Sunday, 17 April 2016

भूकम्पले जापानपछि इक्वेडरमा तहसनहस, मर्नेको संख्या ७७ नाघ्यो, उद्धार जारी

क्वेटो । केही दिनयता विभिन्न ठाउँमा शक्तिशाली भूकम्पहरु गइरहेका छन् । पछिल्लो समय शनिबार मध्यरात इक्वेडरमा पनि शक्तिशाली भूकम्प आएको छ । इक्वेडरमा शनिवार राती ११ बजे ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको थियो । दुई दिनअघि मात्रै जापानमा एक दिनको अन्तरमा ठूला भूकम्प गएका छन् ।


बारम्बार भूकम्प आएपछि भौतिक क्षति कम हुने भनिएको जापानमा अहिलेको भूकम्पले थुप्रै भवनहरु भत्किनुका साथै दर्जनौं सडक चिरिएका छन् । जापानमा ६.४ रेक्टर स्केलको भूकम्प गएको २४ घण्टा नबित्दै ७.१ रेक्टरको अर्को शक्तिशाली भूकम्पले थप क्षति पुर्याएको हो । भूकम्पपछि पराकम्प आउने क्रम पनि जारी रहेपछि जापानी नागरिकहरु खुला ठाउँमा रात कटाइरहेका छन् ।

जापानमा शक्तिशाली भूकम्पको उद्दारसमेत भइनसकेको अवस्थामा इक्वेडरमा त्यो भन्दा ठूलो भूकम्प आएको हो । गत वैशाखमा नेपालमा पनि ७.८ रेक्टरस्केलकै भूकम्प गएको थियो । गोरखाको बारपाक केन्द्र भएर आएको भूकम्पले ८ हजार भन्दा बढीको मृत्यु हुनुका साथै हजारौं घाइते भएका छन् भने लाखौं घरहरु ध्वस्त भएका थिए ।
इक्वेडरमा पनि सोही मापनकै भूकम्पले ठूलो क्षति पुर्याएको छ । भूकम्पले अहिलेसम्म ७७ जनाको मृत्यु भएको छ भने हजारौं बेपत्ता भएका छन् ।

गएरातीदेखि नै उद्धार कार्य जारी राखिएको छ ।
इक्वेडरमा भूकम्पपपछि सुनामीको खतरा रहेको भन्दै सरकारले सतर्कता अपनाएको छ । भूकम्पको केन्द्र म्युजेन सहरबाट २७ किलोमिटर दक्षिण पूर्वमा थियो । इक्वेडरमा सन् १९७९ पछिको सबैभन्दा ठूलो भूकम्प हो । भूकम्पले मान्टा, पोर्तोविज तथा गुआक्वील सहरमा सबै भन्दा बढी क्षति पुर्याएको छ । भूकम्पका कारण मान्टा, पोर्तोविज तथा गुआक्वीलमा सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ ।


इक्वेडरको राजधानी क्वेटोमा केही भवनहरु भत्किएका छन् । राजधानीस्थित विमानस्थल पनि क्षति पुर्याएको छ । भूकम्पका कारण विमानस्थलसमेत बन्द गरिएको छ । इक्वेडरका राष्ट्रपति राफेल कोरियाले देशवासीलाई अपिल गर्दै संकटपूर्ण यो अवस्थामा सरकारलाई साथ दिन आग्रह गरेका छन् ।
भूकम्पले गर्दा देशभर विजुली तथा मोबाइल सर्भिससमेत बन्द भएका छन् । भूकम्पपछि ५.६ रेक्टरको थुप्रै परकम्पनहरु आएका छन् । सहरका अधिकांश बासिन्दा खुला ठाउँमा बसिरहेका छन् । (एजेन्सी)

No comments:

Post a Comment