Monday, 30 May 2016

यूट्युबबाटै च्याटिङ सुविधा उपलब्ध हुने

यूट्युबबाटै च्याटिङ सुविधा उपलब्ध हुने 
निःशुल्क भिडियो शेयरिङ वेबसाइटका रूपमा परिचित यूट्यूबको प्रयोग संसारमै सर्वाधिक मानिसले अनलाइन भिडियो हेर्नका लागि गर्छन् । यसमा प्रयोगकर्ता आफैले पनि आफ्नो भिडियो अपलोड गरी अन्यसँग शेयर गर्ने सुविधा दिइएको छ । सन् २००५ देखि सञ्चालनमा ल्याइएको यूट्यूब वेबमा रहेका सर्वाधिक लोकप्रिय साइटमध्ये एक हो । यसमा रहेका प्रयोगकर्ताले हरेक महीना ६ अर्ब घण्टाबराबरको भिडियो हेर्ने विभिन्न अध्ययनले देखाएको छ ।
सङ्गीत सुन्न तथा भिडियो हेर्नका लागि संसारमै सर्वाधिक प्रयोग गरिने यो साइटमा अब कम्पनीले नयाँ सुविधा उपलब्ध गराउने तयारी गरेको छ । ताजा जानकारीअनुसार कम्पनीले छिट्टै यस अनलाइन भिडियो स्ट्रिमङ साइटमा च्याटिङ सुविधा पनि उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो स्मार्टफोन एप्लिकेशनको माध्यमबाट सन्देश पठाउने सुविधाको परीक्षण गरिरहेको छ । च्याटिङका लागि अन्य प्ल्याटफर्मको प्रयोगविनै यूट्युबबाटै प्रयोगकर्ताले आफ्ना साथीभाइ तथा आफन्तसँग अन्तरक्रिया गर्न सकून् भन्ने कम्पनीको उद्देश्य हो ।
भर्खरै यूट्युबले आफ्ना केही आईफोन र एण्ड्रोइड प्रयोगकर्ताका लागि सन्देश पठाउने विकल्प प्रस्तुत गरेको थियो । परीक्षणका रूपमा प्रस्तुत गरिएको यो विकल्पमा कुनै समस्या नआएमा कम्पनीले अर्को अपडेटमै आईफोन र एण्ड्रोइड प्रयोगकर्ताका लागि म्यासेजिङ सुविधा उपलब्ध गराउने सम्भावना रहेको छ ।
कम्पनी अहिले सन्देश पठाउने सुविधाले मानिसलाई आफ्नो लोकप्रिय भिडियो एपमा अधिक समय बिताउन प्ररित गर्छ कि गर्दैन भन्ने अध्ययन गरिरहेको छ । अहिले मानिसहरू साधारणतया यूट्युबको लिङ्क कपी गरी तिनलाई स्न्यापच्याट, फेसबूक म्यासेञ्जर, ह्वाट्सएपलगायत सञ्जालमा पेष्ट गरेर शेयर गर्ने गर्छन् । (एजेन्सी)

No comments:

Post a Comment