर्माणको गतिरोधभित्र रुमल्लिएको देशले निकास पाएको छ ।

जनताले नयाँ संविधान पाएका छन् । भारतीय दवावमा नझुकिकन संविधान जारी गरेका नेताहरुले भारतले लगाएको नाकाबन्दीलाई पनि डटेर सामना गरेका छन् ।

२०७२ सालमा नेपालीहरुमा उत्साह सञ्चार गराएको राजनीतिबाहेक अर्को क्षेत्र खेलकुद हो । नेपालमा सबैभन्दा लोकप्रिय खेल फुटबलमा म्याच फिक्सिङ गर्दै आएका खेलाडीहरुको पर्दाफास भयो ।
उपाधिको हाहाकार र गोलको खडेरी तोडिएको वर्ष नेपालले दुई अन्तर्राष्ट्रिय उपाधि उचाल्यो । यसै वर्ष नेपालले यू-१९ विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गर्यो र सन्तोषजनक प्रदर्शन पनि गर्यो ।
समाजका अन्य क्षेत्रहरु भने यस वर्ष सुस्ताए । फलस्वरुप यो वर्षका ‘न्यूजमेकर’हरुको अन्य क्षेत्रबाट खासै प्रतिनिधित्व हुन सकेन । हामीले छनोट गरेका १० चर्चित पात्रको सूचीमा ५ जना राजनीतिज्ञ र ३ खेलाडी परेका छन् । त्यसो त राजनीतिक वृत्तमै लगातार चर्चित उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरु यो सुचीमा अटाउन सकेनन् ।


१. केपी शर्मा ओली
प्रधानमन्त्री पदमा रहेको व्यक्ति समाचार बन्नु अस्वभाविक होइन । तर, केपी ओली यो वर्षभरि जसरी समाचारमा छाए, यसलाई प्रधानमन्त्री पदसँग मात्र जोडेर हेर्न मिल्दैन । त्यस्तो कुनै दिन नहोला, जहाँ ओलीका सकारात्मक वा नकारात्मक समाचार मिडियामा नआएका हुन् ।

प्रधानमन्त्री पदमा निर्वाचित हुनुअघि नै ओली राजनीतिको केन्द्रमा थिए । सुशील कोइरालालाई धकेलेर संविधान निर्माणसम्म पुर्याउन उनको सबैभन्दा बलियो भूमिका रह्यो । उनै कोइरालासँग प्रतिस्पर्धा गरेर ओलीले प्रधानमन्त्री पद कब्जा गरे । प्रधानमन्त्रीको प्रतिस्पर्धा गर्ने क्रममा ओलीको लोकप्रियता चुलिएको थियो । भारतीय हस्तक्षेपको विरुद्धमा लिएका अडानहरुका कारण ओलीको पक्षमा ठूलो जनमत देखियो । भारतले भरपूर प्रयास गर्दा पनि ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सकेन ।

प्रधानमन्त्री बनेपछि पनि ओली पछि हटेनन् । तर, बीचमा कतिपय हल्काफुल्का र उरन्ठेउला अभिव्यक्तिहरुका कारण उनको लोकप्रियता खस्कियो । विशेषगरी घरघरमा ग्यासको पाइप पुर्याइदिने भाषणले सामाजिक सञ्जालदेखि चिया पसलसम्म उनी हसिमजाकका पात्र बने ।
यद्यपि पछिल्लो समयमा फेरि उनको छवि पुनर्स्थापित भएको छ । भारतसँग नझुकिकन नाकाबन्दी फिर्ता गराएको र चीन भ्रमण गरेर दुरगामी सम्झौताहरु गरेको विषयलाई लिएर उनी राष्ट्रवादी जमातमा पि्रय बने ।
मधेसमा कडा आलोचना पा पुत्ला दहन गरिए पनि सबैका मुखमा ओलीकै चर्चा भयो । समर्थक या विरोधी सबैबाट ओली चर्चामा रहे ।


२. डा. बाबुराम भट्टराई
कुनै समय नेपालमा सबैभन्दा आशा गरिएका नेता मानिन्थे डा. बाबुराम भट्टराई । तर, ०७२ सालमा डा. भट्टराईको लोकप्रियता खस्कियो । देशको ‘राष्ट्रवादी’ जमातबीच उनी कडा आलोचनाको शिकार बनेर चर्चामा आए ।
संविधान निर्माणको पूर्वसन्ध्यामा मधेसका मुद्दालाई लिएर भट्टराईले असन्तुष्टि जनाउन थालेका थिए । आफैं अन्तिम समयसम्म सक्रिय संलग्न रहेर बनाएको संविधानको स्वामित्व अन्ततः उनले लिएनन् । भारतीय नाकाबन्दीको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा भट्टराईले लेखे, ‘२४ घन्टाभित्र देशको अखण्डता रहने वा नरहने फैसला हुनेछ ।’


