Wednesday, 4 May 2016

काँग्रेसले ओली सरकार परिवर्तनका कारणहरु दियो, एनसेलमा कर नउठ्नुमा पनि प्रधानमन्त्रीलाई दोष

बैशाख २२
काठमाडौं। एनसेलको स्वामित्व हस्तान्त्रणमा कर छली भएको विषयमा अब संसदमा समेत छलफल सुरु भएको छ। केपी ओली नेतृत्वको सरकार असफल हुनुका थुप्रै कारण बताएको काँग्रेसले त्यसमध्ये एउटा विषय एनसेल करको विषय समेत बताएको छ।
काँग्रेस सभासद रामहरी खतिवडाले दुर सञ्चार सेवा प्रदायक एनसेलमा कर नउठ्नुमा समेत प्रधानमन्त्रीको असफलता देखाउँछन्। ‘एनसेलवाला कर किन तिर्दैनौँभन्दा हाम्रो त प्रधानमन्त्रीसँग घाँटी जोडिएको छ भन्छन्,’ खतिवडाले संसदमा भने।

बुधवारै सार्वजनिक लेखा समितिको बैठकमा काँग्रेस सभासद धनराज गुरुङले कर नतिर्ने हो भने एनसेलमाथि प्रतिवन्ध लगाउनुपर्ने बताए। उनले भने, एनसेलले मुलुकलाई तिर्नु पर्ने कर नतिर्ने हो भने एनसेल माथी नै प्रतिबन्ध लगाउन सरकारलाई निर्देशन दिनुपर्छ।

उता केही दिन अघि पूर्व अर्थमन्त्री समेत रहेका काँग्रेस नेता डा. रामशरण महतले समेत एनसेलबाट कर लिनु पर्ने बताएका थिए। उनले टि्वटरमार्फत एनसेललाई कर तिराउन ठूला करदाता कार्यालयले सुरु गरेको प्रक्रियाप्रति आफ्नो समर्थन भएको बताएका थिए।
अर्को एउटा ट्विटमा उनले कम्पनीको स्वामित्व र नियन्त्रण बदलिंदा पनि कर छल्ने नियतले योजना बनाए आयकर ऐनको दफा ३५ को करमुक्ति विरुद्धको नियम गार आकर्षित हुने बताएका छन्।

सरकार ढाल्ने यस्ता छन् कांग्रेसका कारण
सरकार परिवर्तनको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ दिइरहेका महेश आचार्य भन्छेन् – ‘भूकम्प पीडितलाई राहत दिने पुर्ननिर्माणको काममा सरकार असफल भयो।‘

साथै, मुलुकका समस्याहरुमा सरकार निष्प्रभावि बनेको तर्क गर्छन् आचार्य। कांग्रेस सांसद धनराज गुरुङ तर्क गर्छन् – ‘मेरो धरहरा मैँ बनाउँछु भन्ने अनि पुर्ननिर्माणको महाअभियानको नारा दिने तर सरकार हात्ती जस्तो फुक्ने र मुसा झैँ लुक्ने काम गर्योर।’ उनी सरकारले भूकम्प पीडितलाई राहत नदिएको तर भोज भत्तेरमा करोडौँ सकेको आरोप उनले लगाए।
आचार्य र गुरुङको जस्तै छ कांग्रेस सांसद रामहरि खतिवडाको पनि धारणा।

खतिवडाकै शब्दमा एक वर्ष बित्दा समेत भूकम्प पीडितले राहत नपाउनु र पुर्ननिर्माणमा गति नलिनुमा ओली नेतृत्वको सरकार मुख्य दोषी हो। साथै सरकार ढाल्नका लागि अन्य कारणहरु पनि देखाउँछन् खतिवडा ।

‘न्यायापालिकामा हस्तक्षेप गरेको छ। सांसदको रुपमा सपथ खाएको मान्छेलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ,’ खतिवडा भन्छन्, ‘दल नै खारेज भएको मान्छेलाई मन्त्री समेत बनाइएको छ।’

सरकार संविधान कार्यान्वयनका लागि असफल भएको कांग्रेस सांसदहरुको भनाई छ। ‘सरकारका उप-प्रधानमन्त्रीहरु गणतन्त्रको संविधान बनाएर राजतन्त्रको वकालत गर्छन्, कोही संघीयताको विरोध गर्छन्, कोही धर्म निरपेक्षताको, अनि संघीयता कार्यान्वयनको बाधक कांग्रेसलाई देखाइन्छ,’ खतिवडाले भने।

