Friday, 15 April 2016

थाई युवतीसँग बिहे गरेर तामाङले विश्वभर सुरु गरे यस्तो धन्दा

काठमाडौं, ३ वैशाख । बैंककमा बसेर एक नेपालीले अर्बौँको ‘आइस ड्रग’ तस्करी गर्दै आएको खुलेको छ । धादिङ घर भएका धर्म पाख्रिन तामाङले म्यानमारबाट एम्फेटाइमान नामक महँगो लागुऔषधको विश्वभर तस्करी सञ्जाल सञ्चालन गर्दै आएका हुन् ।

तामाङका दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ । धादिङ सत्यदेवी घर भएका नेत्र गुरुङ र चित्र तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले ३० चैतमा पक्राउ गरेको हो ।

नयाँ वर्षका लागि भनेर उनीहरू ३ सय २ ग्राम आइस ड्रग लिएर नेपाल आएका थिए । सो लागुऔषध ९० लाख ६० हजार रुपैयाँबराबरको भएको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का प्रमुख डिआइजी जयबहादुर चन्दले बताए ।

उनीहरूले पटक–पटक म्यानमारबाट फिलिपिन्समा आइस ड्रग तस्करी गरेको प्रहरीले जनाएको छ ।

‘धर्म तामाङले फिलिपिन्सदेखि अस्ट्रेलियासम्म लागुऔषध तस्करी सञ्चालन गर्दै आएको खुलेको छ’, ब्युरोका प्रमुख डिआइजी चन्दले भने, ‘दर्जनौँ नेपाली युवा–युवतीलाई भरियाका रूपमा प्रयोग गरेर उनले तस्करीको ठूलो सञ्जाल सञ्चालन गर्दै आएका थिए ।’

नेपालमा बसेर धर्मका भाइ पूर्ण पाख्रिनले उनलाई सहयोग गर्दै आएका थिए । पूर्ण भने प्रहरीले पिछा गरेको थाहा पाएर भाग्न सफल भएका छन् ।
प्रहरीले पक्राउ गरेका चित्र तामाङ र नेत्र गुरुङ लागुऔषध तस्करीको सहयोगी मात्र नभई धर्म तामाङका आफन्त पनि हुन् ।

धर्मको विशेष सहयोगी चित्र लागुऔषध र पैसा ओसारपसारमा सक्रिय थिए । बैंककबाट फर्कने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
२९ चैतमा विमानस्थलबाट पिछा गरी प्रहरीले उनीहरूलाई ३० चैतमा पक्राउ गरेको हो । खेलौना तथा सुटकेसको डन्डीमा लुकाएर उनीहरूले लागुऔषध नेपाल ल्याएका थिए ।

गत जनवरीमा धर्मकै समूहले करिब डेढ अर्ब नेपाली रुपैयाँबराबरको आइस ड्रग अस्ट्रेलियामा तस्करी गरेको थियो ।

फिलिपिन्समा त ठूलो मात्रामा उनले तस्करी गर्दै आएको प्रहरीले जनाएको छ । लागुऔषध तस्करीमा उनी अन्तर्राष्ट्रिय माफिया नै भइसकेको डिआइजी चन्दले बताए ।

थाई युवतीसँग बिहे गरेर बसेका उनको परिवार र पूरै आफन्त नै यस्तो धन्दामा संलग्न रहेको प्रहरी आशंका छ ।- अनलाइन साझा खबर

No comments:

Post a Comment