त्यसपछि उनीमाथि गालीको वर्षा नै सुरु भयो । फेसबुकमा भट्टराईले यस्ता गालीगलौज सहेका छन्, जति सहनशील नेतालाई पनि यो पचाउन मुस्किल हुन्छ ।
संविधानकै असन्तुष्टिलाई लिएर भट्टराईले अनायास एमाओवादी पार्टी नै परित्याग गरिदिए । त्यसको केही समयपछि माओवादीका आफूनिकट नेता तथा केही सामाजिक व्यक्तिहरुलाई समेटेर नयाँ शक्तिका रुपमा नयाँ संगठन निर्माण गरेका छन् । उनी अहिले केही जनपि्रय कामहरुमार्फत आफ्नो गुमेको साख फर्काउने प्रयत्नमा लागिरहेका छन् । समर्थन वा विरोध जे भए पनि डा. भट्टराई यो वर्ष चर्चामा रहे ।
३. राजेन्द्र महतो
राजेन्द्र महतोको नाम नलिइकन २०७२ सालको समीक्षा पूरा हुँदैन । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले एक वर्षको ठूलो हिस्सा बर्बाद गर्यो । मधेस आन्दोलन विभिन्न मधेसवादी दलहरुको सामुहिक थियो, तर सबैभन्दा बढी हाइलाइटमा आए महतो । उनलाई कतिपयले ‘मधेसका केपी ओली’ समेत भन्ने गरेका छन् ।



मधेस आन्दोलनकारीबीच उनी जति लोकप्रिय रहे, बाँकी देशमा त्यतिकै अलोकप्रिय । सामाजिक सञ्जालमा उनी अत्यधिक आलोचना र घृणाका पात्र बने । राष्ट्रियताविरोधी उत्तेजक अभिव्यक्तिहरु दिएर होस् वा नाका-नाकामा आफैं धर्ना बसेर, महतोले आन्दोलनलाई विभिन्न ढंगले मलजल गरिरहे । बिराटनगरको जोगवनी नाकामा धर्ना बस्दा उनले प्रहरीको कुटाइसमेत खाए ।

४.शेरबहादुर देउवा
नेपाली कांग्रेसभित्र लामो समय प्रतिपक्षी भूमिकामा रहेका शेरबहादुर देउवा अन्ततः ०७२ सालको उत्तरार्धबाट शक्तिमा र चर्चामा आएका छन् । कांग्रेस महाधिवेशनमा रामचन्द्र पौडेललाई हराउँदै सभापति जितेका देउवा त्यसको एक महिनापछि संसदीय दलको चुनावमा पनि विजय भए ।


कांग्रेसमा देउवाको उत्थानलाई राष्ट्रिय राजनीतिमा पनि अर्थपूर्ण छ । उनलाई भावी प्रधानमन्त्रीका दावेदारको रुपमा हेरिएको छ । देउवा सभापति निर्वाचित भएको दिनदेखि सरकारको दिनगन्ति गर्न थालेका छन् देशी तथा विदेशी शक्तिहरु । यद्यपि देउवाले भने यसबारे खुलेर आफूलाई प्रस्तुत गर्न बाँकी छ ।
५. हरि पराजुली
सुशील कोइरालाको सरकारका कृषिमन्त्री हरि पराजुली ‘रोपाइँ काण्ड’ का कारण यसवर्ष चर्चामा आए । लामो समयदेखि राजनीतिमा सक्रिय योगदान दिएका उनलाई नेपालीहरुले सम्झिनेछन् यसै वर्षको रोपाई काण्डका कारण । यही एक दिनको घटनाले पराजुलीको सिंगो राजनीतिक जीवनमा नमेटिने दाग लाग्यो ।


मन्त्री पदमा बहाल रहँदा रोपाईं उत्सव हेर्न पुगेका मन्त्री पराजुली रोपाहार महिलाहरुसँग अभद्र रुपमा प्रस्तुत भएका थिए । उनको अश्लील हर्कतका विषयमा विवाद यति बढ्दै गयो कि उनी अन्ततः मन्त्रीपदबाटै राजीनामा दिन वाध्य भए ।त्यसो त हालका कृषि मन्त्री हरिवोल गजुरेल पनि फिल्म हलबाट बाहिर निस्कदा क्वाँ क्वाँ रोएर चर्चामा आएका छन् । यो वर्ष कृषि मन्त्रालय भिन्न तरिकाले चर्चामा रह्यो ।


