Tuesday, 10 May 2016

गुन्डा नाइके गणेश लामालाई फेरि…

ललितपुर, २८ वैशाख । व्यक्ति अपहरण गरी फिरौती लिएको अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका गुन्डा–नाइके गणेश लामाले सफाइ पाएका छन् ।
ललितपुर जिल्ला अदालतले सोमबार लामासहित अन्य दुई जनाविरुद्ध परेको शरीर बन्धक तथा अपहरण मुद्दामा फैसला गर्दै तीनै जनालाई सफाइ दिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले जाहेरीकर्ताको बयान र लिखित निवेदनमा घटना लेनदेनको मात्र भएको र कारोबार मिलिसकेको खुलेकाले तीनै जना दोषी ठहर नहुने फैसला गरेको छ ।
प्रहरीले गत साउनमा कैलाश बास्कोटा र विक्रम बास्कोटालाई नख्खुबाट अपहरण गरी लामाको पेरिस डाँडास्थित घरमा बन्धक बनाएको अभियोग लगाई मुद्दा हालेको थियो ।
त्यसयता फरार रहँदै आएका लामाले अदालतमा हाजिरै नभई सफाइ पाएका छन् । अदालतका स्रेस्तेदार बाबुराम दाहालले घटनामा पीडितले कारोबार मिलिसकेको र आफू अपहरणमा नपरेको लिखित निवेदन दिएका आधारमा अदालतले तीनै जनालाई सफाइ दिएको बताए । ‘पक्राउपुर्जी जारी गर्नु नपर्ने मुद्दा हो, केही प्रतिवादी अदालतको म्याद नाघेर फरार थिए’, उनले भने।
बास्कोटाद्वयले आफूहरूलाई नख्खुबाट मोटरसाइकलमा आएका ६ जनासहित गणेश लामा, विक्रमजित लामा र कान्छीमाया थिङले पेस्तोल देखाएर नियन्त्रणमा लिई गणेशको घरमा बन्धक बनाएको भन्दै गत साउन ३० गते प्रहरीमा उजुरी हालेका थिए ।
प्रहरीले घटनामा संलग्न आरोपमा विक्रमजित लामालाई पक्राउ गरी अदालत पेस गरेको थियो। ललितपुर अदालतमा असोज २४ गते भएको थुनछेक बहसमा विक्रमजितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको थियो । अन्य अभियुक्तका हकमा फरार घोषणा गर्दै देख्नासाथ पक्राउ गर्न आदेश जारी भएको थियो ।
dainiknepal

No comments:

Post a Comment