पेट्रोलयम पदार्थ सहज नहुनु
नाकाबन्दी खुलेको दुई महिना बितिसक्दा समेत पेट्रोलियम र ग्यास सहज नहुनुलाई सरकार ढाल्नका कारणको रुपमा अर्थ्याएका छन् कांग्रेस सांसदहरुले। सांसद गुरुङका अनुसार नाकाबन्दी खुलेको दुई महिना बितिसक्दा समेत पेट्रोलियम पदार्थ सहज नहुनुमा सरकारको प्रोत्साहनमा कालोबजारी हुनु प्रमुख कारण हो। र, यो कारणले पनि ओली सरकारको आयु सकिएको उनको विश्लेषण छ।

प्रधानमन्त्री ओली अभिव्यक्ति
कांग्रेसका अर्का सांसद बीरबहादुर बलायर प्रधानमन्त्रीका अभिव्यक्तिहरु ‘राष्ट्रिय दोहोरी प्रतियोगिता’ जस्ता हुने गरेको बताउँछन्। त्यस्तो गायनमा संवेदना नहुने उनको तर्क छ।
सांसद बलायर अहिलेको सरकार रहिरहने हो भने मुलुक अधोगति तिर जाने तर्क गर्दै भन्छन् - 'प्रधानमन्त्रीको खोक्रो राष्ट्रवादको अभिब्यक्तिले जनता अघाउने छैनन् ।'

उनको धारणामा सहमत हुँदै सांसद धनराज गुरुङ प्रश्न गर्छन् – ‘राष्ट्रवादको नाममा छ फुटको पलङमा सपना देखेर हुँदैन, लिपुलेक दुख्दैन भने यो कस्तो राष्ट्रवाद?’
सरकारप्रति आक्रामक गुरुङले प्रधानमन्त्री ओलीलाई रत्नपार्कमा बसेर उखान टुक्का सुनाउन सुझाव दिए। ‘उखान टुक्का हालेर देश चल्दैन, उखान टुक्का हाल्न कुर्सीमा बस्नु जरुरी पनि छैन, रत्नपार्कमा बसेर बिहानदेखि बेलुका जति पनि उखान टुक्का हाल्न सकिन्छ,’ गुरुङले व्यङ्ग्य गरे।

मधेस आन्दोलन सम्बोधन गर्न नसक्नु
कांग्रेस नेता विमलेन्द्र निधी वर्तमान सरकारले मधेसमा उठिरहेको माग सम्बोधन गर्न नसक्नु अर्को कमजोरी भएको बताउँछन्। प्रतिपक्षी कांग्रेसले महाधिवेशन र संसदीय दलको निर्वाचनबाट समेत मधेस आन्दोलनको माग आफ्नो नेतृत्वमा सम्बोधन गर्ने बतायो। अब मधेस आन्दोलन प्रति अनुदार शक्ति सरकारबाट हट्नुपर्ने उनको धारणा छ।

‘कांग्रेसमाथि मधेस केन्द्रित दलहरुको भरोसा छ र उहाँहरुले भन्दै आउनु भएको छ कांग्रेसले मधेसको मुद्दामा अग्रसरता लेव,’ निधी मधेस केन्द्रीत दलहरुको विश्वास आफूहरुसँग रहेको बताउँछन्।
नेता महेश आचार्य पनि मधेस आन्दोलन रोकिँदा पनि आन्दोलनकारीसँग किन वार्ता भएन र जटिलता श्रृजना गरियो भन्दै प्रश्न गर्छन्।

सरकारमा असफलता
कांग्रेस सांसद धनराज गुरुङ अब सरकार लम्ब्याउनु भनेको मन्त्रालय टुक्र्याउनु मात्र हुने बताउँछन्। उनी भन्छन् – ‘अब यो सरकार रह्यो भने पशुपंछी मन्त्रालयलाई पनि टुक्र्याएर पशु र पन्छी छुट्टाछुट्टै बनाउँछ।’
नेता महेश आचार्य पनि सरकारी ढुकुटीमा पैसा थुप्रँदा समेत सरकारले खर्च गर्न नसक्नु असफलताको उदाहरणको रुपमा प्रस्तुत गर्छन्।
(bizmandu.com बाट)

No comments:

Post a Comment