Tuesday, 12 April 2016

ताप्लेजुङमा गर्भपतन गराउने महिलाहरूकाे संख्या बढ्दै

ताप्लेजुङ / कानुनी रुपमा १२ साता सम्मको गर्भपतन गर्न पाउने व्यवस्था भए पछि ताप्लेजुङमा सुरक्षित गर्भपतन गराउनेको संख्या दिनानुदिन बढ्दै गएको छ । नेपालको वर्तमान कानुन तथा ऐेनले तिन महिना अर्थात १२ हप्ता सम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको हो ।

जिल्ला स्वास्थ्य कार्यलयको एक तथ्यांक अनुसार पछिल्लो छ महिनाको अवधिमा दुई सय ३८ जना महिलाले गर्भपतन गराएका छन । उक्त संख्या चालु आर्थिक वर्षको साउन देखि पुस मसान्तसम्मको हो । यस अवधिमा गर्भपतन गराउने मध्य २० वर्ष भन्दा माथीको उमेरका दुई सय १८ र २० वर्ष भन्दा मुनिका २० जना रहेको बताईएको छ ।

गत आर्थिक वर्षमा तीन सय ७४ जना महिलाले गर्भपतन गराएका थिए । ति मध्य तीन सय ४३ जना २० वर्ष माथिका र ३१ जना २० वर्ष मुनिका रहेका छन् । कार्यलयका अनुसार गतवर्ष जिल्ला अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउने महिला मध्य दुई सय २७ जनाले पिल्स, डिपो, जस्ता छोटो समयको परिवारनियोजनका साधन प्रयोग गरेका थिए ।

यस्तै लामो समयका लागि प्रयोग गरिने परिवारनियोजनका साधन इम्प्लान्ट र आइयुसिडी सेवा लिनेको संख्या ३२ रहेको जनाईएको छ । कानुनी रुपमा नै सुरक्षित गर्भपतन गराउन पाउने व्यवस्था गरिएपछि सुरक्षित गर्भपतन गराउने महिलाको संख्या केही वर्षयता वर्षेनी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

न्यून चेतनास्तर तथा असुरक्षित यौनसम्पर्कका कारण अनिश्चित गर्भधारण गरेका महिलाहरुले गर्भपतन गर्ने गरेको बताइएको छ । ताप्लेजुङमा जिल्ला अस्पताल मात्रै कानुनीरुपमा गर्भपतन गराउने आधिकारिक संस्थाका रुपमा मान्यता पाएको संस्था हो तर कतिपय किशोरीहरुले जिल्लामा रहेका निजी क्लिनिक तथा मेडिकलहरुमा समेत लुकिछिपी अवैध रुपमा असुरक्षित गर्भपतन गराउने गरेको बताइएको छ ।

वैधानिक तथा मान्यता प्राप्त स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउन पाइने विषयको जानकारी उनीहरुमा हुँदाहुँदै पनि बेइज्जती हुने डरले असुरक्षित र अवैध गर्भपतन गर्ने गरेको बताइन्छ ।

यसरी जिल्ला अस्पतालमा सुरक्षित र वैधानिक गर्भपतन गराउनेले सस्तो शुल्कमा सेवा लिएका हुन्छन् भने निजी क्लिनिक तथा मेडिकलहरुमा महँगो शुल्क तिरेर गर्भपतन गराउने गरेको बताइएको छ ।
Purbali बात

No comments:

Post a Comment