बिही (गोरखा)- दाजु र भाइकी एकै श्रीमती। घरमा दाजु श्रीमतीसँग हुँदा भाइ गोठमा, भाइ घरमा हुँदा दाइ गोठमा। वर्षौं पहिले उत्तरी गोरखाको दुर्गम भेगमा एकैघरका दुई दाजुभाइका एउटै श्रीमती खुबै भेटिन्थे। तर हिजोआज पहिलेभन्दा कम भए पनि एउटै बिहे गर्ने परम्परा हटेको भने छैन।
nepalipatro-nagarik
अहिले पनि बिही, छेकम्पार सामागाउँ लगायत गाविसका दुई भाइले एकै श्रीमती बिहे गरेको भेटिन्छ। 'पहिले गाउँपिच्छे थुप्रै थिए, अहिले थोरै छन्, बिस्तारै एउटै बिहे गर्ने परम्परा हटे पनि पूर्ण रुपमा हटेको छैन,' बिहीकी स्थानीय शिक्षिका लुना गुरुङले भनिन्।
बिही गाविसमै यस्ता गाउँ पनि छन् जहाँ एकै घरका दुई दाजुभाइले एउटै बिहे गर्छन्। बिही १, क्रोका एकै घरका दुई दाजुभाइले वडा नम्बर ९ की पेमा लामालाई बिहे गरे। फुर्बु तेन्जिङ र छेवाङ दुई दाजुभाइ हुन्। पेमा उनीहरु दुवैका श्रीमती हुन्।
बिहेवारी गर्ने परम्परा भने अन्यत्रभन्दा त्यहाँ बेग्लै छ। मन परेको केटीलाई मेलापात, गोठालो जाँदा, घट्ट जाँदा, बाटोमा भेटेका बेला र राति सुतेको ठाउँमै गएर तान्ने प्रचलन छ। पेमालाई पनि नुर्बु र छेवाङले सुतेका बेला घरबाटै तानेका थिए। केटीका आमाबाबुलाई खुसी बनाउन सके भने छोरीलाई जबरजस्ती तानेर, बोकेर दलबलसहित आएर लैजान प्रचलन छ। बिही गाविसमा अहिले पनि तानेर जबरजस्ती बिनामन्जुरी बिहे हुने क्रम रोकिएको छैन।
बिही ४ की सोनाम साङ्मोको १६ वर्षे उमेरमा तानेरै बिहे भएको थियो। 'घरमा आमाबुवालाई टन्न रक्सी खुवाए,' उनले सुनाइन्, 'मलाई तानेर लगे, फर्कियो भने घरमा पनि नराम्रो, आमाबाबुलाई केटा पक्षले कुटपिट गर्ने, झगडा हुने, पैसा दिनुपर्ने सम्म हुन्छ, डरले म बसिरहेँ।' उनको अहिले तीन छोरी र दुई छोरा छन्। 'म त एउटा मात्रै श्रीमती, अझै गाउँमा कोही केटी त दुईजना भएको ठाउँमा पर्छन्,' साङ्मोले भनिन्। उत्तरी गोरखाका अधिकांश दुर्गम गाविसमा तानेरै बिहे गर्ने, एकै परिवारका दुई दाजुभाइले एउटै केटीसँग बिहे गर्ने प्रचलन अहिले पनि छ। दाजुभाइले बिहे गरेपछि आलोपालो घरमा बस्ने गर्छन्।
'बिहीमा मात्र होइन, छेकम्पार, सामागाउँमा दुई दाजुभाइको एउटै बूढी अहिले पनि छन्,' स्थानीय शिक्षिका लुना गुरुङले भनिन्, 'पहिले धेरै थियो तर अहिले बिस्तारै हराउँदै गएको छ।' तानेर बिहे गर्ने प्रवृत्ति भने बढिरहेको उनी बताउँछिन्। तानेर बिहे गर्नुलाई संस्कारसँग जोडेर हेर्ने गरिन्छ। उनले भनिन्, 'केटीको घरपरिवार नमान्दासम्म यो सम्भव हुँदैन, तर मानिहाल्छन्।' कमजोर चेतना स्तर र संस्कारका कारण यो परम्परा तोडिन गाह्रो भएको उनले बताइन्।
गाउँमा केटा नभेट्दा हुँदैन बिहे
बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन्। न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ। अहिलेसम्म उनको लगन जुरेको छैन। 'गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,' गुरुङले भनिन्।
उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन्। बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन्। 'मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो?' स्थानीय देवानी गुरुङले भनिन्। उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन। 'छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन्, म त बूढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन्।'
देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन्। अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो। 'लगन जुरेन, कर्ममा नलेखेर होला नि,' उनले भनिन्, 'बिहे गर्न कसलाई पो मन हुँदैन र!' मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन्। ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन्। खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन्।
न्याकका स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्। कतिपयले छोरीलाई पढाउँदैनन्। पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। अहिले गाउँमा युवतीको र बिहे नभएका महिलाको संख्या धेरै छ। अन्यत्रबाट त्यहाँका युवती बिहेवारी गर्न युवक पुग्दैनन्।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
Saturday, 28 May 2016
दाजु र भाइकी एकै श्रीमती। घरमा दाजु श्रीमतीसँग हुँदा भाइ गोठमा, भाइ घरमा हुँदा दाइ गोठमा
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment