Wednesday, 1 June 2016

छिमेकी हुन त यस्तो

 वीरु नेपाली मजदुरी गरेर आफू र ६० वर्षकी दृष्टिविहिन आमाको छाक टार्नुहुन्थ्यो । तर आमाको एकमात्र सहारा उहाँ आफै सहाराविहीन हुनुभएको छ । मजदुरी गर्दागर्दै खुट्टामा गम्भीर चोट लागेपछि चार महिनादेखि थला पर्नुभएको छ ।
उपचार गर्ने पैसा नभएर अस्पतालमा छट्पटाइरहेका वीरुलाई उहाँका छिकेमीहरुले सहयोग गरेका छन् । दृष्टिविहिन आमाको सहारा आफ्नै गाउँका वीरु उपचारको लागी पैसा नभएर छट्पटाइरहेको थाहा पाएपछि  
  
छिमेकीले चन्दा संकलन गर्न थालेका हुन् । घुँडामा चोट लागेर थला परेका जाजरकोट भेरीमालिका नगरपालिका-३ सिमलगैरीका ३० वर्षका वीरुको उपचारका लागी उहाँका छिमेकीहरु जुटिरहेका छन् । 
जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि काठमाडौं लैजानको लागी चन्दा संकलन गरिएको एक छिमेकी जितबहादुर सुनारले बताउनुभयो ।
घाउ निको हुनुको साटो झन्झन् बल्झिँदै गएको छ । घुडाको हड्डी कुहिन थालेको छ । अलि ढिलो गरे क्यान्सर समेत हुन सक्ने चिकित्सकको भनाई छ । तर आर्थिक अभाव र काठमाडौं लगिदिने आफन्त कोही नहुँदा यतिबेला उहाँ जिल्ला अस्पताल जाजरकोटमा  छट्पटाई रहनुभएको छ । 
मजदुरी गरेर आफू र आमालाई पाल्दै आउनुभएका वीरु आफै थला परेपछि आमा छिमेकमा मागेर खान बाध्य हुनुहुन्छ । ‘परिवारमा आमा छोरा मात्र छन्, काठमाडौंसम्म जान गाडी भाडा र कुरुवा खर्चको लागी चन्दा उठाएका हौँ’ जितबहादुरले भन्नुभयो, पाँच हजार रुपैयाँ उठाएका छौँ, २०/२५ हजार रुपैयाँ भयो भने काठमाडौं लिएर जान्छौँ ।’
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंको सुष्माकोइराला मेमोरियल अस्पतालमा निःशुल्क अप्रेशनको ब्यवस्था मिलाइदिएको जिल्ला अस्पतालका डा. बोम बिसीले बताउनुभयो । ‘घुँडामा मासु प्रत्यारोपण गर्नुपर्ने अवस्था छ, सुरुमै हामीले जान सल्लाह दिएका हौँ तर अहिले सम्म गएका छैनन्’ डाक्टरले भन्नुभयो,  ‘घाउ पाकेर घुँडाको हड्डीसमेत कुहिन थालेको छ ।’

No comments:

Post a Comment