Monday, 18 April 2016

हातहतियार बनाउने मेशिनसहित कैलालीमा पूर्व माओवादी लडाकु पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले अवैध रुपमा हातहतियार बनाउने मेशिन सहित मसुरिया ईन्द्रपुर बस्ने पूर्व माओवादी लडाकु बाबुराम विकलाई पक्राउ गरेको छ ।

बढी आपराधिक गतिविधि हुने मसुरियामा प्रहरीले पहिलदेखि नै निगरानी बढाउदै आएको थियो । आफ्नै घरमा अवैध रुपमा हातहतियार निर्माण गरिरहेको सुचनाका आधारमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।


पक्राउ गरिएको सामग्रीहरुमा हातहतियार निर्माण गर्ने मेशिन थान १, हातहतियार निर्माण गर्ने पुस्तक थान १, एस.एल.आर. राईफलको म्याग्जिन थान १, ३०३ राईफलको म्याग्जिन थान १ र गोली ५ राउण्ड, ७७ पेस्तोलको म्याग्जिन थान १, नट कटुवा पेस्तोल थान २, भरुवा बन्दुकको नाल थान ३, सानो हतियारमा प्रयोग हुने गोली ५ राउण्ड, सर्टगन थान १, भरुवा बन्दुकको तयारी अवस्थामा रहेको कुन्दा थान ३ लगायत हतियार निर्माण तथा मर्मतमा प्रयोग हुने किलाकाटी, खाँचा, पेस्तोल फ्रेम रहेको जानकारी पनि प्रहरी उपरीक्षक विष्टले दिनुभयो ।

तत्कालीन माओवादी लडाकु समेत रहेका विकले मुलुक शान्ति प्रक्रियामा आएपछि कैलालीको मसुरियामा रहेको माओवादीको तलबन्द शिविरबाट सो मेशिन आफुसंगै ल्याएर गाउँघरमा साना हातहतियारहरु मर्मत गर्ने कार्य गर्दै आईरहेको बताए । उनले आफु माओवादीमा रहदा प्राविधिक फाँटमा रहेको र त्यहि हतियार बनाउने तालिम लिएको समेत बताए ।

खुला सीमाका कारण साना हातहतियारहरु भित्रिन सक्ने भन्दै प्रहरीले सीमामा कडाईका साथ चेकजाचँ समेत भइरहेको बताएको छ ।

No comments:

Post a Comment