Wednesday, 11 May 2016

युएईमा साठी लाखको लट्री परेपछि!

बाहिर मजदूरी गर्नेहरु दिउँसोको खानाको लागि ब्रेक हुँदा एकछिन टर्मिनलमा ओत लागेर राहत महशुस गर्दै थिए। म सहकर्मीलाई काम जिम्मा लगाएर वाईफाईको सदुपयोग गर्दै खुट्टा तन्काउन टर्मिनलको प्यासेन्जर वेइटिङ एरिया तिर निस्किएको थिएँ। त्यसैबेला नयाँ नम्बरबाट मोबाइलमा आएको फोनले ध्यान भङ्ग गरिदियो। रिसिभ गरें। उताबाट मोबाइल सेवा प्रदायक केन्›को कर्मचारी हँ भन्दै आवाज आयो– कन्ग्य्राचुलेसन! यु ह्याभ वन टु लाख युएई दिराम। कुरा नसकिदै फोनसम्पर्क टुटेपनि हल्काफुल्का अंग्रेजी जान्ने मैले लख काटिहालें–मलाई कुनै चिठ्ठा परेको छ, त्यो पनि दुई लाख दिराम अर्थात् लगभग साठी लाख नेपाली रुपैयाँ।
म खुशीले आत्तिएँ। अब के गरौँ? भयो। भविष्यका अनेकौं योजनाका मानचित्र दिमागमा घुम्न थाले। अरु भन्दा पनि यत्रो रकम कसरी नेपाल पठाउने? भन्ने सुर्ताले सतायो। म यस्तै सोचमा हराएको थिएँ। मोबाइलमा फेरि रिङ टोन बज्यो। फेरि त्यही मान्छेको अवाज गुन्जियो– कन्ग्य्राचुलेसन अगेन। क्या यु टक इन हिन्दी?
मैले नि एस भनें। त्यसपछि ऊ हिन्दीमा कुरा गर्न थाल्यो। मेरो नाम सोध्यो। तपाईँको डिटेल चेक गर्दैछु एकछिन पर्खिनुस् भन्दै गर्दा कम्प्युटरमा केही टाइप गरेजस्तै आवाज मोबाइलमा प्रष्ट सुनिन्थ्यो। पृष्ठभूमिमा डियू मोबाइलको सेवा प्रदायक केन्›मा फोन गर्दा बज्ने धुन बजिरहेको थियो।
केहीबेरमा उसले भन्यो– आपको बहुत बहुत बधाई! कम्प्युटरके रेकार्डके मुताबिक आपका डिटेल सही है अब् इमिरेट्स आइडीके साथ सम्पर्क करें। अब् आपको ए रकम कहाँसे और कैसे लेना है मै बतारहा हुँ ध्यान से सुनिए फोन लाइन मै रहिए कट नै कर्ना ठिक है! ए डियू मोबाइलने अप्ना कस्टमरमै से कुछ नम्बरोंका लक्की ड्रा के जरिएसे सेलेक्ट करके ए प्राइज दे रहा है। उन लक्की कस्टमरमै से एक आप है।
उसले हिन्दीमा भनेको सबैकुरा म सहजै अर्थ्याउन सक्थें। उसका कुरालेे म गजक्क परिरहेको थिएँ। उसले हाम्रो कुरालाई निरन्तर गर्न, फोन नकाट्न अनि अब हाम्रो संवाद सिआइडी र पुलिसले पनि सुनिरहेको बतायो अनि कारणबस फोन काटियो भने पुनः फोन गर्न अनुरोध गर्यो। नभन्दै फोन काटियो।
म असमन्जस्यमा परेँ– अब के गर्ने? फोन गरौं कि नगरौं? सोच्न सकिरहेको थिएन। मानसपटलमा त्यो रकमको प्राप्ति अनि सहज स्थानान्तरणको बारे मात्र कुराहरु खेल्दै थिए।
एक मनले सोच्थें, कसैले मसँग मजाक त गरिरहेको छैन? अनि के यो साँच्चै नै हो त? कसैले मलाइ पैसाको लोभ देखाएर ठग्न त खोजिरहेको छैन? तर युएई लगायतका देशमा केही नेपालीले करोडौं रकम लट्रीमा पाएको खबर बेलाबेलामा अनलाइन समाचारमा पढेकोले पनि मेरो नि दिन खुलेको हो कि भन्नेतिर मन मोडियो।
