आजभोलि निकै सस्तो स्मार्टफोनमा पनि जीपीएस (ग्लोबल पोजिसनिङ सिष्टम)मा आधारित लोकेशन बेष्ड सेवा उपलब्ध छन् । स्मार्टफोनका प्रयोगकर्ताको अवस्थिति (लोकेशन), त्यसको रेकर्डलगायत जानकारी कुनै एपसम्म पुग्नु कुनै नौलो कुरा भने होइन । कुनै कुनै एपको प्रयोग गर्दा प्रयोगकर्ताका बारेमा के कस्ता जानकारी स्मार्टफोनको माध्यमबाट लिइन्छ भन्ने सुसूचित गरिन्छ । तर, धेरै अवस्थामा भने स्मार्टफोनका माध्यमबाट के कस्ता जानकारी कसले लिइरहको छ भन्ने जानकारी हुँदैन ।
प्रयोगकर्ताले क्यामेराको माध्यमबाट तस्वीर मात्र लिँदा पनि क्यामेरा आफ्नो मेटा डाटामा तस्वीरका बारेमा अवस्थिति, मिति, समयलगायतबारे जानकारी राखिन्छ । कतिपय अवस्थामा क्यामेरा एपको प्रयोग शुरू गर्दाको समयमा यसका लागि अनुमति पनि मागिन्छ । यी डाटा देखिँदैन । तर, फेसबुकलगायत सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दा लोकेशन पनि शेयर हुन्छ ।
अहिले फेसबुकले ‘नियरबाई फ्रेण्ड्स’ फिचर आफ्नो एपमा समावेश गरेको छ । यो फिचरले तपाईंलाई नजिक रहेका साथी र तिनलाई तपाईंको अवस्थितिका बारेमा जानकारी उपलब्ध गराउँछ । यो एपले प्रयोगकर्ताको अनुमतिअनुसार १ वा २ घण्टाका लागि तिनको अवस्थिति शेयर गर्ने गर्छ । यति समयमा कुनै साथी प्रयोगकर्ताको वरपर भए तिनले यसका बारेमा जानकारी प्राप्त गर्न सक्छन् । तर, यसको अन्य व्यक्तिबाट दुरुपयोग हुन सक्ने प्रबल सम्भावना छ ।
लाकेशन बन्द गर्ने तरीका
अधिकांश म्यासेजिङ एपमा सन्देश प्रेशित गर्दा सन्देशका साथै प्रयोगकर्ताको अवस्थिति सम्बन्धित जानकारी समेत प्रेषित हुन्छ । अधिकांश मानिसलाई यसको जानकारी नहुने गरेको पाइएको छ । अधिकांशले एप इन्ष्टल गर्दा हतारमा ‘एग्रिमेण्ट’ पेपर नपढीकनै ‘एग्री’ गर्नु यसको प्रमुख कारण हो । यसो भइहालेको अवस्थामा पनि आत्तिइहाल्नुपर्ने छैन । किनभने, अधिकांश एपमा साधारण सेटिङ परिमार्जन गरी यसलाई सच्याउन सकिने सुविधा उपलब्ध हुन्छ । परिवर्तनका लागि सेटिङमा गएर प्राइभेसीको छनोट गर्नुपर्ने हुन्छ । यसपश्चात् लोकेशन सर्भिसेजमा क्लिक गर्नुहोस् । अब ‘शेयर माई लोकेशन’ अप्सन प्रस्तुत हुन्छ । यसमा ‘अन’ वा ‘अफ’ गर्ने सुविधा उपलब्ध हुन्छ । अब आफ्नो आवश्यकता वा इच्छाअनुसार छनोट चयन गर्न सकिन्छ ।
विशेषगरी डेटिङ सेवा दिने एपमा प्रयोगकर्ताको अवस्थितिका बारेमा पनि जानकारी लिइन्छ । प्रयोगकर्ताले आफ्नो पार्टनर तिनकै नजिकको स्थानमा फेला पारून् भन्ने सोचका साथ यसो गरिएको एप डेभलपरहरूको तर्क हुने गरेको छ ।
यस्ता एपले रियलटाइम लोकेशन अपडेटसमेत लिने प्रयास गर्ने गरेको पाइएको छ । यस्ता जानकारी सुरक्षाका दृष्टिकोण संवेदनशील हुन्छ । यस्ता एपको प्रयोग गर्दा लोकेशन अफ गर्नु नै बुद्धिमानी हुने विशेषज्ञहरू बताउँछन् । (एजेन्सी)
No comments:
Post a Comment