Friday, 15 April 2016

के तपाईँको कान सुसाउने, सिट्ठी बज्ने वा घण्टी बज्ने हुन्छ? यस्ता छन् अपत्यारिला कारण

कहिल्यै यस्तो अनुभव गर्नुभएको छ कि, तपाईँको कान बजिरहेको छ- कान आफैले सिट्ठी हालिरहेको छ, अनि ध्यान दिएर सुन्यो भने कान सुसाइराखेको छ! यदि यस्तो अनुभव गर्नुभएको छ भने तपाईँलाई ‘कर्णक्ष्वेद’ (Tinnitus) भएको हुन सक्छ।


तर नडराउनुहोस्, यो कुनै रोग होइन, यो त ५ जनामा १ जनालाई हुने साधारण समस्या हो। तर यसले अर्कै समस्याको सङ्केत चाहिँ गरेको हुन सक्छ, जस्तै- उमेरसँगैको श्रवणशक्तिमा ह्रास, कानको घाउ अथवा सञ्चारप्रणालीमा विकार।tinnitus picture 2
लक्षणहरू
बाहिरबाट कुनै आवाज नआउँदा पनि आफूले अर्कै आवाज सुनिरहेको जस्तो भान हुने कर्णक्ष्वेदको मूख्य लक्षण हो। यसलगायत कर्णक्ष्वेद हुँदा निम्न प्रकारका विचित्रका आवाजहरू सुन्न सकिन्छ:-


घण्टी बज्नु
घुरघुर गर्नु
टिँ…. गर्नु
थर्किएर आवाज सुनिनु
टिकटिक गर्नु
स्वाँस्वाँ गर्नु
यस्ता प्रेतावाजको ध्वनी मधुरो देखि लिएर चर्को र तीखो सम्म सुनिन सक्छ र यस्तो आवाज एउटा कान अथवा दुवै कानमा सुन्न सकिन्छ। कुनै बेला यो आवाज यति ठूलो हुन सक्छ कि यसले तपाईँको सुन्ने शक्तिमा बाधा पुर्याउन सक्छ, मतलब बाहिरको आवाज ध्यान दिएर सुन्न दिँदैन।Tinnitus picture
कर्णक्ष्वेद पनि दुई प्रकारका हुन्छन्ः


आत्मपूरक कर्णक्ष्वेद– आफूले मात्रै सुन्न सकिने खालको समस्यालाई ‘आत्मपूरक कर्णक्ष्वेद’ भनिन्छ। हाम्रो कानको बाह्य, मध्य र भित्री भागमा कुनै प्रकारको समस्या आएको छ भने यस्तो हुन सक्छ। यदि हाम्रो श्रवणस्नायूमा समस्या आएको छ भने पनि आत्मपूरक कर्णक्ष्वेद हुन सक्छ।


विषयपूरक कर्णक्ष्वेद– यदि कर्णक्ष्वेद भएको व्यक्तिलाई चिकित्सकले जाँच गर्दा त्यस चिकित्सकले पनि तपाईँको कानमा बजेको आवाज सुन्न सक्छ भने त्यस्तोलाई ‘विषयपूरक कर्णक्ष्वेद’ भनिन्छ। यो एकदमै दुर्लभ प्रकारको कर्णक्ष्वेद हो। रक्तनली, कानको मध्य भागमा भएको हाड अथवा मांशपेसीमा समस्या आएको छ भने विषयपूरक कर्णक्ष्वेद हुन सक्छ।
कारणहरू


अनेकौँ स्वास्थ्य अवस्थाहरूका कारणले पनि कर्णक्ष्वेद हुन सक्छ अथवा बढ्न सक्छ। प्रायजसो बेलामा यसको ठेट कारण पत्ता लगाउन गाह्रो पर्दछ।
तथापी, यसको भौतिक कारण भनेको हाम्रो कानभित्र हुने कोषको क्षय नै हो, जसलाई साधारण भाषामा ‘कानको जाली’ भनिन्छ। यो जालीमा सूक्ष्म र अतिसंवेदनशील रौँहरू हुन्छन्, जुन बाहिरबाट आएको आवाजको दवावसँगै चल्ने गर्दछ। यसको चलाईको कारण कानका कोषहरूबाट विद्युतीय सिग्नल पैदा हुन्छ र दिमागतर्फ लाग्दछ।

त्यसपछि हाम्रो दिमागले उक्त सिग्नललाई केलाइसकेपछि त्यसलाई ‘ध्वनी’ हो भनेर चिन्दछ। तर यदि कानको जालीमा भएका रौँहरूमा कुनैप्रकारले क्षति पुग्न गयो भने त्यसले नानाभाँती विद्युतीय सिग्नलहरू दिमागमा पठाउँदछ र ‘कर्णक्ष्वेद’ निम्त्याउँदछ।Tinnitus Physical reason

