बैशाख १४
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माण र विकासको सङ्कल्पमा एकजुट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याएका छन् ।
न्यूज ट्वेन्टीफोर टेलिभिजनको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, 'अप्ठ्यारो परिस्थितिमा समेत एकताबद्ध भएर एकसाथ परिस्थितिको सामना गरेर सहयोग पुर्याएकामा नेपाली जनताप्रति धन्यवाद भन्न चाहन्छु ।”
देशलाई विकास र समृद्धिको दिशातर्फ उन्मुख गराउन आफूले अहोरात्र खटेर काम गरिरहेको ओलीले बताए । 'म कुरा प्रतियोगितामा होइन, काम प्रतियोगितामा विश्वास गर्छु, २४ घन्टामा एक पटक मात्र खाना खाएर केही घन्टामात्र आराम गरि काम गर्दै आएको छु', उनले भने ।
देशको रक्षा, विकास र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले अर्जुनदृष्टिका साथ काम गरिरहेको प्रमले बताए । ओलीले भूकम्पले ठूलो विध्वङ्स पारेकाले पूर्णरुपमा काम सम्पन्न गर्न समय लाग्ने भएपनि आगामी असारसम्ममा सबै नागरिकलाई छानामुनी ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
आर्थिक उन्नतिका लागि पूर्वाधार, सडक, केवलकार, हवाई यातायात र सञ्चारको विकास गरी मुलुकलाई समृद्धितर्फ अग्रसर गराउने प्रयास भइरहेको बताउँदै उनले नेपाली सञ्चारजगत्ले सञ्चार क्षेत्रमा मात्र होइन, सामाजिक क्षेत्र र राजनीतिक प्रणालीमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरे ।
समाजका सबै समुदाय, तह र तप्कालाई समेटेर सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बताउँदै उनले मुलुकलाई प्रगतिको बाटोमा अगाडि लैजाने बाटोमा जति नै तँगारो हालेपनि आफूले विकास र समृद्धिका लागि जस्तोसुकै वाधा व्यवधानलाई छिचोलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा टेलिभिजनले साहित्य, खेलकुद, कृषि, समाजसेवा पर्वतारोहणलगायत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सात जनालाई सम्मान गरेको थियो ।
- अन्नपूर्ण पोस्ट्
No comments:
Post a Comment