Tuesday, 17 May 2016

एक किलो बोकाको मासुलाई ४ हजार

चितवन । बोकाको एक किलो मासुको मूल्य कति ? रु ५००, ६०० वा ८०० । ठाउँ अनुसार फरक÷फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्चर्य मान्नुहुन्छ होला । तीन हजार ७५० मा त किनबेच नै भइसक्यो ।
पश्चिम चितवनको जगतपुरबाट नुवाकोटका अमृत तिवारीले एउटा ८० किलोको प्योर बोयर (क्रस नगरेको शुद्ध बोयर) जातको बोकालाई रु तीन लाखमा खरिद गरेर लैजानुभयो । उहाँले अझै केही बाख्राको समेत माग गर्नुभएको छ । काठमाडौँका कल्पदीप राईले ८२ किलोको बोका रु तीन लाख नौ हजार बुझाएर लैजानुभयो ।
‘म सँग एउटा बोका छ, त्यसलाई रु नौ लाख दिँदा पनि दिएको छैन,’ जगतपुरका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्काले भन्नुभयो – ‘यो बोका ब्याडका लागि राखेको छु ।’ पन्चानब्बे किलोको उहाँसँग भएको त्यो बोकाको लागत मूल्य करिव रु ५ लाख छ ।
यो एउटा उदाहरण मात्रै हुन् । अलि ठूला बोकाको मूल्य प्रतिकिलो रु ६ हजारसम्म पर्ने जगतपुरमा बोयर जातका बाख्रा पाल्दै आउनुभएका व्यवसायी खड्काले बताउनुभयो । यो दुईवटा बोका अलि सस्तोमा बेचिदिएको उहाँको भनाइ छ ।
‘एकसय प्रतिशत प्योर बोयर बोकाको प्रतिकिलो मूल्य रु पाँच हजार पर्छ, ग्रेड छुट्याएर राखिएको सबैभन्दा राम्रो बोकाको प्रतिकिलो रु ६ हजारभन्दा बढी पर्छ,’ खड्काले भन्नुभयो ।
विसं २०७० देखि चितवन सदरमुकाम भरतपुरबाट २० किमी पश्चिम जगतपुरमा खड्काले ‘जगतपुर एग्रो प्रालि’ सञ्चालन गर्नुभएको छ । दक्षिण अफ्रिकाबाट उहाँले बोयर जातको बाख्रा ल्याएर व्यावसायिक बाख्रापालन थाल्नुभएको छ ।
‘अहिलेसम्म बीउ उत्पादनमै ठिक्क छ,’ खड्काले भन्नुभयो – ‘पछि फस्टाउँदै जाँदा भने अन्य खसीबोका सरह मासु दिन सकिन्छ होला ।’ यो जातको बाख्रा छिटो बढ्ने र तौल राम्रो हुने भएकाले व्यावसायिक भएपछि भने लोकल खसी बाख्राको मूल्यमा दिन सकिने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।
अहिले उहाँले बीउ उत्पादनकै लागि बोबा बाख्रा बेचिरहनुभएको छ । दक्षिण अफिकाबाट ल्याएर यो जातको बाख्रा पाल्ने आफू नै पहिलो भएको दाबी गर्ने खड्काले अहिले करिब रु दुई करोड लगानीमा बाख्रापालन थालेको बताउनुभयो । सुरुमा उहाँले १७ वटा प्योर बोयर जातका बोका बाख्रा दक्षिण अफ्रिकाबाट ल्याउनुभयो ।
चारवटा बोकालाई रु १३ लाख र १३ वटा अन्य बाख्रा ल्याउँदा रु ३९ लाख लाग्यो । खड्काले यो वर्ष अझै नयाँ ५० वटा ल्याउन लाग्नुभएको छ । बाख्रा ल्याउँदा भाडा नै एउटा बोकाको ७० हजार लागेको स्मरण सुनाउँदै उहाँले १० प्रतिशत भ्याटलगायत पैसा तिर्नुपरेको बताउनुभयो । मुख्यगरी यो जातका बाख्रामा बोसो कम हुने, तौल चाँडो बढ्ने, खाँदा मासुपनि राम्रो हुने भएकाले अरु भन्दा फरक भएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्की बताउनुहुन्छ ।purbalinews

No comments:

Post a Comment