काठमाडौं- संसारभरका बौद्धमार्गी शाक्यमुनि गौतम बुद्धसँग जोडिएका चार ठाउँमा पाइला टेक्न पाउँदा जीवन सार्थक ठान्छन्। ती पवित्र गन्तव्य हुन्– नेपालको लुम्बिनी, भारतका बोधगया, सारनाथ र कुशीनगर। जन्मथलो लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, पहिलोपटक चेलाहरूलाई धर्मदेशना दिएको सारनाथ र महापरिनिर्वाण भएको कुशीनगर आस्थाका केन्द्र हुन्।
बुद्ध आफैंले भनेका छन्, 'लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरमा तन–मनको समर्पणबाट घुम्नेहरूले जीवनको सत्य पहिल्याउन सक्नेछन्।' बर्सेनि लाखौं पर्यटक ती ठाउँ घुम्छन्। तीमध्ये अधिकांश उल्टो हिसाबले 'बुद्ध सर्किट परिक्रमा' गर्छन्। फलस्वरूप बुद्ध जन्मस्थल लुम्बिनीले पर्यटनबाट खासै फाइदा उठाउन सकेको छैन।
सोझो हिसाबमा जन्मथलोबाट ज्ञान प्राप्त भएको ठाउँ हुँदै महापरिनिर्वाण स्थल घुम्नुपर्ने हो। '९० प्रतिशत बौद्धमार्गी पहिला भारतका बुद्धिस्ट साइट घुमेर अन्तिममा लुम्बिनी आइपुग्छन्', सिद्धार्थ होटल एसोसियसन, लुम्बिनीका महासचिव लीलामणि शर्मा भन्छन्, 'पहिले लुम्बिनी आएर बुद्धिस्ट सर्किट घुम्ने पर्यटक १० प्रतिशत हाराहारी मात्रै हुन्छन्।'
किन यस्तो भइरहेको छ त? पर्यटन बजारमा 'बुद्धिस्ट सर्किट' प्याकेज बेच्नेमा भारतीय ट्राभल कम्पनी अगाडि छन्। उनीहरूले आफ्नै देशलाई फाइदा पुग्ने किसिमले प्याकेज बनाई बजारीकरण गरिरहेका छन्। त्यसैले ८–१० दिने प्याकेजमा मुस्किलले एक दिन मात्रै लुम्बिनीलाई छुट्ट्याइन्छ।
'करिब ५० प्रतिशत पर्यटक त सुनौली नाकाबाट लुम्बिनी आएर तीन घन्टा घुमी त्यही दिन फर्कन्छन्,' शर्मा भन्छन्, 'बाँकी पर्यटक एक रात लुम्बिनीमा बिताउँछन्।'
यता बास बस्नेहरू बुद्धले २९ वर्षसम्मको उमेर बिताएको तिलौराकोट दरबार (कपिलवस्तु) पनि घुमेर फर्किन्छन्। पहिलाको अवस्था बेग्लै थियो, बास बस्न समस्या थियो। सन् २००५ अगाडि लुम्बिनीमा सुविधायुक्त होटल कम थिए। आज लुम्बिनीका ५४ होटलमा २४ सय बेड छन्। सन् २००७ देखि धेरै पर्यटकले लुम्बिनीमै रात बिताउन थालेको अनुभव शर्माको छ।
लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०१४ मा करिब १४ लाख पर्यटक आएका थिए। वैशाख १२ को भुइँचालोका कारण सन् २०१५ मा त्यो संख्या घट्यो। सुल्टो बाटोबाट पर्यटक घुमाउन सके नेपालले मनग्य फाइदा लिन सक्छ। त्यसका लागि पहिला जन्मथलो लुम्बिनी घुमाएर, बोधगया, सारनाथ, कुशीनगर पुर्याँउनुपर्छ। यस्तो प्याकेज बनाउने कसले? 'हामी नेपालीले बनाउने हो,' नेपाललाई फाइदा पुग्ने बुद्धिस्ट सर्किट प्याकेजको वकालत गर्दै आएका पर्यटनकर्मी विक्रम पाँडे भन्छन्, 'उल्टो बगेको खोलालाई अब सुल्टो बगाउनुपर्छ।'
नेपालतिरबाट घुमाउने प्याकेजको प्रचार गर्न नसक्नु नेपालको कमजोरी हो। दुई वर्षपछि भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न सक्षम हुनेछ। सिद्धार्थ गौतम विमानस्थललाई स्तरोन्नति गरेर अन्तराष्ट्रिय उडान गर्न लायक बनाउने काम भइरहेको छ। 'सोझै भैरहवा उडान गर्न पाउँदा पर्यटक ओइरिनेछन्', पाँडे आशावादी छन्, 'त्यसका लागि हामीले मार्केटिङ गर्न ढिलाई गर्न हुँदैन।'
