काठमाडौं । धेरै महिलालाई आफ्नो महिनावारी बन्द हुने अवस्थाका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको पाइन्छ ।
महिनावारी भइरहेका महिलामा लगातार छ महिनादेखि एक वर्षसम्म महिनावारी नभएमा बन्द हुने अवस्थामा पुगेको मानिन्छ ।
साधारणतः ४५ वर्षदेखि ५५ वर्षभित्र बन्द हुने भए पनि धूमपान र कुपोषणका कारण सो समयभन्दा अगावै पनि महिनावारी बन्द हुन सक्छ ।प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा ज्योति अग्रवाल प्राकृतिक तथा शारीरिक, विभिन्न रोग तथा कृत्रिम कारणले महिनावारी बन्द हुने बताउँछन् ।
उमेर पुगेका कारणले अण्डाशयको कार्यह्रास हुँदै जानु, प्रजनन प्रणालीमा गम्भीर सङ्क्रमण या अस्वाभाविक मासुको डल्ला बढ्नु र कुनै प्रकारको विकिरण वा डिम्ब विकास हुनमा बाधा परेमा पनि महिनावारी रोकिन सक्छ।
कुनै शल्यक्रिया गरी पाठेघर र डिम्बाशय निकालेमा पनि महिनावारी बन्द हुन सक्छ। डा ज्योतिका अनुसार महिनावारी बन्द हुँदा शारीरिक र मानसिक लक्षण देखिने गर्दछन्।
शारीरिक लक्षणमा अनुहार, घाँटी तातो हुने, राति पसिना आउने, निन्द्रा नलाग्ने, टाउको दुख्ने, यौनक्रियामा मन नलाग्ने, हातखुट्टाका जोर्नी दुख्ने, योनी सुक्खा हुने, सङ्क्रमण हुने, चिलाउने, पिसाब छिटोछिटो लाग्ने, रोक्न गाह्रो हुने, छाला सुक्खा हुने र शरीरमा केही हिँडेको जस्तो अनुभव हुनेजस्ता लक्षण देखा पर्दछन्।
झर्कने वा चिड्चिडाहट हुने, दिक्क लाग्ने, मन स्थिर नहुने, मन उदास हुने, स्मरणशक्ति कम हुनाका साथै एकाग्रता गर्न नसक्ने (भुल्ने बानी) र चिन्ता लाग्नेजस्ता मानसिक लक्षण देखा पर्दछन्।
यस्ता समस्या देखिएमा आराम लिने, धुम्रपान, मद्यपान नगर्ने, कफी, चिया, नुन र चिल्लो कम खाने, योगा, ध्यान गर्ने, चाख लाग्दा किताब पढ्ने, रमाइलो क्रियाकलापमा शारीरिक सक्रियतालाई निरन्तरता दिई राख्नुपर्ने चिकित्सकको सुझाव छ।
महिनावारी बन्द भएपछि केही महिलामा हाड कमजोर हुने, पिसाब रोक्न नसकिने, पाठेघर बाहिर आउने वा आङ खस्ने, मुटु रोग देखा पर्ने, दृष्टि कमजोर हुँदै जाने, तौल बढ्ने र कसैकसैलाई स्तन क्यान्सर पनि हुनसक्छ।
यस्ता समस्याबाट बच्न सागपात, माछा, मासु, दूध पोषण र क्याल्सियमयुक्त खानेकुरा खाने, धूमपान र मद्यपान नगर्ने, घाममा बस्ने, गरेमा हड्डी बलियो हुन्छ।
तल्लो पेटको मांशपेसीलाई खुम्च्याउने खालको व्यायाम गर्ने, बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने, गह्रौँखालका सामान नउठाउने र महिनाको एकपटक स्तन आफैँले जाँच गर्ने गर्नुपर्छ। सकेसम्म वर्षको एकपटक स्तनको एक्स–रे (मेनोग्राम) गरी चिकित्सकलाई देखाउने गरेमा यी समस्याबाट बच्न सकिन्छ। रासस
Friday, 6 May 2016
महिलाहरुमा किन बन्द हुन्छ महिनावारी, के-के खतरा हुन्छ ?
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment