Thursday, 28 April 2016

महिलामा लागेको यौनरोग यसरी थाहा पाउन सकिन्छ ?

– डा.सुपर केसी, छाला तथा यौनरोग विशेषज्ञ
नेपाली समाजमा यौनरोगका विषयमा अहिले पनि खुलेर कुरा गर्न लजाउने गरिन्छ । अझ महिलाहरू यौनरोगका विषयमा आफ्ना नजिकका आफन्तलाई पनि भन्न लजाउँछन् या डराउँछन् ।

यौनरोगलाई सहज रुपमा लिएर समयमा चिकित्सकको सल्लाह लिने वा घरपरिवारमा आफन्तसँग नलजाइ सरसल्लाह गरेमा यसबाट समयमा छुटकारा पाउन सकिन्छ । विशेष गरेर महिलामा हुने यौनसमस्यालाई लिएर दैनिक नेपाल डटकमका लागि हाम्रा सहकर्मी मनोज खतिवडाले काठमाडौं मोडेल हस्पिटल बागबजारका छाला तथा यौनरोग विशेषज्ञ डा.सुपर केसीसँग गरेको कुराकानीः
विशेष गरि कुनकुन यौनरोगहरू नेपाली महिलाहरूलाई बढी मात्रामा लाग्ने गरेका छन् ?

– बाहिरी देशहरूमा जस्तै नेपालमापनि सामान्यतया महिलाहरू प्रताडित भएका यौनरोगहरूमध्ये धातुरोग(गोनेरिया) पहिलो हो । नेपालको सन्दर्भमा ठूलो संख्याका महिलाहरू यस रोगबाट पीडित भएको पाइन्छ । यसबाहेकका अन्य यौनरोगहरू भिरिङ्गी, महिलाहरूमा विशेष रुपमा ट्राइकोमोनस किटाणुबाट लाग्ने ट्राइकोमोनस भेजेनाली, ढुसी(फङ्गस), भाइरसजन्य किटाणुबाट लाग्ने यौनरोगहरू र यौनाङ्गमा आउने मुसा(कन्डाइलोमेटा एक्युमेनेटा) जसलाई महिलाहरूको पाठेघरमा हुने क्यान्सरको प्रमुख कारकका रुपमा समेत लिइन्छ, बढी लाग्ने गरेको पाइन्छ । यी मध्येपनि धातुरोग(गोनेरिया) र ट्राइकोमोनस भेजेनाली बढीमात्रामा महिलालाई लाग्ने यौनरोगहरू हुन् ।

यौनरोगमा विशेषगरी के बिचार गर्नुपर्ने हुन्छ भने यदि आफ्ना यौनाङ्गहरूमा कुनै किसिमका घाउ, खटिरा, विमिरा इत्यादि आउन थालेभने, पिसाब अत्यन्त पोल्ने र यौनअङ्गबाट पिपजस्तो पदार्थ बग्न थाल्योभने तुरुन्त उचित उपचारका लागि स्वास्थ्य केन्द्र जानुपर्छ । माथि उल्लेखित लक्षणहरू नै यौनरोगका प्रारम्भिक लक्षणहरू हुन् ।

विश्वभरि नै महिलाहरूमा बढी मात्रामा देखापर्ने भनिएको गोनेरिया कस्तो प्रकारको यौनरोग हो ?
– गोनेरियालाई चलनचल्तिको भाषामा धातु रोगपनि भनिन्छ । नेसेरिया गोनेरी नामक व्याक्टेरियाको संक्रमणबाट यो रोग लाग्ने गर्छ । उक्त किटाणुको संक्रमण भएपछि पिसाब फेर्दा यौनाङ्गमा पोल्ने र रोगको चाप बढ्दै गएपछि पिपजस्तो पदार्थ यौनअङ्गबाट बग्न थाल्छ ।

