Tuesday, 31 May 2016

‘तालिम लिन' अमेरिकी सेना दोलखामा

 
चरीकोट: नेपाली सेनाको समन्वयमा अधिकृत क्याडेट तालिमका लागि भन्दै अमेरिकी सेनाको एउटा ठूलो टोली दोलखाको सुन्द्रावती गाविसमा पुगेको छ । सैनिक प्रवक्ता ताराबहादुर कार्कीले अमेरिकी सेना विशुद्ध तालिमका लागि दोलखा गएको बताए ।
 
प्रवक्ता कार्कीले सुन्द्रावतीमा अमेरिकी सेनाले केके गर्छन् भन्ने खुलाउन चाहेनन् । उनले गृह मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिए पनि जिल्ला प्रशासन कार्यालय दोलखा भने यस विषयमा अनभिज्ञ छ ।
 
गत वर्ष भूकम्पपीडितको उद्धारका लागि जिल्लामा आएको अमेरिकी हेलिकोप्टर दुर्घटना हुँदा ६ जना अमेरिकी सैनिकको मृत्यु भएकोे थियो । दुर्घटना दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमानामा भएको थियो । मृत्यु भएका सेनाको सम्झनामा काम गर्न नेपाल आएको आशंका गरिए पनि उनीहरू के गर्न आएको भन्ने नेपाली सेना र प्रशासन दुवैले खुलाउन चाहेनन् ।
 
अमेरिकी सेना दोलखामा आउने भन्ने मौखिक जानकारीमात्र आफूहरूले पाएको सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले बताए । उनले भने, ‘एकजना सैनिक अधिकृतले आइतबार आएर मौखिक जानकारी दिएका छन् ।' दोलखामै रहेको रणभीम गणलाई पनि अमेरिकी सेना दोलखामा आएकोबाहेक अरू जानकारी नभएको बुझिएको छ ।
 
अमेरिकी सैनिक सर्वसाधारण चढ्ने बसमा सुन्द्रावती पुगेका छन् । प्रमुख सेनानीको नेतृत्वमा अहिले १३ जना अमेरीकी सैनिक दोलखा आएका छन् । तीन चरणमा गरी ३९ जना सैनिक दोलखामा आउने सैनिक स्रोतले बतायो ।

No comments:

Post a Comment