कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने
काठमाडौंः नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले ल्याएको बजेटले मुलुकमा आर्थिक अनुशासनहीनता र वित्तिय अराजकता सृजना गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार गरेको साक्षात्कारमा उनले राष्ट्रको ढुकुटीमा पैसा हुँदाहुँदै विदेशी ऋण लिने कुराले मुल्य बृद्धि र मुद्रा स्फिती गराउने ठोकुवा गरे ।
‘यो बजेट सीमित राजनीतिक स्वार्थले ल्याइएको हो’ डा. महतले भने, ‘बजेट एक वर्षको भएपनि पाँच दश वर्षको योजना जस्तो कार्यक्रम राखेर इच्छपत्र जस्तो मात्रै बनाइएको छ ।’
आफूले विगतमा अलोकप्रिय हुँदाहुँदै गरेको भ्याट लागू गर्ने, आयकर, पूँजीगत लाभ कर, बैंकिङ क्षेत्रमा निजीक्षेत्रको प्रवेश गराउने र दूरसञ्चार क्षेत्रमा निजी लगानी खोल्ने निर्णयबाट आन्तरिक राजस्वमा बृद्धि भएको भन्दै कसैलाई खुसी पार्न बाँड्ने कुरा ठूलो नभएको तर्क गरे ।
‘मेरो पुतला जलाउँदा जलाउँदै ल्याएको भ्याट र आयकरले आन्तरिक राजस्वमा आधा योगदान गर्छ । बैंकिङ क्षेत्रबाट ५० अर्ब बढी राजस्व आउँछ’, उनले भने, ‘दुरसञ्चार क्षेत्रबाट पनि ठूलो राजस्व आउँछ । देशलाई फाईदा गर्न अप्रिय निर्णय लिनुपर्छ । त्यसले राष्ट्रलाई अघि बढाउँछ । कसैलाई खुसी पार्न बाँड्ने कुरा ठूलो कुरा होइन ।’
उनले कुनै पनि बजेटको मूल्याङ्कन वितरण भन्दा जनतालाई काम गर्न कत्तिको उत्साहित बनाउँछ, उद्यमशीलताको विकास गर्छ कि गर्दैन, आर्थिक वृद्धिको अवसर सृजना गर्छ कि गर्दैन र राष्ट्रिय अर्थतन्त्रमा कसरी योगदान गर्छ भन्ने विषयले गर्ने दाबी गर्दै बढी वितरण गरेकै भरमा बजेटको मूल्याङ्कन हुन नसक्ने बताए ।
डा. महतले सामाजिक सुरक्षा भत्ता र स्थानीय निकायलाई दिने रकम वृद्धि गर्ने विषयमा आपत्ति नभए पनि विगतमा ती रकम दुरुपयोग हुने गरेकाले सरकारले आफ्ना संयन्त्रलाई दुरुपयोग हुन नदिने गरी दह्रो बनाउने कुरामात्रै आफूृहरुले गरेको स्पष्ट पारे ।
‘सरकारी संरचनाको कार्य गर्ने क्षमता कमजोर छ । पहिला कार्यान्वयन क्षमता बलियो बनाउँनु पर्छ । सरकारको पनि त्यस्तो क्षमता देखिएन, कुरामात्रै ठूलो ठूलो गर्ने प्रवृत्ति छ’, उनले भने, ‘६ वटा उपप्रधानमन्त्री र जम्बो मन्त्रीमण्डल बनाएर प्रधानमन्त्री ओलीले पहिला नै राजनीतिक विश्रृंखलता देखाइउसक्नु भएको छ, अब आर्थिक विश्रृंखलता ल्याउँदै हुनुहुन्छ ।’
बजेटका विषय संसदमा प्रस्तुत गर्नुअघि नै सार्वजनिक भएको विषयलाई स्पष्ट पार्दै उनले अहिले जस्तो विभिन्न शीर्षक उपशीर्षकहरुको रकम हजारसम्म लिन्ने गरी कहिल्यै पनि बाहिर नआएको दाबी गरे ।
‘आजको लिक भएको जस्तो हिजोको होइन । हिजोका दिनमा नीतिका कुराहरु र मोटामोटी रकम आउँथ्यो । अहिले शीर्षक र उपशीर्षकका बजेट लाख हजारसम्म मिल्ने गरी आएको छ’, उनको जिकिर थियो, ‘यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । घर घरको इन्स्योरेन्स गर्ने कुराले नेप्से सूचकांकलाई बढायो । यो गम्भीर कुरा हो । यसलाई अरु चुहावटसँग तुलना गर्न मिल्दैन ।’
उनले अब आफूमा फेरि पनि अर्थमन्त्री बन्ने कुनै सपना नभएको स्पष्ट पार्दै अब आफ्नो नेतृत्व गर्ने पालो आएको बताए । उनले भने,‘ मेरो क्षमता अनुसारको जिम्मेवारी पार्टीले दिनुपर्छ ।’
फरक प्रसंगमा उनले कांग्रेस सरकार परिवतर्नको खेलमा नलाग्ने स्पष्ट पारेका छन् । ‘नेपाली कांग्रेस केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको खेलमा छैन । मुलुकमा अस्थिरता धेरै भयो’, उनले भने, ‘बारम्बार सरकार परिवर्तन गर्दा मुलुक अस्थिरतामा जान्छ । त्यसैले अहिले हामी यो खेलमा लाग्दैनौ ।’
No comments:
Post a Comment