Saturday, 30 April 2016

पुनर्निर्माण ढिलाई हुँदा संयुक्त राष्ट्रसंघ असन्तुष्ट


काठमाडौं: नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका नायब महासचिव जान इलिएस्सनले पुनर्निर्माण प्रक्रियाले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग शनिबार भएको भेटमा नायब महासचिव इलिएस्सनले भूकम्प गएको एक वर्षसम्म पनि पुनर्निर्माण प्रक्रिया अघि नबढेकोप्रति चासो राखेका थिए। इलिएस्सन राष्ट्रसंघीय महासचिव बान की मुनपछिका दोस्रो बरीयताका राष्ट्रसंघीय उच्च अधिकारी हुन्।
भेटमा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलका अनुसार परराष्ट्रमन्त्री थापाले संविधान निर्माणान केन्द्रित हुनुपर्दा एवं संविधान जारी भएपछिको अघोषित नाकाबन्दीले निम्त्याएको समस्याका कारण सरकारले पुनर्निर्माण अघि बढाउन नसकेको बताएका थिए।
‘पुनर्निर्माण प्रक्रियालाई तीव्रता दिन सरकार प्रतिबद्ध छ। अब पुनर्निर्माणको काम अघि बढ्नेछ’, मन्त्री थापाले भने। नायब महासचिव इलिएस्सनले नेपालले पुनर्निर्माण प्रक्रियालाई गति दिएमा अझै पनि अन्तर्राष्ट्रिय तहबाट सहायता आउन सक्ने बताएका थिए।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री थापासँग इलिएस्सनले नेपालको राजनीतिक घटनाक्रमबारे पनि चासो राखेका थिए। थापाले लोकतान्त्रिक विधिअनुसार दुई तिहाइ सभासद्को बहुमतले संविधानसभाबाट समावेशी र प्रगतिशील संविधान जारी भएको बताए।
उनले संविधानको पहिलो संशोधनबाटै आन्दोलनरत मधेसी दलका गुनासा सम्बोधन भइसकेको बताए। ‘सीमांकनका विषयमा रहेको विवाद पनि संविधानको परिधिभित्र रहेर संवादकै माध्यमबाटै समाधान गरिनेछ’, थापाले भेटमा भने।
नयाँ संविधानले नेपालका सबै क्षेत्रको आवाज समेटेको उनले बताए। ‘अझै पनि मधेसी दलका गुनासा छन् भने वार्ता र संवादका माध्यमबाट ती गुनासा सम्बोधन गरिनेछ। मेरो नेतृत्वमा रहेको उच्चस्तरीय समितिले मधेसी दलसँग चाँडै वार्ता गर्ने तयारी गरिरहेको छ’, थापाले भनेका थिए।
नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा निरन्तर पुर्याइरहेको योगदानका लागि नायब महासचिव इलिएस्सनले प्रशंसा गरे। दिगो विकासका लक्ष्यलाई नेपालको राष्ट्रिय योजनासँग एकताबद्ध गराउन भइरहेको प्रयासको पनि उनले सराहना गरे।
नायब महासचिव इलिएस्सनले टर्कीमा आउँदो मे २३—२४ मा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानवीय शिखर सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता होस् भन्ने चाहना व्यक्त गरेका थिए।उनले भूकम्पले नेपाललाई सिकाएको पाठ अन्य मुलुकका लागि पनि महत्वपूर्ण हुने औंल्याएका थिए।
परराष्ट्र अधिकारीका अनुसार सम्मेलनमा नेपालबाट प्रधानमन्त्रीस्तरमै सहभागिता जनाउने या परराष्ट्रमन्त्रीको तहमा सहभागिता जनाउने भन्ने टुंगो लागिसकेको छैन।प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले प्रधानमन्त्री उक्त सम्मेलनमा सहभागी नहुने सम्भावना धेरै रहेको बताए। ‘सम्मेलनमा परराष्ट्रमन्त्रीको तहमा सहभागिता हुने सम्भावना छ’, खनालले अन्नपूर्णसँग भने।
शनिबार बिहान ११ बजे टर्किस एयरलाइन्सको विमानबाट ६ सदस्यीय राष्ट्रसंघीय टोलीका साथ काठमाडौं उत्रेका नायब महासचिव इलिएस्सनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग अलग-अलग भेट्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीलाई भेटी राष्ट्रसंघीय नायब महासचिव इलिएस्सनले संयुक्त राष्ट्रसंघीय मानवीय शिखर सम्मेलनमा सहभागी भइदिन निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्।
इलिएस्सन नेतृत्वको टोली आइतबार सिन्धुपाल्चोकको चौतारा पुगी भूकम्प प्रभावित जनतासँग भेट्ने कार्यक्रम छ। इलिएस्सनले सोमबार ललितपुरस्थित बुङ्मतीमा भूकम्प प्रभावित जनतासँग अन्तरक्रिया गर्नेछन्।
अन्नपूर्ण पोस्ट बाट साभार

No comments:

Post a Comment