त्यस्ले गर्दा भित्री बस्त्रहरू असाध्यै भिज्ने, च्यापच्यापी लागेजस्तो हुने गर्दछ । यसलाई समयमै उपचार नगरेको खण्डमा जोर्नीहरू दुख्ने, ढाड दुख्नेजस्ता लक्षणहरू देखा पर्न थाल्छन् । महिलाहरू सबैभन्दा बढी पीडित हुने गरेपनि यसको उपचार भने सजिलो छ । यसलाई निर्मुलपार्न यौनरोग विशेषज्ञको परामर्शमा सजिलै उपचार गर्न सकिन्छ । यौनअङ्गबाट बग्ने पिपजस्तो पदार्थलाई परीक्षण गरेर यसको उपचार गरिन्छ ।

नेपाली समाजमा यौनरोग प्रकोपको अवस्था कस्तो छ ?
– नेपाल खुल्ला समाजतर्फ उन्मुख हुँदै गएको छ । खुला हुँदै गएको सन्दर्भमा विवाहित या अविवाहित व्यक्ति, सहर अथवा नेपाली ग्रामीण समाजमा यौनरोग बढ्दै गएको पाइएको छ । यौनरोगपीडितहरूको संख्या बढ्नुका कारणहरूमध्ये मान्छेहरू यसप्रति सचेत हुँदै जानुपनि एउटा कारण हुनसक्छ । यद्यपि यौनरोगको प्रकोप गाउँ, सहर, विवाहित, अविवाहित सबैमा समान रुपमा बढिरहेकै छ ।

यौनरोग संक्रमित महिलाहरूमा देखिने साझा लक्षणहरू के–के हुन् ?
– यौनरोगमा विशेषगरी के बिचार गर्नुपर्ने हुन्छ भने यदि आफ्ना यौनाङ्गहरूमा कुनै किसिमका घाउ, खटिरा, विमिरा इत्यादि आउन थालेभने, पिसाब अत्यन्त पोल्ने र यौनअङ्गबाट पिपजस्तो पदार्थ बग्न थाल्योभने तुरुन्त उचित उपचारका लागि स्वास्थ्य केन्द्र जानुपर्छ । माथि उल्लेखित लक्षणहरू नै यौनरोगका प्रारम्भिक लक्षणहरू हुन् ।
नेपाली समाजमा यौनरोग लाग्ने प्रमुख कारणहरू के–के हुन् ?

– अन्य यौनरोगको प्रकोप उच्च रहेका देशहरूमा जस्तै न्यून स्वास्थ्य चेतना नेपाली समाजमा यौनरोग लाग्नुको प्रमुख कारण हो । सुरक्षित यौनसम्पर्कको अभ्यासपनि हाम्रो समाजमा न्यून नै छ । सुन्दा सामान्य लाग्ने तर यौनरोगको प्रमुख कारणहरूमध्ये कण्डमको सहज उपलब्धता नहुनुपनि हो । कतिपय अवस्थामा मान्छेहरू यौन सम्बन्धमा साहस देखाउने लहडलेपनि यौनरोगको प्रकोप बढीरहेको छ ।

यौनरोग लागिसकेपछि त्यसलाई लिएर महिलाहरूको कस्तो प्रतिक्रिया हुने गरेको छ ?
– यौनरोगसम्बन्धि महिला चिकित्सकको कमी र परम्परागत बुझाइको कारणले गर्दापनि अझै महिलाहरू खुलेर आफ्नो रोगको बारेमा बताउन नसक्ने अवस्था नेपाली समाजमा विद्यमान छ ।

तुलनात्मक रुपमा शहरिया महिलाहरू यौनसमस्या या रोगलाई लिएर अस्पतालसम्म आएपनि ग्रामीण समाजमा अझैपनि खुलेर आफ्नो यौनसम्बन्धि समस्या बताउन महिलाहरू असमर्थ नै हुनुहुन्छ । दैनिकनेपालबाट साभार |

No comments:

Post a Comment