Tuesday, 10 May 2016

घन्टौंको जामले यात्रु हैरान !

धादिङ: राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम जाने सवारी साधन दैनिक ५ घन्टासम्म जाममा फस्ने गरेका छन् । ठाउँमा ठाँउमा हुने सवारी जामका कारण यात्रु समयमा गन्तव्यमा पुग्न नसक्दा दैनिक हैरानी खेपिरहेका छन् ।
त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडकखण्डमा उकालो बाटो र बढी भार लिएर राजधानी प्रवेश गर्ने सवारीका साधन बाटोमै बिग्रिने हुनाले बढी जाम हुने गरेको छ । बाटो घुमाउरो भएकाले ठूला सवारी साधन चलाउनसमेत असहज हुँदा सामान्य कारणले पनि यात्रुहरू घन्टौं जाममा बस्न बाध्य छन् ।
उकालो बाटोमा बढी भार बोकेका ट्रक गुड्न नसकी बाटोमै बिग्रने गरेकाले जाम हुन्छ । बाटोमै बिग्रिएका सवारी साधन तत्काल सडकबाट हटाउने कुनै पनि उपकरण प्रहरीसँग नहुँदा ट्राफिक प्रहरीले समेत आलोपालो गरेर सवारी पास गराउने गरेका छन् । नागढुंगा–नौबिसे सडकखण्डमा बाटोमा एउटा मात्रै गाडी बिग्रँदा त्यसको असर खानीखोलादेखि थानकोटसम्मै पर्ने गरेको छ ।
केही घन्टाको यात्रामा पुगिने मुग्लिन–नारायणघाट सडकखण्डमा ६ सात घन्टा रोकिएर बस्नुपर्ने बाध्यता छ । नौबिसेको झ्याप्लेखोलामा जाम परेर बसेका बेला चितवन जाँदै गरेकी काठमाडौं गोलढुंगाकी नारायणी बर्तौलाले भनिन्, ‘मुग्लिनमा बाटो बनाउँदै गरेकाले ११ बजेदेखि ३ बजेसम्म बन्द हुन्छ भनेकाले ११ बज्नुअगाडि नै मुग्लिन कट्छु भनेर बिहानै हिँडेको, ३ घन्टा त नौबिसेकै जाममा बस्नु पर्यो, अब यहाँबाट जति चाँडो गए पनि फेरि मुग्लिनको जाममा बस्नुपर्छ । यो गर्मीको समयमा जामका कारण धेरै सास्ती खेप्नु परेको छ ।'
मुग्लिन–नारायणघाट सडकखण्डमा निर्माणको काम भइरहेका कारण बिहानको ११ बजेदेखि ३ बजेसम्म अनिवार्य सवारी बन्द गर्ने गरिएको छ । दिनभर जम्मा भएका सवारीका साधन पुनः सडक दुरावस्थाका कारण ठाँउठाँउमा रोकिँदै जानुपर्दा ४ घन्टामा पूरा हुने यात्रा गर्न १० देखि ११ घन्टासम्म लाग्ने गरेको छ ।
चीनलाई भारतसँग जोड्ने छोटो र सबैभन्दा नजिकको मुख्य व्यापारिक सडक मानिने मुग्लिन–नारायणघाट सडकखण्ड फराकिलो बनाउन अहिले निर्माणको काम भइरहेको छ । निर्माण कार्य निकै सुस्त र अव्यवस्थित हुँदा त्यसको प्रत्यक्ष मार यात्रुले खेप्नुपरेको छ । सुस्त गतिमा चलेको सडकको स्तरउन्नतिको काम कहिलेसम्म सकिने हो र यात्रुले कहिलेसम्म यस्तै कष्ट भोग्नु पर्ने हो भन्ने विषयमा कसैलाई जानकारी छैन ।
दैनिक ५ घन्टा मुग्लिन आसपासमा रोकिनु परे पनि कहिलेसम्म यसरी रोकिनुपर्ने हो र सडक कहिलेसम्म बनिसक्छ भन्ने बारेमा सवारी चालक पनि अनभिज्ञ छन् । लामो समयसम्म सडक बन्द हुँदा सवारी साधनको अव्यवस्थित लाइन लाग्ने र बाटो सुचारु हुने बित्तिकै पनि अव्यवस्थित पार्किङका कारण फेरि जाममा बस्नुपर्ने अवस्था आएको चालकको गुनासो छ ।
घन्टौंको जाममा बस्नु पर्दा सवारी चालक र यात्रामा निस्किएका यात्रु समस्यामा फस्ने गरेका छन् । सिमित खर्च लिएर हिँडेकालाई त झनै समस्या हुने गरेको छ । बाटोमा जाममा परेको बेलामा २० रुपैयाँको पानीलाई ५० रुपैयाँसम्म तिर्नुपरेको यात्रुको गुनासो छ ।

No comments:

Post a Comment