६. सर्वेन्द्र खनाल
नेपाल प्रहरीमा ‘आइकन’ खोज्नासाथ रमेश खरेलको नाम लिइन्थ्यो । ०७२ सालमा भने काठमाडौं अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले खरेललाई ओझेल पारे । कुमार घैंटेको इन्काउन्टरदेखि राष्ट्रिय फुटबलरहरुलाई जेल हाल्नेसम्मका एक्सनले समाचारमा छाए सर्वेन्द्र खनाल ।


कांग्रेसका केही नेताहरुको छत्रछायामा रहेका डन कुमार घैंटेमाथि प्रहरीको कारवाही विवादस्पद थियो । एसएसपी खनालको निर्देशनमा घैंटेको ‘इन्काउन्टर’ गरिएको थियो । पक्राउ गरेर जेल हाल्नसक्ने अवस्था हुँदाहुँदै उनलाई गोली हानेर मारिएको भनेर एकातर्फ विरोध भयो गुण्डाहरुलाई यसैगरी तह लगाउने हो भन्दै खनालको बचाउ गर्ने पनि थुपै्र निस्के । प्रहरीले भने दोहोरो फायरिङमा घैंटेको मृत्यू भएको भनेर घटनाको ढाकछोप गर्दै आएको छ ।


फुटबलमा भएको म्याच फिक्सिङ प्रकरणले खनाललाई सर्वाधिक चर्चामा ल्यायो । एशियाली फुटबल काउन्सील र स्पोट्र्स र्याडरले उपलब्ध गराएको प्रमाणका आधारमा उनले सागर थापासहितका खेलाडीहरुलाई पक्राउ गरेका थिए । उनीहरुलाई पछि अदालतले धरौटीमा छाडेको छ । म्याच फिक्सिङमा मुछिएका खेलाडीहरु पक्राउ परेपछि अन्तर्राष्ट्रिय फुटबलमा नेपालले लगातार सफलता पाउदै आएको छ ।
फुटबल फ्यानहरुले नेपाली फुटबलभित्रका धमिराहरुलाई हटाएको भनेर यो सफलताको श्रेय एसएसपी खनाललाई पनि दिने गरेका छन् ।
७. नवयुग श्रेष्ठ
०७२ साल नेपाली फुटबलका निम्ति टर्निङ प्वाइन्टका रुपमा रह्यो । अन्तर्राष्ट्रिय म्याचहरुमा गोलको खडेरी र हारको श्रृंखला अन्त्य गर्दै नेपालले दुईवटा अन्तर्राष्ट्रिय उपाधि उचाल्यो । यो सफलताको केन्द्रविन्दुमा रहे २५ वर्षीय खेलाडी नवयुग श्रेष्ठ ।

बंगलादेशमा भएको बंगबन्धु गोल्डकप र भारतमा भएको साग फुटबलमा उनले दुई ह्याट्रिकसहित गोलको वर्षा नै गरे । धेरैले नवयुगमार्फत नेपाली फुटबलको नवयूग सुरु भएको टिप्पणी गरेका छन् ।
फुटबलमा नेपाललाई दिलाएको सफलताकै आधारमा नवयुगले पुरस्कारस्वरुप नेपाली सेनामा दुई पदन्नोति पाइसकेका छन् । साफ च्याम्पियनसीपमा नेपाललाई उपाधि जिताएपछि अमलदारबाट हवल्दारमा बढुवा भएका उनी छोटो अन्तरालमा फेरि एक तह बढुवा भए ।

८. सीताराम कट्टेल (धुर्मुस)
कलाकारिता गरेर चर्चित हुन गाह्रो छैन । तर, जो कलाकार कलाकारिताभन्दा माथि उठेर समाजलाई योगदान दिन्छ, उ चर्चित मात्रै नभएर प्रतिष्ठित पनि बन्न पुग्छ । हास्य कलाकार सीताराम कट्टेलले पछिल्लो एक वर्षमा यही प्रतिष्ठा आर्जन गरे ।
कलाकारिताभन्दा बाहिरका सामाजिक गतिविधिले पछिल्लो समयमा धुर्मुसको कद निकै अग्लिएको छ । यस हिसाबले ०७२ साललाई उनको करिअरको टर्निङ प्वाइन्ट मान्न सकिन्छ । वैशाखमा आएको भूकम्पका बेला धुर्मुस अमेरिकामा थिए ।


