Tuesday, 12 April 2016

गुरुङ समुदायको ट्होटे पर्व धुमधामका साथ मनाईयो

गुरुङ समुदायको महान पर्वको रुपमा रहेको ट्होटे पर्व यो वर्ष पनि कास्कीमा धुमधामका साथ मनाईएको छ । पोखरा र आसपासमा रहेका गुरुङ समुदायले मंगलबार पोखरामा झाँकी प्रर्दशन सहित नाचगान गर्दै ट्होटे पर्व मनाएका छन् ।


तमुधिँ कास्कीको आयोजनामा मनाईएको ट्होटे पर्वका अवसरमा पुरुषहरु भाँग्रा र कछाड तथा महिलाहरु छिट्को गुन्यु चोली र घलेकमा सजिएर नाच गान तथा बाजा गाजा सहितको झाँकीमा सहभागी भएका थिए । झाँकी पोखरा बिरौटा चोकबाट शुरु भई एअरपोट , पृथ्वीचोक नयाँ बजार हुदै तमु धी, नेपालको कार्यालयमा पुगी टुङिगएको थियो ।


गुरुङ भाषामा ‘ट्हो’ भनेको गाँउ, र ‘टे’ भनेको लखेट्नु, भन्ने अर्थ लाग्ने भएकोले यसलाई ‘ट्होटे’ भनिन्छ । पहाडी भेकमा बसोबास गर्दै आएका गुरुङ समुदायले परापूर्वकालमा गाँउ बस्तीमा विभिन्न किसिमका अदृश्य शक्तिहरु
भूतप्रेत मसानले दुख दिने भएकोले गाउँ बस्तीलाई ती शक्तिहरुबाट मुक्ति दिलाउनको लागि ट्होटे पर्व मनाउने गरेको जनश्रुति छ ।

त्यस्ता अदृश्य शक्ति र वनका जनावरहरुले गाउँका मानिसहरुका साथै घरपालुवा जनावार र खेतीपातीमा आक्रमण हुन थालेपछि त्यसलाई लखेट्न विभिन्न हातहतियारहरु लिएर चर्को आवाजमा बाजाका साथ होहल्ला गर्दै भूतप्रेत र बैरीहरुलाई गाउँको सीमाना कटाउने चलन छ ।
यसरी भूतप्रेत धपाउँदा गाउँमा रोगव्याधी नआउने, चोरी डकैती लगायतका घटनाहरु नघट्ने जन विश्वास रहेको पाईन्छ ।

परम्परागत रुपमा भुत प्रेत भगाउने विश्वासका साथ मनाउने पर्व फेरिदो समय परिस्थिति अनुसार सम्पूर्ण जातजातिका बैरीहरुलाई भगाउनका लागि मनाउन थालिएको तमु धिं नेपालका अध्यक्ष कर्मा तमुस्योले बताउनुभयो ।

ट्होटे पर्व साउन र चैत महिनामा गरि बर्षको दुई पटक मनाउने परम्परा रहेको छ । पर्वको अवसरमा विभिन्न तमु समाज र संगठनहरुले झाँकी, नाचगान, भेषभुषा प्रदर्शन गरेका थिए भने उत्कृष्ट सहभागी समूहलाई पुरस्कृत समेत गरिएको थियो ।

No comments:

Post a Comment