यसपालिदेखि एसएलसी दिएका विद्यार्थीको मूल्यांकन अक्षरांकन (ग्रेडिङ) प्रणालीबाट हुँदै छ । विद्यार्थीले विगतमा मार्कसिट पाउँथे भने अब ग्रेडसिट पाउनेछन् । ग्रेडसिटमा आफूले पाएको नम्बरलाई कसरी राख्ला ? भन्ने विद्यार्थीमा कौतूहल छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले विद्यार्थीलाई दिने ग्रेडसिट कस्तो बनाउने भन्ने टुंगो लागिसकेको बताए ।
विद्यार्थीको नाम रहने लाइनमा ‘द ग्रेट्स सेक्वर्ड बाई’ लेखिएको हुन्छ । पहिलो कोलममा विषय र त्यसको कोड नम्बर हुन्छ । त्यो सँगैको अर्को कोलममा क्रेडिट आवर लेखिएको छ । विगतमा सय पूर्णांक लेख्ने कोलममा अब ४ क्रेडिट आवर हुन्छ ।
सैद्धान्तिक र प्राक्टिकलको छुट्टाछुट्टै ग्रेडिङ गरेको हुन्छ । विगतमा फरक कोलममा नम्बर राखेको हुन्थ्यो । त्यसपछि अर्को कोलममा सैद्धान्तिक र प्राक्टिकलमा प्राप्त नम्बर जोडेर उक्त विषयको ग्रेड राखिएको हुन्छ । अर्को कोलममा स्तरीकृत अंक (ग्रेड प्वाइन्ट) राखिन्छ । उदाहरणका लागि अनिवार्य अंग्रेजीमा क्रेडिट आवर ४, सैद्धान्तिकमा ५३ अंक प्राप्त गरे ‘बी प्लस’ ग्रेड, प्राक्टिकलमा २० प्राप्त गरेमा ‘ए’ लेखिएको हुन्छ । सैद्धान्तिकमा प्राप्त ५३ र प्राक्टिकलमा प्राप्त २० जोड्दा ७३ हुन्छ । अंग्रेजीमा कुन ग्रेड प्राप्त गर्यो भन्ने कोलममा ‘बी प्लस’ ग्रेड लेखिएको हुन्छ । कुनै विषयमा ७० देखि ८० प्रतिशत ल्याएमा ‘बी प्लस’ ग्रेडमा राखिन्छ ।
प्राक्टिकलमा चाहिँ तोकिएको अंकभार र विद्यार्थीले प्राप्त नम्बरलाई प्रतिशतमा लगेर ग्रेडिङ गरिने परीक्षा नियन्त्रक काप्रीले बताए । जस्तै अनिवार्य अंग्रेजीमा २५ अंकभार प्रयोगात्मक हो भने यसलाई सय मानेर ग्रेडिङ गरिन्छ । प्राक्टिकलमा २० अंक पाएको छ भने अंकभार २५ ले भाग गरेर सयले गुणन गर्दा आउने अंक नै प्रतिशत हुन्छ । विषयको ग्रेडपछिको कोलममा उक्त विषयको ग्रेड प्वाइन्ट राखिन्छ । अंग्रेजीमा ७३ अंक ल्याएर ‘बी प्लस’ ग्रेड पाएको छ भने ग्रेड प्वाइन्ट ३.२ हुनेछ ।
विद्यार्थीले लेखेको उत्तरका आधारमा परीक्षकले अंक दिएको हुन्छ । शिक्षकले दिएको नम्बरलाई परीक्षा नियन्त्रण कार्यालयले अक्षरमा परिणत गरेर ग्रेडिङ गरेको हुन्छ । यसकै आधारमा विषयको ग्रेड र ग्रेड प्वाइन्ट निकालेको हुन्छ ।
गत वर्षसम्म विद्यार्थीको मार्कसिटमा सबै विषयमा प्राप्त नम्बर जोडेर कुन श्रेणी भन्ने तोकिएको हुन्थ्यो । कुनै विषयमा निर्धारित अंकभन्दा कम ल्याए फेल भनेर लेखिएको हुन्थ्यो । यो वर्षदेखि श्रेणी पनि छुटयाएको हुँदैन । फेल वा पास केही लेखिएको हुँदैन ।
ग्रेडसिटमा सबै विषयमा प्राप्त ग्रेड प्वाइन्ट जोडेर औसत स्तरीकृत अंक (ग्रेड प्वाइन्ट एभरेज) उल्लेख हुन्छ । ८ विषयमा प्राप्त ग्रेट प्वाइन्टलाई ८ ले भाग गरेपछि औसत ग्रेड निस्कन्छ ।
विषयगत ग्रेड र ग्रेड प्वाइन्टले कुन विषयमा विद्यार्थीको सिकाइ क्षमता कस्तो छ ? यकिन हुन्छ । औसत ग्रेड प्वाइन्टले विद्यार्थीको समग्र मूल्यांकन हुन्छ ।
कसरी तय हुन्छ ग्रेड ?
अनिवार्य अंग्रेजीको सैद्धान्तिकमा ५३, प्राक्टिकलमा २०, प्राप्त गरेमा विषयको ग्रेड बी प्लस र ग्रेड ३.२ हुन्छ । त्यस्तै नेपालीमा ६०, गणितमा ९०, विज्ञानको सैद्धान्तिकमा ६० प्राक्टिकलमा २४, सामाजिकमा ६०, स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको सैद्धान्तिकमा ५५, प्राक्टिलमा २४, ऐच्छिक प्रथममा ७०, दोस्रोको सैद्धान्तिकमा ५०, प्राक्टिकलमा २५ अंक ल्याएमा माथिकै जस्तो ग्रेड सिट बन्नेछ ।
एसएलसी नतिजा असार पहिलो साताभित्र
परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको नतिजा असार पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । ‘९० प्रतिशत काम सकियो,’ नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, ‘ढिलोमा असार पहिलो साताभित्र नतिजा आइसक्छ ।’
सम्पूर्ण जिल्ला तथा केन्द्रबाट उत्तरपुस्तिका सम्परीक्षण भई कार्यालयमा आइसकेको उनले बताए । ‘केन्द्रले ७ गतेदेखि डाटा इन्ट्री सुरु गरेको छ,’ उनले भने । चैत १८ देखि २९ सम्म चलेको परीक्षामा नियमित र आंशिक गरी ६ लाख १५ हजार विद्यार्थी सहभागी थिए । डाटा इन्ट्री भएको बढीमा २५ दिनभित्र नतिजा प्रकाशन गरिसक्ने योजना बनाएको छ । यस अनुसार कार्यालयले जेठ मसान्तभित्रै नतिजा प्रकाशन गर्न सक्छ ।
No comments:
Post a Comment