भुकम्पपछि त्यहाँ थुप्रै कार्यक्रमरु रद्द गरेर धुर्मुस तत्कालै नेपाल फर्के र एक दिन पनि आराम नगरिकन भूकम्पग्रस्त क्षेत्रहरुमा पुगे । भूकम्पपीडितका लागि शौचालय निर्माणबाट सुरु भएको धुर्मुसको अभियान नमूनावस्ति निर्माणसम्म पुग्यो । यसवापत उनले निकै वाहवाही पनि कमाए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि हालका प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले काभ्रेमा उनले बनाएको नमूना रहेको बस्ति अवलोकन गरेर स्यावासी दिइसकेका छन् । अघिलो सरकारले धुर्मुस र उनकी पत्नी कुञ्जना घिमिरेलाई सरसफाई दूतमा नियुक्त गरेको थियो । सो जिम्मेवारीलाई पनि न्याय गर्न यो जोडीले भरपुर कोशिस गरिरहेको छ ।


धुर्मुसको कलाकारिता भने यो वर्ष सहजरुपमा अगाडि बढ्न सकेन । उनले अभिनय गर्दै आएको हास्य कार्यक्रम मेरीबास्सै लामो समय बन्द भयो । भुकम्प र नाकाबन्दीका कारण स्टेज कार्यक्रममा पनि उनको सहभागिता न्यून रह्यो । केही साताअघि देखि मेरीबास्सैमा फर्केका उनी फुटकर हास्यव्यंग्य भिडियो बनाएर युट्युवमा पोष्ट गर्न थालेका छन् ।


९. सागर थापा
नेपाली राष्ट्रिय फुटबल टोलीका क्याप्टेन सागर थापा ०७२ सालमा हिरोबाट जिरो भए । म्याच फिक्सिङमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गर्यो । पैसाका लागि राष्ट्रियतामा सौदावाजी गरेको भनेर सारा देशवासीका नजरबाट उनी गिरेका छन् । उनको फुटबल करिअर लगभग समाप्त भएको छ ।



एशियाली फुटबल महासंघ एएफसीले स्पोर्ट्स र्याडरको सहयोगमा नेपालले खेलेका अन्तर्राष्ट्रिय म्याचहरुको अनुसन्धान गरेको थियो । त्यसमा सागरसहितका ४ खेलाडी र एक पूर्वप्रशिक्षक दोषी पाइएका छन् ।
अनलाइनअबरलाई अन्तरवार्ता दिँदै सागरले आफूमाथि लागेको आरोपहरुको खण्डन गरेका छन् । तर, सागर लगायत पाँचजनाको अनुपस्थितमा नेपालले लगातार अन्तर्राष्ट्रिय म्याचहरु जित्दै आउनुले उनीमाथिको आरोप सही थियो भन्ने तार्किक आधार फुटबलप्रेमीहरुलाई मिलेको छ ।

१०. ल्हारक्याल लामा
नेेपाली राजनीतिका विवादास्पद पात्र ल्हारक्याल लामा ०७२ सालमा फेरि चर्चामा आए । उनले बैंकको लकरभित्र गोली राखेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गर्यो ।
गत फागुन २० गते अख्तियारले लामाको सम्पत्ति छाविनका क्रममा बैंकको लकर जाँच गर्दा १४ थान गोली भेटाएको थियो । त्यसलगत्तै ल्हामालाई पक्राउ गरियो । तर, जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाड्ने आदेश दियो ।

यद्यपि धरौटीमा छुटेलगत्तै उनलाई वैदेशिक रोजगारीसम्वन्धी पुरानो मुद्दामा प्रहरीले पुन पक्राउ गर्यो । उक्त आरोपमा पनि बलियो प्रमाण नभएको भन्दै उनलाई धरौटीमा छोडिएको छ । उनीमाथि छानविन जारी छ ।
र, यी तीन महिला
यस वर्ष नेपालमा एउटा रोचक संयोग मिलेको छ । देशको प्रमुख तीन निकायले महिला नेतृत्व पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्की चयन भएका हुन् ।

राष्ट्रपति र सभामुखमा राजनीतिक भागबण्डाका आधारमा दुई महिला नेतृ आएका छन् भने वरिष्ठताका आधारमा कार्की प्रधानन्यायाधीशको कुर्सीमा पुगेकी हुन् । यसरी राज्यका तीन प्रमुख पदमा महिलाहरुले हाँकेको उदाहरण विश्वमा विरलै पाइन्छ, जुन ०७२ सालको एउटा महत्वपूर्ण परिघटना हो ।
- अनलाइनखबर

No comments:

Post a Comment