तेस्रो पल्ट कल आयो। उसले सुरक्षाको कारण देखाउँदै आफूलाई यो रकम परेको कुरा आफ्नो हातमा पैसा परेर नेपाल नपठाउन्जेलसम्म कसैलाई नसुनाउन अनुरोध गर्दै एउटा कोड नम्बर पनि टिप्न भन्यो। फेसबुक र इमोमा घरपरिवारसँग कुराकानी गरिरहेको मेरो साथमा त्यतिखेर कुनै लेख्ने सामग्री थिएन। म हड्बडाउँदै अलि पर रहेको चिनजानको कर्मचारीसँग मोबाइल लिएर मोबाइलमा नै कोड टाइप गरें। मेरो हड्बडाहट्लाई देखेर उसले के भयो भनेर सोध्यो। मैले केही होइन अर्जेन्ट भएर हतारिएको भन्दै कुरा टारें। म आफूलाई चिठा परेको कुरा कसैले पनि पत्तो नपाउन् भनेर सजग थिएँ। उसले सुरक्षाको कारण सबै कुरा गोप्य राख्न भनेको थियो।
उ फोन सम्पर्कमा नै भएकोले मोबाइलबाट सीमकार्ड झिकेर भर्खरै दिएको कोड सिमकार्डमा पर्मानेन्ट प्रिन्ट छ कि छैन हेरेर दाँज्न अनि कोड मिल्यो भने पुनः मिसकल गर्न भन्दै फोन काट्यो। मैले अलिकति पनि ढिला नगरी उसले भनेबमोजिम गरंे। नभन्दै उसले दिएको चार नम्बरको कोड सिमकार्डमा कम्प्युटराइज्ड प्रविधिबाट कदिँएको रहेछ। म तीन छक परें। मेरो नजरमा सबै कुरा सत्य साबित भयो किनकि मेरो मनले मलाई भन्दै थियो– अहँ, यो कदापि झुठो हुन सक्दैन, झुठो भएको भए मेरो मोबाइल नम्बर कतैबाट पाएर झुक्याउन फोन गर्न सक्छ तर मेरो मोबाइल भित्रको सिमकार्डमा कुँदिएको कोड नम्बर सम्बन्धित कम्पनीको आधिकारिक व्यक्ति या स्वयं प्रयोगकर्ता बाहेक अरुकसैले कसरी भन्न सक्छ? यस्तै नम्बरबाट बेलाबेलामा बिभिन्न अफरहरुकोलागि डियू कम्पनीबाट कल पनि आएकै हो। अप्रिल फुल मनाउन एक तारिख नि हैन, अप्रिल महिनाको लगभग दोस्रो हप्ता भै सक्यो।' मलाई विश्वास बढ्दै गयो – साठ्ठी लाखको मालिक बन्ने।
मैले छिनमै उसलाई फोन गरिहाले। उसले भन्यो –तपाईँका आमाबुबाको आशिर्वाद अनि भगवानको कृपाले तपाईँलाई यो अवसर प्राप्त भएको छ यो रकमले तपाईँको लाइफ सेटल हुन्छ, अब तपाइले डियूको दुई दुई सयका छ ओटा रिचार्ज कार्ड किनेर त्यो कार्ड लिएर मनी एक्स्चेञ्ज सेन्टरमा गएर स्क्राच गरी पिन कोड हामीलाई उपलब्ध गराएपछि मनी एक्स्चेञ्ज सेन्टरमा तपाईँको अकाउन्ट खुल्छ। अकाउन्ट खुलेपछि हामी पैसा जम्मा गरिदिन्छौँ र मनी एक्स्चेञ्ज सेन्टरको म्यानेजरलाई कन्फर्मेसनको लागी तपाईँको डिटेल र रिचार्ज कार्डको पिन नम्बर दिन्छौँ । त्यसपछि मनी एक्स्चेन्ज सेन्टरको म्यानेजर आएर तपाईँको डिटेल र कन्फर्मेसनको लागि रिचार्ज कार्डको पिन नम्बर चेक गरेर रकम उपलब्ध गराउनेछ। रिचार्ज कार्डको रकम रिफन्डेबल हो। तपाईँले यो काम आज बेलुका पाँच बजेसम्ममा गरिसक्नु पर्छ। भोलि शुक्रबार र अर्को दिन शनिबार बैंक बन्द हुन्छ। ढिला भए तपाईँको रकम दिन हामी असमर्थ हुन्छौं। इमिरेट्स आइडी पनि साथै ल्याउन नबिर्सिनु।