पाँडेले ४ रात नेपाल र ४ रात भारतमा बिताउने गरी बुद्धिस्ट सर्किट प्याकेज बनाएका छन्। यसो गर्दा पर्यटकले लुम्बिनीमा मात्रै दुई रात बिताउनेछन्। उनीहरू मायादेवी मन्दिरसहित लुम्बिनीग्राम, तिलौराकोट दरबार, रामग्राम, देवदह, कनकमणि बुद्धको जन्मथलो गोटिहवा, क्रुकछन्द बुद्धको जन्मथलो निग्लिहवा घुम्नेछन्।
लुम्बिनीमा कपिलवस्तुका राजा शुद्धोदन र रानी मायादेवीको पहिलो सन्तानका रुपमा इसापूर्व ६२३ मा सिद्धार्थ गौतम जन्मिएका थिए। तिनै सिद्धार्थ पछि बुद्ध बनेका हुन्। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो।
'अहिले खोला दक्षिणबाट उत्तर बगेको छ,' पाँडेले भने, 'हामीले खोलालाई उत्तरबाट दक्षिणतिर बगाउनुपर्छ।'
तेस्रो विश्वका पर्यटकलाई काठमाडौं उडान गर्नुभन्दा भारतको दिल्ली उड्नु सजिलो र सस्तो पर्छ। त्यसैले उनीहरू भारतीय व्यवसायीको प्याकेजमा तीर्थयात्रा गर्न बाध्य छन्। 'पर्यटकलाई उडेर भारत आउन सस्तो र कनेक्टिङ फ्लाइट धेरै भएकाले सजिलो पनि छ,' नेपाल एसोसियसन अफ टुर अपरेटर (नाटो) का महासचिव अमरबहादुर शाही भन्छन्, 'त्यसैले बुद्धिस्ट सर्किटबाट नेपालले फाइदा लिन सकेको छैन।'
नेपालमा चिनियाँ पर्यटक बढ्दै छन्। बुद्धभूमिप्रति उनीहरूको रुचि देखिएको छ। उनीहरू काठमाडौं हुँदै लुम्बिनी पुग्छन्। 'बुद्धिस्ट सर्किटबाट नेपालले कसरी बढीभन्दा बढी फाइदा लिन सक्छ भन्ने विषयमा गम्भीर छलफल जरुरी छ,' महासचिव शाही भन्छन्, 'पर्यटनकर्मी, सरकार र पर्यटन बोर्डले यसमा भूमिका खेल्नुपर्छ। 'पहिला लुम्बिनी घुमौं' भन्ने अभियान चलाउनुपर्छ।'
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पनि भरपर्दो हुनुपर्ने व्यवसायीको माग छ। पर्यटन बोर्डले बुद्धिस्ट सर्किटमा पर्यटकलाई सुल्टो बाटोबाट हिँडाउन हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ।
'हामीसँगको भेटमा श्रीलंकालीले भारतीय प्याकेज किन्दा अन्तिममा मात्र बुद्ध जन्मथलो घुम्नुपर्दा खल्लो भएको सुनाएका थिए,' बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले भने, 'उनीहरू जन्मथलोबाटै भ्रमण सुरु गर्न चाहन्छन्।'
व्यवसायीमा सचेतना फैलाउने र मुख्य बुद्धिस्ट बजारमा मार्केटिङ गर्ने योजना बनाएको छ बोर्डले। 'त्यसैले हामी आउँदो जुलाईमा श्रीलंकाबाटै त्यस्तो अभियान सुरु गर्दै छौं,' सिइओ जोशीले नागरिकसँग भने।
एसोसियसनका महासचिव लीलामणि शर्मा मायादेवी मन्दिरलाई केन्द्रमा राखी तिलौराकोट, रामग्राम, देवदह, गोटिहवा, निग्लिहवालगायत सम्पदा घुमाएर पर्यटकलाई सजिलै दुई रात लुम्बिनी क्षेत्रमा बसाउन सकिने बताउँछन्। ती सम्पदा छिटोभन्दा छिटो व्यवस्थित हुनुपर्छ।
पर्यटकलाई काठमाडौं हुँदै लुम्बिनीबाट बुद्धिस्ट सर्किट सुरु गराउँदा 'नाइट–स्टे' बढ्छ। काठमाडौंका स्वयम्भूनाथ, बौद्धनाथ र काभ्रेको नमोः बुद्धसमेत उनीहरूको रोजाइमा पर्नेछन्। उनीहरू काठमाडौंमा दुई रात सजिलै बिताउन सक्छन्।
Saturday, 21 May 2016
बौद्ध यात्राको सुल्टो बाटो
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment