Sunday, 5 June 2016

दीर्घायुको कामना गर्दै वटसावित्री

जेठ २३, जनकपुरधाम : श्रीमान्को दीर्घायुको कामना गर्दै मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइएको छ । मिथिलामा विवाहित महिलाले मनाउने यो पर्व नवविवाहिताका लागि पनि महत्वपूर्ण मानिन्छ।
यो पर्वका अवसरमा मैथिल ब्राह्मण र कयस्थ परिवारमा विवाहको पहिलो वर्ष दुलहा पक्षबाट दुलहीको घरमा चना, मुंग, आँप, दहीको भार पठाइन्छ। दुलहाको घरबाट आएको नयाँ लुगा र गरगहना लगाएर बेहुलीले बरको रूखमुनि सावित्री सत्यवान्को पूजाअर्चना गर्ने प्रचलन छ।
सावित्री सत्यवान्को पूजा गरी दुलहा र दुलही स्वरूपको पुतलीको विवाह गराउने गरिन्छ। यस पर्वको दिन विवाहिता महिला दिनभरि व्रत बस्ने गर्छन्। पहिलापहिला केही उच्च वर्गमा मात्रै सीमित यो पर्व अहिले सबै जातजातिको साझा बनेको छ।
यस पर्वका अवसरमा शनिबार जनकपुरको राममन्दिरमा रहेको पुरानो वरको रूखसहित वरको रूख रहेका स्थानहरूमा पूजा गर्नेको भीड थियो।हिन्दु धर्मग्रन्थमा उल्लेख भएअनुसार सावित्री नाम गरेकी एक राजकुमारीले सत्यवान् नामका एक गरिब ब्राह्मणसँग विवाह गरेकी थिइन्।
ती ब्राह्मणको बिहेपछि एक वर्षभित्रै मृत्यु हुने भाग्य थियो। तर, सावित्रीले सत्यवान्को प्राण लिन आएका यमराजबाट पतिको जीवन वरदान पाएकी थिइन्। यही प्रसंग सम्झिँदै यो पर्व मनाउन थालिएको स्थानीय पण्डित विद्यानाथ झाको भनाइ छ।अन्नपूर्ण पोस्ट्बाट

No comments:

Post a Comment