Saturday, 9 April 2016

गड्डाचौकी हुँदै एकैदिन किन भित्रिए २५ हजार भारतीय ?

कञ्चनपुर, २८ चैत । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै शनिबार २५ हजार भन्दा बढी भारतीय दर्शनार्थी भित्रिएका छन् ।
अध्यागमन कार्यालय गड्डाचौकीका अध्यागमन अधिकृत पदमराज भट्टका अनुसार पूर्णागिरि मेलाका अवसरमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ बाबाको दर्शन गर्न एकै दिन यति बढी भारतीय दर्शनार्थी भित्रिएका हुन् ।
“फागुन महिनादेखि सिद्धबाबाको दर्शनका लागि भारतीय दर्शनार्थी आउने गरेको भए पनि विधिवत् रुपमा शुक्रबारदेखि सुरु भएको मेलाका लागि शनिबार बढी भारतीय दर्शनार्थी भित्रिएका छन्” – अध्यागमन अधिकृत भट्टले भन्नुभयो ।
दर्शनार्थीका लागि अध्यागमन कार्यालय परिसरमा पिउने पानीको समेत व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
मेलाका कारण सीमावर्ती बजारसँगै महेन्द्रनगर बजारमा चहलपहलमा वृद्धि भएको छ । भारतको उत्तराखण्डको पूर्णागिरिमा लागेको तीन महिने मेलाका कारण यहाँका बजारमा चहलपहलसँगै कारोबारमा समेत वृद्धि भएको छ ।
पूर्णागिरिको दर्शनपछि यहाँको ब्रह्मदेव र महेन्द्रनगरमा रहेको सिद्धबाबा मन्दिरको अनिवार्य दर्शन गर्नुपर्ने परम्परागत चलन भएका कारण यहाँँ दैनिक भारत र नेपालका विभिन्न क्षेत्रबाट सिद्धनाथ बाबाको दर्शन गर्न हजारौँको सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् ।
सिद्धबाबाको दर्शन गरे मनोवाञ्छित फल प्राप्त हुने भएकाले भारतको इलाहावादबाट पूर्णागिरिको दर्शन पछि पैदल यहाँ पुगेको सञ्जय गुप्ताले बताउनुभयो ।
फागुन महिनादेखि जेठ मसान्तसम्म यहाँ मेला लाग्ने गरेको छ । मेला अवधिका लागि मन्दिर व्यवस्थापन समिति महेन्द्रनगर र ब्रह्मदेवका तर्फबाट निःशुल्क खानेपानी तथा आवासगृहको व्यवस्था मिलाइएको छ । रासस

No comments:

Post a Comment