आगामी सोमबारबाट हुन लागेको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द भएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन नगरेपछि राष्ट्रपतिको भारत भ्रमण अन्तिम समय आएर रद्द हुन पुगेको हो ।
राष्ट्रपतिको भारत भ्रमणबारे औपचारिक निर्णय सरकारले नगरेपनि दुबै देशबाट तयारी तीब्र पारिएका बेला रद्द हुन पुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनका लागि भएको भित्री खेलमा भारतको संलग्नता रहेको चर्चा चलिरहेका बेला राष्ट्रपतिको भ्रमण रद्द भएको हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरेर सरकार ढाल्ने असफल प्रयासमा भारतको हात रहेको निचोड निकाल्दै भ्रमण रद्द गरिएको स्रोतको भनाइ छ । वैशाख २७ गतेबाट हुने राष्ट्रपतिको भ्रमणका लागि नेपालस्थित राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावास र भारतीय विदेश मन्त्रालयले राष्ट्रपतिको भ्रमणको तयारी थालेका थिए ।
संविधान जारी गर्नुअघिबाटै असन्तुष्ट रहेको भारतले नेपालको संविधानविरुद्ध विभिन्न शक्ति राष्ट्र र संगठनहरुसम्म अभियान चलाइरहेका बेला उसैको योजनामा ओली सरकार ढाल्ने असफल प्रयास गरिएको सरकारको बुझाइ छ । तीन दिनसम्म सतहमै चलेको सत्ता परिवर्तनको यो खेलको अन्त्य बिहीबार राति भएको एमाले–एमाओवादीबीचको नौ बुँदे सहमतिसँगै टुंगिएको थियो । सोही समयमै बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमण अनुमोदन नगरी भारतलाई असन्तुष्टीको स्पष्ट सन्देश दिएको थियो । राष्ट्रपतिको भ्रमण तत्काललाई नेपाल सरकारबाटै रद्द गरिएको अवस्थामा भ्रमणको अर्को मितिबारे दुबै पक्षले केही बोलेका छैनन् ।
यसअघि भारतको चार महिना लामो नाकाबन्दी खुलेपछि गत फागनु ७ देखि ११ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमण गरेका थिए । त्यो बेला पनि ओलीले दुई देशबीचको असमझदारी अन्त्य भएको दाबी गरेको अवस्थामा भारतले नेपालको संविधानविरुद्ध टिप्पणी गर्दै अन्तर्राष्ट्रिय अभियान नै चलाएको थियो ।
यद्यपि प्रधानमन्त्रीका परराष्ट्रविज्ञ गोपाल खनालले तयारी नपुगेकाले राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बताए । ‘राष्ट्रपतिज्यूको भारत भ्रमणका लागि तयारीका केही काम बाँकी नै थिए’, उनले भने, ‘नेपालबाट ‘हेड अफ द स्टेट’ जाने भएकाले भ्रमणलाई विशेषरुपमा लिइएको थियो । यो भ्रमण तयारी नपुगेकै कारण रद्द भएको हो । यसमा अरु कुनै कारण छन् भन्ने लाग्दैन ।’
No comments:
Post a Comment