Tuesday, 24 May 2016

दैलेखमा पेट्रोलजन्य पदार्थ उत्खनन् शुरु ....

देशमा अहिले विभिन्न स्थानमा खनिज तथा पेट्रोलजन्य पदार्थ उत्खनन् शुरु भएको छ । दैलेखमा पनि यस्ता सम्भावित खानीबारे अध्ययन र उत्खनन् शुरु गरिएको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डे,सात जना चिनिया बिशेषज्ञ, दैलेखका सभासद, खानी तथा भू गर्व बिभागका पेट्रोलियम अन्वेषक, उद्योग मन्त्रालयका सहसचिव सम्मिलित टोलीले दैलेखको शिरिस्थान मन्दिर भित्र र बाहिर बलेको ज्वालाबारे अध्ययन शुरु गरेको हो ।
शिरिस्थान खोलाको पानी माथि आगो बलेका स्थानहरुबारे चीनबाट आएका बिशेषज्ञहरुले अध्ययन र अनुसन्धान शुरु गरेका हुन् । खोलामा भुलभुल गरेर निस्केको पानीको भुल्का भएको स्थान फुटाएर औपचारिक उद्घाट गर्दै मन्त्री पाण्डेले चीन सरकारका बिशेषज्ञहरुलाई ढुंगासहित उत्खनन्को जिम्मेवारी दिनुभयो ।
सो अवसरमा मन्त्री पाण्डेले सरकार आफ्नै देशमा भएका खनीज र पेट्रोलियम पदार्थहरु उत्खनन् गर्दै आत्मनिर्भर बन्ने अभियानमा लागेको बताउँनुभयो ।
मन्त्री पाण्डेले मुलुकले लामो नाकाबन्दीको सामना गरेसँगै सरकारले नेपालका पेट्रोलियम पदार्थहरु भण्डारण भएका संभावित स्थानहरुको खोजी कार्यलाई तीब्रता दिएको बताउँनुभयो । बिशेषज्ञहरुले दैलेखको शिरिस्थान, नाभिस्थान लगायतका स्थानहरुमा अनुसंन्धानको काम थालनी गरेका छन् ।
यो अनुसंन्धान एक सातासम्म जारी रहने बताईएको छ । दैलेखको पंचकोशी क्षेत्रका बिभिन्न स्थानहरुमा लगातार ज्वालाको रुपमा आगो बलिरहेको छ । तर सरकारले यसवारे ठोस कदम चाल्न नसकेको दैलेखका सभासद अमरबहादुर थापा र लक्ष्मी पोखरेलले गुनासो गर्नुभयो । ढिलै भए पनि शुरु भएको दैलेखको यो उत्खनन्ले मुलुककै आर्थिक संवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने सभासदहरुको दाबी थियो ।
दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष शान्ति शर्माले सरकारले थालेको पेट्रोलियम पदार्थको अनुसंन्धानसँगै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत अन्तर्राष्ट्रियकरण भएको बताउँनुभयो । खोज अनुसंन्धान सुरु भएपछि यसले सरकारको आर्थिक बिकासमा निकै मद्धत पुग्ने उहाँको अपेक्षा थियो ।
पञ्चकोशी क्षेत्रका विभिन्न स्थानहरुमा अहिलेपनि कुनै पाईपको माध्यमबाट पेट्रोलियम पदार्थ ल्याईएको स्पष्ट देखिन्छ । सरकारले दैलेख लगायतका अन्य बिभिन्न दशवटा स्थानहरुमा रहेका पेट्रोलियम पदार्थहरुको खोजी कार्यलाई तीब्रता दिने बताएको छ ।
ती दशवटा स्थानहरु मध्ये दैलेख तेस्रो स्थानमा परेको भएपनि अनुसंन्धानको सुरुवात सरकारले दैलेखबाटै गरेकोमा दैलेखवासीले प्रसन्नता व्यक्त गरे । पेट्रोल खानीको अनुसंन्धानसँगै साँच्चै उत्पादन हुने भएमा नेपाल आत्मनिर्भर बन्नुको साथै पेट्रोलियम पदार्थको समस्या सदाका लागि अन्त्य हुने थियो । न्युज२४बाट साभार |

No comments:

Post a Comment