यसलगायत कर्णक्ष्वेदका अन्य कारणहरूमध्ये कानसम्बन्धी पुरानो समस्या, कानको स्नायुमा असर गरेको घाउ तथा चोटपटक आदि पर्दछन्।
अधिकांश व्यक्तिहरूमा यी निम्न कारणहरूले गर्दा कर्णक्ष्वेद हुन सक्दछ:-
उमेरसँगै श्रवणशक्तिमा ह्रास– यो त यथार्थ नै हो कि खस्किँदो उमेरसँगै कानको श्रवणशक्तिमा पनि ह्रास आउँदै जान्छ, विशेष गरी ६० वर्ष नाघिसकेपछि। यसरी उमेरसँगै व्यक्तिको श्रवणशक्तिमा ह्रास आउनाले पनि कर्णक्ष्वेद हुन सक्दछ।

चर्को आवाजको असर– कन्सर्टमा मुटु नै थर्किने गरी बजाइने चर्को आवाजले, वेल्डिङ्ग गर्दाको तीखो आवाजले, लामो समयसम्म चर्को आवाजमा गीत बजाउँदै कानमा इयरफोन लगाउनाले कानको जालीमा भएका स-साना रौँहरूमा क्षति पुग्न सक्दछ, जसको कारण ‘कर्णक्ष्वेद’ हुन सक्छ। छोटो समयसम्मको चर्को आवाजको असर धेरै बेरसम्म रहँदैन भने लामो समयसम्मको आवाजले सँधैको लागि कानको श्रवणशक्ति लैजान सक्छ।

कानको फोहोर– कानेगुजीले बाहिरबाट आएका फोहोरलाई रोक्दछ र ब्याक्टेरियाको सङ्क्रमणबाट बचाउँदछ। तर यदि कानमा अत्याधिक कानेगुजी जम्मा हुन थाल्यो भने त्यसलाई सजिलैसित सफा गर्न सकिँदैन र उल्टो कानको जालीमा बाधा पुर्याउन सक्छ। कर्णक्ष्वेद हुन सक्ने कारणमा अत्याधिक कानेगुजी पनि पर्दछ।


टाउको वा घाँटीमा लागेको चोट– कहिँ कतै दुर्घटनामा पर्दा तपाईँको टाउको अथवा घाँटीमा चोटपटक लागेको थियो भने त्यसले तपाईँको कानको भित्री भाग, स्नायु अथवा हाडलाई असर गरेको हुन सक्छ। त्यसैको कारण नै तपाईँलाई कर्णक्ष्वेद भएको हुन सक्छ। याद रहोस् कि यस्तो कारणबाट भएको कर्णक्ष्वेदले एउटा कानमा मात्रै आवाज दिने गर्दछ।
उच्च रक्तचाप– तनाव, मद्यपान, अधिक क्याफिनको सेवन तथा हाइपरटेन्सन जस्ता रक्तचाप बढाउने अवस्थाले गर्दा कर्णक्ष्वेदको लक्षणमा वृद्धि गराउँदै लैजान्छ।

औषधीको साइडइफेक्ट– विभिन्न प्रकारका एण्टिबायोटिक्स, क्यान्सर तथा रक्तचापका औषधीहरू, डिप्रेसनको औषधी लगायत अन्य पेनकिलरको कारणले पनि अधिकांशको कानमा विचित्रको अनि झिँझारलाग्दो आवाज निकाल्न सक्दछ। विशेष गरी साधारणभन्दा बढि डोजको सेवनले कर्णक्ष्वेद गराउने सम्भावना हुन्छ।

धुम्रपान– धुम्रपानले रक्तसञ्चार तथा स्वासप्रश्वास प्रणालीमा प्रत्यक्ष असर पुर्याउँदछ, जसको कारण रक्तचापमा वृद्धि भई शरीरभरीका रक्तनशाहरूमा दवाव बढ्न थाल्दछ र पहिल्यै देखि अलिअलि सुनिएको कर्णक्ष्वेदको आवाज झन् बढ्दै जान्छ। त्यसैले कानमा घण्टी बजेको बेलामा मन भुलाउन भनेर धुम्रपान गर्ने, मापसे गर्ने जस्ता मूर्ख काम नगर्नुहोला।
कर्णक्ष्वेदका असरहरू

कर्णक्ष्वेदले नि:सन्देह व्यक्तिको जीवनशैलीमा प्रतिकूल असर पार्दछ। तैपनि कर्णक्ष्वेद हुनेहरूमा निम्न प्रकारका थप समस्याहरू पनि आइलाग्न सक्छन्:-
आलश्यता
तनाव
अनिन्द्रा
दिमागलाई एकतृत बनाउन नसक्ने
स्मरण शक्तिमा ह्रास
डिप्रेसन
उच्च रक्तचाप

शरीरको आन्तरिक अङ्गमा आउने समस्या भएको कारणले गर्दा कर्णक्ष्वेदको घरेलु रोकथामका उपायहरू अपनाउन गाह्रो पर्दछ। त्यसैले यसको एउटै उपाय भनेको एकटपक चिकित्सकीय बाटो अपनाउनु हो। डाक्टरले तपाईँको कानमा के कारणले घण्टी बजेको छ भनेर अनेकौँ जाँचहरू गराउन सक्छन्- जस्तै रगत जाँच (रक्तनशामा समस्या बनाउने कुनै कारकतत्व छ या छैन भनी जाँच्न), रक्तचाप जाँच, कानको जाँच आदि।

No comments:

Post a Comment