Thursday, 19 May 2016

यस्तो छ बुद्ध भूमी लुम्विनीलाई शान्त, शुन्दर र आकर्षक बनाउने गुरुयोजना

-अझै ६ अर्व खर्च लाग्ने
-तीन वर्षभित्रै गुरुयोजना सक्न सरकारको निर्देशन
-चार वर्षमा सकिन्छ : कोष
जेठ ६, लुम्विनी । २५६० औं बुद्धजयन्तीका अवसरमा लुम्विनीमा शनिबार आयोजना हुन लागेको बिशेष बुद्धजयन्ती कार्यक्रमका लागि विभिन्न देशका बिशिष्ट अतिथिहरु नेपालमा आउने क्रम जारी छ । बुद्ध जन्मस्थल लुम्विनीलाई अहिले सिंगारेर झिलिमिलि बनाईएको छ ।
अन्तरराष्ट्रिय स्तरमा लुम्विनीको प्रचार प्रसार गरि धार्मिक पर्यटन भित्र्याउने लक्ष्य स्वरुप सरकारले पनि लुम्विनीको विकासका लागि गुरुयोजना बनाएरै अगाडी बढेको छ । सोही बमोजिम अहिले लुम्विनीमा अरबौंको लगानीमा भौतिक क्षेत्रको विकास गरिंदै छ ।
विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागी आर्कषक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको लुम्विनी गुरुयोजनाले प्रमुख भू–भागको रुपमा रहेको तीन वर्गमाईल क्षेत्रभित्र उद्यान, अन्तरराष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्विनीग्राम गरी तीन क्षेत्रलाई समावेश गरेको छ । उत्तरतपर्mको एक वर्ग माईल क्षेत्रलाई लुम्विनीग्राम, दोस्रो खण्ड (जुन बिचमा छ) एक वर्ग माईलको भू खण्ड जसलाई शैक्षिक, साँस्कृतिक तथा अन्तरराष्ट्रिय बिहार तथा गुम्बा क्षेत्र र बाँकी एक वर्ग माईलको दक्षिण तपर्mको क्षेत्रलाई पवित्र उद्यानको रुपमा विकास गरिंदै छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । जहाँ बुद्धले धर्तिमा पहिलो पाईला टेकेका थिए ।
कोषले गुरुयोजना अनुसार यी सवै काम पूरा भएपछि लुम्विनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमा विकास हुने दावी गरेको छ । सरकारले आगामी २ वर्षभित्र गुरुयोजना सम्पन्न गर्न लुम्विनी विकास कोषलाई निर्देशन दिएपनि कोषले आगामी ४ वर्षभित्र लुम्विनी गुरुयोजनाका सवै कामहरु सक्ने बताएको छ । कोषका सदस्य सचिव अजितमान तामाङ्ले प्राविधिक हिसावले पनि ४ वर्षअघि लुम्विनीको गुरुयोजना सम्पन्न गर्न सकिने अवस्था नरहेको बताए । उनले ४ वर्षभित्र गुरुयोजना सम्पन्न गर्न कोषले योजना बनाउन लागेको जानकारी दिए ।
जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले सन् १९७८ मा बनाएको लुम्विनी गुरुयोजना पूरा गर्न सरकारले लुम्विनी विकास कोषमार्फत काम गरिरहेको छ । लुम्विनी विकास कोषको स्थापना भएको करीव ३० वर्षको अवधिमा कोषमार्फत खर्च भएको रू. ४ अर्ब मध्ये आधा रकम अन्तरराष्ट्रिय दातृ निकाय र विदेशी मुलुकहरुले लगानी गरेका छन् । लुम्विनी गुरुयोजना पूरा गर्न अझै करीव ६ अर्व रुपैयाँ खर्च लाग्ने अनुमान लुम्विनी विकास कोषको छ ।
खर्च विवरण अनुसार लुम्विनी गुरुयोजना भित्र विहार क्षेत्रमा सवैभन्दा बढी रू.१ अर्व ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । १२ ओटा विहारहरु नेपालले निर्माण गरेको छ । सवैभन्दा बढी आकर्षक मानिने चाइना र जर्मनी विहार निर्माणका लागि ति मुलुकहरुले रू. ५२ करोड ८० लाख लगानी गरेका छन् । अर्को मुलुक थाइल्याण्डले रू.१० करोड २५ लाखको लागतमा विहार बनाएको छ । विहार क्षेत्रमा अझै रू.२२ करोड लगानी हुने अनुमान छ ।
लुम्विनी विकास कोषका कोषाध्यक्ष ओम अर्यालले गुरुयोजना अनुसार न्यू लुम्विनी भिलेज क्षेत्रमा रू.१ अर्ब २७ लाख ६० हजार लगानी भएको बताए । यो क्षेत्रमा निर्माण भएका होक्के होटल र होटल कासाइले रू.३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्विनी सङ्ग्रहालय भारत सरकारको रू.३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तरराष्ट्रिय संस्था रेयूकाइले रू.३० करोड ८० लाखको लागतमा अन्तरराष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ ।
यो क्षेत्रमा अझै करीव रू.३ अर्वको लागतमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुनेछन् । लुम्विनीको सवैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा रू.३८ करोड ८१ लाख लगानी भएको छ । यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि रू.१३ करोड ३७ लाख लगानी गरिएको छ भने मायादेवी मन्दिर निर्माणका लागि रू.७ करोड लगानी भएको थियो । गुरुयोजना अनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका काम गर्न रू. ५२ करोड लाग्ने अनुमान छ । त्यस्तै, लुम्विनीको मेरुदण्ड मानिने केन्द्रिय नहर क्षेत्रमा रू.२९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमा नहर निर्माणमा मात्रै रू.२४ करोड खर्च भएको थियो । यहाँ गुरुयोजना अनुसार बाँकी नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन निर्माण, विद्युत ब्यवस्थापन र पानी ट्याङ्की निर्माणका लागि रू.२ अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान छ ।
७० प्रतिशत काम सम्पन्न हुंदासम्म लुम्विनी गुरुयोजनाको आकार आइसकेको र लुम्विनी घुम्न लायक भएको ठहर कोषको छ । कोषका सदस्य सचिव तामाङ्ले लुम्विनीको सुन्दरता थप्न विभिन्न भौतिक निर्माणका काम बाँकी रहेपनि यस्ता काममा धेरै रकम खर्च हुने बताए ।-abhiyan.com.np बाट

No comments:

Post a Comment