इस्लामाबाः आइतबार दक्षिणी एसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। भूकम्पमा परी अफगानिस्तानमा पाँच र पाकिस्तानमा एक व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भूकम्पको कम्पन कम्तीमा चारवटा देशमा महसुस गरिएको थियो ।
उत्तरपूर्वी अफगानिस्तानमा केन्द्रविन्दु बनाएर ६.६ रिक्टर स्केलको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । भूकम्प स्थानीय समयानुसार आइतबार अपराह्न २:५८ बजे आएको थियो ।
उत्तरपश्चिम अफगानिस्तानको खैवर पख्तुनख्वा प्रान्तमा पाँच व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप निकायका अधिकारीले जानकारी दिएका छन् । उक्त प्रान्तमा कम्तीमा २० वटा भवनमा क्षति भएको छ ।
पाकिस्तानको पहाडी इलाका गिलगित-बाल्तीस्तानमा पत्थर खसेर एक व्यक्तिको मृत्यु भएको एक स्थानीयलाई उद्धृत गरी एएफपी समाचार समितिले जानकारी दिएको छ ।
यो भूकम्पको कम्पन अफगानिस्तानको राजधानी काबुलबाट २८२ किलोमिटर दक्षिणमा र पाकिस्तानको राजधानी इस्लामावादमा केही सेकेन्डसम्म महसुस गरिएको थियो । ती स्थानमा भवन हल्लिएका र यसबाट भौतिक क्षति पनि पुगेको बताइएको छ ।
त्यसैगरी भारत अधिनस्थ कास्मिरमा पनि व्यक्तिहरु घर छोडी भागेका जनाइएको छ । उत्तरी अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने ताजकिस्तानको राजधानी डुसान्बेमा कम्पन महसुस गरिएको तर त्यहाँबाट क्षतिको कुनै विवरण प्राप्त नभएको बताइएको छ ।
पाकिस्तानको उत्तरपश्चिम सहर पेसाबरका अधिकारीहरुका अनुसार पाकिस्तानमा यस भूकम्पबाट घाइते भएका २८ व्यक्तिलाई सरकारद्वारा सञ्चालित अस्पतालमा ल्याइएको छ ।
पेसावरका प्रान्तीय प्रकोप व्यवस्थानका एक अधिकारीका अनुसार स्वाट बुनाइर माथिल्लो दिर जिल्लामा पनि यस भूकम्पबाट अन्य १२ जना व्यक्ति घाइते भएका छन् ।
भूकम्पको धक्का ताजिकिस्तानमा पनि महसुुस गरिएको थियो । तर त्यहाँबाट भने क्षतिको विवरण अएको छैन । यसले खासगरी हिमालयन हिन्दकुश क्षेत्रलाई बढी हल्लाएको भौगार्भिक सर्वेक्षण संस्थाहरुले जनाएका छन् ।
गत अक्टोबरमा पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानलाई केन्द्रविन्दु बनाएर गएको ७.५ रिक्टर स्केलको भूकम्पबाट दुवै देशमा गरी करिब ४०० व्यक्तिको मृत्यु भएको थियो । रासस÷एएफपी
annapurnapost
No comments:
Post a Comment