उसले भनेको छ ओटा रिचार्ज कार्ड, अर्थात बाह्र सय दिराम लगभग छत्तीस हजार रुपैयाँ मेरो दिमागमा घुम्न थाल्यो। तुरुन्तै त्यो सम्भव नि थिएन किनभने अधिकांशले आफूलाई महिनाभर चलाउन पुग्ने रकम आफुसँग राखेर अरु रकम घर परिवारलाई पठाउने प्रायः परदेशीको चलन हुन्छ।
साथीहरुसँग सापट लिएर भएपनि मैले रकम जोगाड गर्ने सोच बनाएँ। तर एकिन गर्न सकिनँ। मलाई चिठा परेकै हो त? कतै यो मान्छे खल्लि सिम(अरुकसैले रजिस्टर गरेर बेचिने सिम जुन साना इलेक्ट्रोनिक्स पसल र बाहिर पाइन्छ )बेच्ने गिरोह भित्रको कोही त होइन? त्यस्तो सिममा बढी यस्तै कल आउँछ भन्नेसुनेको थिएँ। चिठा परेको कुरा झुठो हो कि साँचो हो को दोसाँधमा फसें।
युएईमा अरुलाई सहजै ठगे पनि ट्याक्सी चालकलाई कसैले ठग्न सक्दैनन् भन्ने सुनेको थिएँ। एकजना गाउँले भाइ सम्झिए। जो अरबिया ट्याक्सीमा चालक छ। दुःखलाई निकै नजिकबाट नियालेको उसले यहाँको वातावरण बुझिसकेको छ अनि विश्वासिलो पनि छ। रकम नि उसैसँग सापट लिने सोच बनाएँ। अरुसँगको कुरा त के हो के हो?
मैले उसलाई सम्पर्क गरें। ऊ आफ्नो कस्टमरलाई छोडेर हतारहतार मेरो काम गर्ने ठाउँमा आयो। स्थानीय ड्युटी अफिसरलाइ अनुरोध गरेर उसलाई भेट्न गएँ। उसैको ट्याक्सीमा बसेर सङ्कोच मान्दै वृत्तान्त सुनाउनेवित्तिकै उसले आफु भर्खरभर्खर युएई आउँदाको आफ्नो अनुभव र उसँगैको रूम पार्टनरसँग भएको घटना वयान गर्यो। त्यो भाइको कुरा सुनेपछि मैले एकपल्ट लामो सास फेरें।
आफूलाई कम्प्युटरको राम्रै दक्खल भएको साथै माउसको फन्कोसँगै चोरऔंला तालमा दुनियाँ हल्लाइन्छ भनेर सोच्ने म झण्डै थाङ्नामा सुताइएछु भने जस्तै भान भो। झण्डै ठगिइएछु भनेर मलाई मनमनै कुरीकुरी लाग्यो। मैले नि उसलाई पनि तर्साउने सोच बनाएँ। तत्काल उतैबाट फोन आयो मैले फोन रिसिभ गर्दै भनें– म डियूको कस्टमर सर्भिस सेन्टरमा सम्पर्क गरेर सोधौं? मेरो कुराले उ आवेशमा आयो –यो डियू कम्पनीले दिएको पुरस्कार हो, कस्टमर सर्भिस सेन्टरमा कसरी थाहा हुन्छ?
मैले प्रतिउत्तरमा भनें– सोही कम्पनी मातहतको सर्भिस सेन्टरमा किन थाहा नहुने?
उसले मेरोसाथमा रहेको भाइको आवाज सुनेर होला उसले भन्यो–कोसँग कुरा गरेको? मैले गोप्य राख्न भनेको होइन?
मैले नि फर्मुला लगाइहालेँ– मेरो साथमा सिआइडी र पुलिस छ, तिम्रो मोबाइल ट्याप भएको छ। मेरो कुरा नसकिँदै उसले फोन काट्यो सम्पर्क गर्न प्रयास गरे मोबाइल स्विच अफ छ भन्ने सिस्टमबाट भ्वाइस म्यासेज आयो।- सेतोपाटी

No comments:

Post a Comment