Tuesday, 31 May 2016

शुक्लाका बाह्रसिंगा बर्दिया सारिँदै



  •     २ दिनसम्म पनि नियन्त्रणमा आएनन्
  •     जाल हालेर बाह्रसिंगा समातिने, सामान्य बेहोस बनाएर खोरमा लगिने
शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बाह्रसिंगा स्थानान्तरणको काम सुरु भएको छ । आइतबारदेखि प्राविधिकसहितको टोलीले बर्दिया निकुञ्ज सारिने बाह्रसिंगा नियन्त्रणमा लिन सुरु गरेको हो । तर, नियन्त्रण बाहिरै छन् ।
वन तथा भू–संरक्षण मन्त्रालयको २०७१ कार्तिकको निर्णयअनुसार शुक्लाबाट बर्दिया र चितवन सारिन थालिएको हो । यो वर्ष पहिलो चरणमा बर्दिया निकुञ्जमा ५ भाले र ५ पोथीसहित १० वटा स्थानान्तरण गरिने आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । बढीमा एक साताभित्र सारिसक्ने योजना छ ।

बाह्रसिंगा समात्नका लागि ६ हात्ती सँगै आरक्ष प्रशासन र राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन निकुञ्ज र वन्यजन्तु विभागका गरी ४० जना प्राविधिक खटिएका छन् । ‘यो वर्ष बर्दियामा मात्रै स्थानान्तरण गर्ने योजना छ,’ आरक्ष प्रमुख ढकालले भने । आइतबारदेखि खटिएको टोलीले दुई दिनमा एउटा पनि बाह्रसिंगा नियन्त्रणमा लिन नसकेको उनले बताए ।
प्राविधिकहरूको टोलीले जाल हालेर बाह्रसिंगा समात्ने र डाट प्रविधिद्वारा सामान्य बेहोस बनाएर खोरमा राखेर बर्दिया पुर्‍याउने छन् ।
शुक्लाबाट बर्दिया निकुञ्जको बघौरा फाँटामा स्थानान्तरण गरिने छ । ‘त्यहाँ पहिलेदेखि सयको हाराहारीमा बाह्रसिंगा छन्,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘शुक्लाबाट लगिएकालाई बर्दियाकै बाह्रसिंगामा मिसाइन्छ, यसले नश्ल सुधार पनि हुन्छ ।’
बर्दियामा लामो समयदेखि संख्या वृद्धि हुन नसक्दा लगिन थालिएको हो । वन तथा भू–संरक्षण मन्त्रालयले बर्दियासँगै चितवनमा पनि बाह्रसिंगा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । तर वर्षायाम सुरु हुन केही दिन मात्रै बाँकी रहेकाले आरक्षभित्र आउजाउ गर्न सकिँंदैन । त्यसैले अहिले बर्दियामा मात्रै स्थानान्तरणको तयारी भएको हो । ‘चितवनमा पनि भाले र पोथीसहित २५ बाह्रसिंगा स्थानान्तरण गर्नुपर्ने छ,’ ढकालले भने, ‘यो काम वर्षातपछि मात्रै सम्भव हुन्छ ।’

सम्भावित जोखिमबाट जोगाउन पनि वन्यजन्तुलाई एक ठाउँबाट अर्काे ठाउँमा स्थानान्तरण गरिराख्नुपर्छ । एक ठाउँमा महामारी वा कुनै प्रकोप फैलिएमा अर्काे ठाउँको जोगिन सक्छ । ‘एक ठाउँमा मात्र पाइने वन्यजन्तु महामारी आए वा विभिन्न रोगव्याधीले सखाप हुन सक्छन्,’ उनले भने, ‘त्यही भएर हरेक ठाउँमा अनुकुलता हेरेर सारिँदै आएको छ ।’ आरक्षको कुल क्षेत्रफल ३ सय ५ मध्ये ५४ वर्गकिलोमिटरमा शुक्लाफाँटा घाँसे मैदान फैलिएको छ ।

यो मैदान बाह्रसिंगाको मुख्य वासस्थान हो । गत वर्ष गरिएको गणनाअनुसार २ हजार ३ सयभन्दा बढी बाह्रसिंगा छन् । चितवनमा चोरीसिकार तथा मानवीय क्रियाकलापले बाह्रसिंगा १९६० को दशकमा लोप भएका थिए । बर्दियामा १९७६ मा १५ वटा स्थानान्तरण गरिएका थिए । ५ वर्षअघिको गणनामा १ सय ५ मात्र पुगेको छ ।

No comments:

Post a Comment