Friday, 20 May 2016

पर्यटक लोभ्याउँदै नागेबेली पार्क

राजारानी (धनकुटा): राजारानी बजारस्थित नागबेली पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ।
पार्कभित्रको ढुंगामा करिब ३५ फिट लम्बाइका जोडी नाग कुँदिएको मूर्ति बनाइएको छ। मूर्ति हेर्न आन्तरिक पर्यटकको चहलपहल बढेको हो।
मूर्तिकार श्याम गौतमले एक वर्ष लगाएर पार्कभित्रको ढुंगा खोपी जोडी नागको आकृति बनाएका हुन्। ढुंगामै जोडी नागको लोभलाग्दो आकृति बनेपछि सो क्षेत्रमा अहिले पर्यटकको भीड लाग्न थालेको नागबेली पर्यटन विकास समितिकी कोषाध्यक्ष भीमकुमारी चेम्जोङले बताइन्।
नागबेली पार्क करिब १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कभित्र सुन्दर बगैंचा पनि छ। त्यस्तै स्थानीय स्तरमा पाइन वन्यजन्तुलाई संरक्षण गरी राखिएको छ।
पार्कका कुनाकाप्चा तथा भिरालो ठाउँमा चर्चित व्यक्तित्व तथा देवीदेवताको मूर्ति बनाइएको छ। पार्कभित्रका झरना, गुप्तेश्वर गुफा, अजंगको काब्रोको रूख, ततिला झर्ना र घ्याम्पे दहले पनि पर्यटकलाई लोभ्याउने गरेका छन्।
पार्क निर्माणमा हालसम्म ३१ लाख ९० हजार रुपैयाँ खर्च भइसकेको कोषाध्यक्ष चेम्जोङले बताइन्।पार्कको परिकल्पनाकार मूर्तिकार गौतम हुन्। उनैको कलाबाट प्रभावित भएर स्थानीयको पहलमा २०७० सालमा बस्ती विकास केन्द्र काठमाडौंको १८ लाख सहयोगमा पार्क निर्माणको काम सुरु गरिएको थियो।
२०७१ सालदेखि खुला गरिएको यो पार्क थप सुधारका लागि चालू आर्थिक वर्षमा पर्यटन विकास बोर्डको १० लाख, जिल्ला विकास समिति धनकुटाको तीन लाख र राजारानी गाविसको ९० हजार रुपैयाँ सहयोग गरेका छन्।
घुम्न आउने पर्यटकलाई प्रवेश शुल्क प्रतिव्यक्ति २० रुपैयाँ तोकिएको छ। आन्तरिक पर्यटकको बढ्दो आगमनले पार्कबाट मासिक ३० हजार रुपैयाँ आम्दानी हुन थालेको चेम्जोङले बताइन् । पार्कको आम्दानीबाट हेरचाहका लागि एकजना कर्मचारी राखिएको छ।
राजारानी बजारनजिकै करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको रानी ताल छ। यहाँ घुम्न आउने आन्तरिक पर्यटकलाई रानी तालसँगै नागबेली पार्क पनि घुम्नुपर्ने दोस्रो गन्तव्य बनेको छ।
राजारानीमा केही वर्षपहिलेसम्म मुस्किलले दैनिक तीनदर्जनको हाराहारीमा पर्यटन आउने गरेका थिए । तर, अहिले पार्क निर्माण भएसँगै घुम्न आउनेको संख्या दैनिक एक सयभन्दा बढी रहेका छन्। नागबेली पार्क क्षेत्रभित्रको अन्य ढुंगामा विशाल दरबार (रक प्यालेस) बनाउने योजना रहेको मूर्तिकार गौतमले बताए।
पार्कभित्रका झरना, गुप्तेश्वर गुफा, अजंगको काब्रोको रूख, ततिला झर्ना र घ्याम्पे दहले पनि पर्यटकलाई लोभ्याउने गरेका छन्।

No comments:

Post a Comment