Tuesday, 17 May 2016

सशस्त्र प्रहरीकै श्रीमती हिंसाको सिकार, भन्छिन- मलाई न्याय दिनुस् हजुर !

भैरहवा, ४ जेठ । सर्वसाधारण जनतालाई कानुनको पाठ सिकाउँदै हिँडने प्रहरीले नै कानुनको उल्लंघन गरेपछि कानुनको परिधिबाट उन्मुक्ति पाउनको लागि उनीहरुले सबै प्रकारका उपायहरु अवलम्बन गरेका हुन्छन् । यस्तै, घटना भएको छ रुपन्देहीको मानपकडी गाविसकी रीता यादवलाई ।
मानपकडी गाविस–१, रुपन्देहीकी २६ वर्षीय रीता यादव आफनो श्रीमानको यातनाबाट प्रताडित भई अहिले माइतमा बस्न बाध्य भएकी छिन् । विवाह अघि श्रीमतीलाई खुशीका साथ राख्ने वचन दिएका शसस्त्र प्रहरीका जवान अमर यादवले आफनी श्रीमती रीता यादवलाई विभिन्न किसिमका मानसिक तथा शारीरिक यातना दिरहेका छन् ।
२०५८ सालमा जातीय परम्परा अनुसार वैवाहिक बन्धनमा बाँधिएका आमा गाविस–१, रुपन्देही स्थायी ठेगाना भई हाल शसस्त्र प्रहरी क्याम्प मझगावा, रुपन्देहीमा कार्यरत शसस्त्र प्रहरी जवान अमर यादव र खडवा बनगाई–४ निवासी रीता यादव विवाह पछि ५ वर्षसम्म खुशीयालीका साथ वैवाहिक जीवन बिताइरहेका थिए । तर, त्यो खुशीयाली ५ वर्षसम्म मात्रै सीमित रहन पुग्यो । त्यस पछि श्रीमान अमर यादवले श्रीमती रीता यादवलाई विभिन्न किसिमका मानसिक तथा शारीरिक यातना दिँदै आएको पीडित श्रीमती रीताको भनाई छ ।
श्रीमानको यातना सहन नसकेपछि पीडित यादव स्थानिय गाँउ समाजसँग सहयोग माग्न गइन । महिला हिँसाको शिकार बनेकी यादवको आग्रहमा स्थानीय राजनीतिक दल र गाउँ समाजको संयुक्त पहलमा ४ पटक छलफल बसी पीडितलाई न्याय दिलाउने प्रयास पनि भएको थियो । उक्त छलफलमा पीडितको श्रीमान अमर यादवले अब श्रीमतीलाई खुशीका साथ राख्ने वचन दिए पनि त्यो व्यवहारमा भने कार्यान्वयन गरेनन् । हालसम्म विवाह दर्ता र नागरिकताको प्रमाणपत्रबाट समेत श्रीमतीलाई बञ्चित गरेका छन् ।
एकीकृत नेकपा माओवादी मानपकडी गाविसका अध्यक्ष शम्भु चौहान, सोही गाविसका भुतपूर्व अध्यक्ष मनोहर राज भण्डारी तथा अन्य स्थानीय राजनीतिक दल र गाँउसमाजको अगुवाईमा गत चैत १३ गते भएको छलफलमा अमर यादवले १५ दिनभित्र श्रीमती रीता यादवको विवाह दर्ता र नागरिकताको प्रमाणपत्र समेत दिलाउने आश्वासन दिएपनि त्यो गर्नुको सट्टा श्रीमतीलाई छोड्दा अंश दिनुपर्ने भन्दै उनको नाममा दर्ता कायम रहेको कित्ता नम्बर क्रमश २४९, २५१, ११६ र ८६ को जग्गा बेतकुइया–३ रुपन्देहीका उनका भान्जा दिपेन्द्र यादवको नाममा जग्गा पास गरिदिएका छन् ।
साथै पीडित महिला यादवको न्यायको लागि सहयोग गर्ने स्थानिय समाजसेवी एंव एकीकृत नेकपा माओवादीका नेता शम्भु चौहान लगायतले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै उल्टै अमर यादवले इलाका प्रहरी कार्यालय छपियामा उजुरी समेत दिएका छन् ।
पीडित महिला यादवका दाजु खडवा बनगाई–४, रुपन्देहीका राम असारे यादव भन्छन्– पहिला पहिला ज्वाई अमर यादवले आफ्नी बहिनीलाई संगै राख्ने बताएपनि अहिले आएर उनले श्रीमतिलाई संगै राखे बिष खाएर अथवा झुण्डीएर मर्यो भने कसको जिम्मेवारी ? लगायतका गैर जिम्मेवार जवाफ दिएको बताए ।
यसरी राज्यको नै एउटा जिम्मेवार निकायमा कार्यरत व्यक्तिबाट नै महिलामाथि हिंसा भएको प्रति पीडित रीता यादवले असन्तुष्टी जनाउँदै जे जसरी भएपनि आफूले न्याय पाउनको लागि सम्पूर्ण निकायमा आग्रह गरेकी छन् ।
एकीकृत नेकपा माओवादी मानपकडि गाविसका अध्यक्ष सम्भु चौहानले अनैतिक कार्य गर्ने जो कोहीलाई पनि आफ्नो पार्टीले कारवाहीको दायरामा ल्याएरै छाड्ने बताए ।
यद्यपी पीडक अमर यादवसंग पटक–पटक सम्पर्क गर्न खोजिएपनि सम्पर्क हुनसकेन् । – दैनिक नेपाल डट कम

No comments:

Post a Comment