बैशाख ३०
फलेवास (पर्वत)। ठूलीपोखरी–३ की सुनिता परियारका घरमा परिवारका पाँचजना सदस्य र दुईवटा गाईभैँसी रहेका छन् । पाँच जनाको परिवार र दुईवटा गाईभैँसीलाई गरी दैनिक ६ गाग्रीसम्म पानी आवश्यक पर्छ, तर उहाँले एक गाग्री पानी घरसम्म ल्याई पु¥याउन २ घन्टा लाग्ने गर्छ ।
छ गाग्री पानी ल्याउँदा उहाँको पुरै दिन त्यसै सकिन्छ । अहिले स्थानीयस्तरमा महिलाको ज्याला रु ५५० भएकाले एक गाग्री पानीको करिब १०० रुपैयाँ पर्न जान्छ । एक गाग्रीमा १० देखि १५ लिटर जाने हुँदा एक लिटर पानीको १० रुपैयाँ पर्छ । परियार मात्रै होइन, ठूलीपोखरी गाविसका तीनवटा वडाका करिब ३०० परिवारले यसरी नै १० रुपैयाँ लिटर पर्ने पानी खाने गरेका छन् । उनीहरुलाई दुई घन्टामा एक गाग्री पानी ल्याउनभन्दा किनेर खान सस्तो पर्न जान्छ ।
ठूलीपोखरी गाविसका चोरकाटे, भन्ज्याङ, घोराचौर, ठूलीपोखरी, पैयुँस्वाँरा, रोहोटे लगायतका टोलमा पानीको हाहाकार हुँदा हिउँदका अधिकांश समय पानी ल्याउनमै बित्ने गरेको छ । घरमा केटाकेटी र बुढाबुढी भएकाले पानी बोक्नमा कमाउने उमेर समूहका महिला र पुरुष नै खट्ने गरेका छन् ।
“घरको अरू कुनै काम गर्न भ्याइँदैन”, सुनिता परियारले भन्नुभयो–“मङ्सिरदेखि जेठको अन्तिमसम्म यसैगरी दिन जान्छ ।” उहाँले अन्य महिनामा पनि खानेपानी ल्याउन भने १ घन्टा लगाएर खोरियापानीमै जानुपर्ने बाध्यता भएको बताउनुहुन्छ । “पानी मात्रै ओसार्दा दिन जान्छ”, स्थानीयवासी नीलकण्ठ लामिछानेले भन्नुभयो–“अरू कुनै काम गर्ने समय नै हुँदैन ।” अहिले गाउँका अधिकांश घरमा केटाकेटी, महिला र बुढाबुढी मात्रै छन् । “केटाकेटी र बुढाबुढीले पानी ल्याउन सक्दैनन्”, लामिछानेले भन्नुभयो–“आकाशे पानी आयो भने आकाशको भर, नत्र वर्षामा प्लास्टिक ट्याङ्कीमा राखेको पानी खानुपर्ने बाध्यता रहेको छ ।”
पानीको अभावका कारण घर वरिपरि रहेका ठूलाठूला बारीका गह्रासमेत बाँझै पल्टिएका छन् । “खानेपानी नहुँदा मुख भिजाउन समेत समस्या हुन्छ”, स्थानीय युगनाथ पौडेलले भन्नुभयो–“बारीमा हरियाली देख्न त असार साउन नै कुर्नुपर्छ ।” पानीको चरम समस्या भएपछि २०५१ सालमा १४ किलोमिटर टाढा रहेको आर्थर गाविसको टुनीखोलाबाट पानी ल्याएको भएपनि एक महिना पानी नआई योजना अलपत्र भएको पौडेलले बताउनुभयो । करिब डेढ करोड खर्च गरेर ल्याएको पानी गाउँसम्म आइपुग्दा हराएपछि स्थानीयवासी पानी खाने आश नै मारेर बसेका छन् ।
अहिले टुनिखोला आयोजनाका पाइप आर्थर र खौला गाविसका विभिन्न ठाउँमा बेवारिसे फालिएको छ । टुनीखोलामा भएको पानीभन्दा ठूलो पाइप राखेपछि यस्तो समस्या आएको प्राविधिक बताउँछन् । पछिल्लो समयमा जिल्लामा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले गाविसलाई पानी र सरसफाइयुक्त गाविस बनाउने भनेर काम गरेको भएपनि नाउँ मात्रैको ‘खुल्ला दिसामुक्त गाविस’ घोषणा ग¥यो तर पानी नै नभएपछि बनाएका शौचालयसमेत प्रयोगविहीन बनेका छन् ।
पश्चिम नेपाल परियोजना समेत ठूला आयोजना गर्न नसकिने भन्दै गाविसबाट उम्किने प्रयासमा रहेको छ । “६ वर्षदेखि पानी खुवाउने आशामा हामीलाई बेबकुफ बनायो”, स्थानीयवासी शिवलाल परियारले भन्नुभयो–“आशै–आशमा स्वर्गेवास भने जस्तो भयो ।”
पछिल्लो समयमा सबैतिरबाट पानी आउने आशा सकिएपछि स्थानीयवासी जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय पर्वतमा पुगेपछि अहिले रु दुई करोडको लागतमा लिफ्ट प्रणालीमा खानेपानी आयोजना सुरु गरिएको छ । ३ वडाका १०२ घरलाई लिफ्ट प्रणालीमा खानेपानी वितरण गर्नेगरी योजना सुरु गरिएको हो । आयोजनाको पर्वतका प्रजिअ झङ्क ढकालले हालै निरीक्षण पनि गर्नुभएको छ ।-न्यूज24नेपाल बाट
Thursday, 12 May 2016
एक गाग्री पानीको एकसय रुपैयाँ
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment