जोरपाटीतिर जाँदा बौद्ध स्तुपको मूलद्वार अगाडिदेखि पिपलबोटसम्म करिब ५ सय मिटर सडकको कालोपत्रे उप्किएको महिनौं भइसक्यो। घाम लाग्दा धुलाम्मे बन्ने सडक मनसुन सुरु भएसँगै हिलाम्मे मात्र नभएर पोखरी नै बनेको छ। पानी परेपछि खाल्डामा जमेको पानी सुक्न तीन/चार दिन लाग्ने स्थानीय बताउँछन्। कालोपत्रे उप्किएको ६ महिनाभन्दा बढी भएको उनीहरू बताउँछन्।
‘सडक भत्कँदा ससाना खाल्डा थिए, अहिले पोखरीजस्ता भए,’ एक स्थानीयले भने, ‘पानी परेको बेला त सडक नै देखिँदैन, पानी मात्र टिलपिल हुन्छ र कैयौं दिनसम्म पोखरीजस्तै रहिरहन्छ।’ उनका अनुसार ट्याक्सी, मोटरसाइकल एकपल्ट पानी परेपछि कैयौं दिनसम्म खाल्डामा जमेको पानीमा डुबेर निस्कन्छन्।
सडकमा बनेका ‘पोखरी’ले चालकहरू पनि उत्तिकै सास्ती खेपिरहेका छन्। एकातिर सवारी उफ्रिँदा यात्रुको शरीर सवारीसाधनमा ठोक्किँदा गाली सुन्नुपर्छ भने अर्कोतिर सवारीसाधन नै बिग्रने सम्भावना पनि त्यत्तिकै छ।
‘प्रधानमन्त्री पानीजहाज ल्याउने कुरा गर्छन्, यहाँ सडकमा दिनहुँ पानीजहाज गुडिरहेकाछन्,’ चालक पेम्बा तामाङ भन्छन्, ‘यहाँ आइपुगेपछि कतै म पानीजहाज त चलाइरहेको छैन भन्ने भ्रम हुन्छ।’
सडक भत्केपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको छ। सडकमा पानी जमेपछि ट्राफिक जाम पनि बढ्ने गरेको छ। बौद्ध ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार शाहीका अनुसार अहिले निरन्तर एक जना ट्राफिक त्यस क्षेत्रमा खटाइने गरेको छ। ‘पानी परेका बेला ह्वात्तै जाम बढ्छ। उता जाम जोरपाटी पुग्छ भने यता चुच्चेपाटीसम्म हुन्छ,’ इन्स्पेक्टर शाहीले भने, ‘पानी पर्दा पाँच/सात जना, कार्यालय समयमा दुई जना र अघिपछि एक जना निरन्तर खटाइने गरेको छ।’
शाहीका अनुसार सडक भत्केको ठाउँमा कुनै दुघर्टना भने भएको छैन। तर स्थानीय शर्मिला अधिकारीका अनुसार खाल्डामा परेर दैनिकजसो दुई/तीन वटा मोटरसाइकल लड्ने गरेका छन्। ‘धमिलो पानीमा खाल्डो कत्रो छ भनेर थाहा नपाइने हुँदा खाल्डोमा परेर दैनिक दुई/तीनटा मोटरसाइकल लड्छन्,’ अधिकारीले भनिन्, ‘कतिपयलाई त हामी नै उठाइदिन्छौं।’ उसो त सडकछेउ सटरमा कपडा पसल गर्दै आएकी अधिकारीलाई पनि खाल्डे सडकका कारण समस्या परेको छ। सवारीसाधनले उछिट्याएको पानीले अधिकारी पनि कैयौंचोटी निथ्रुक्क भएकी छन्। ‘पसलको बाहिर उभियो भने सवारीले पानी छ्यापिहाल्छन्,’ अधिकारीले भनिन्, ‘हामी भिज्दा त केही छैन। तर बिक्रीका लागि बाहिर झुन्ड्याएको कपडा हिलाम्मे हुँदा भने समस्या नै हुन्छ।’
भत्केको सडक मर्मतसम्भार गर्नुपर्ने जिम्मेवारीसडक डिभिजन कार्यालयको हो। समयमै मर्मत नगर्दा अहिले खाडल पोखरीजस्तो ठूलो भएपछि समस्या बनेको छ। ट्राफिक प्रहरीले माटो हालेर खाल्डो पुरे पनि पानी पर्दा सडक हिलाम्मे बनाएको छ। ‘खाडल धेरै ठूला हुँदै गएपछि सहज बनाउन माटो भरेको हो,’ शाहीले भने।
सडक डिभिजन कार्यालय एकले भने उक्त सडक विस्तारका लागि सडक विस्तार आयोजनालाई सुम्पिसकेको हुँदा आफ्नो जिम्मेवारीभित्र नपर्ने बताएको छ। ‘सडक भत्केर समस्या भएको धेरै गुनासा हामीलाई पनि आएका छन्,’ डिभिजन कार्यालय एकका प्रमुख धमेन्द्र झाले भने, ‘१४ मिटर चौडा सडक विस्तार गरी २२ मिटर बनाइँदै छ। कार्यालयले गत वर्ष सडक विस्तार आयोजनालाई जिम्मेवारी दिइसकेकाले हामी केही गर्न सक्दैनौं।’
चावहिल–जोरपाटी सडकखण्ड विस्तार गर्ने योजना बनेको निकै समय भइसकेको छ। केही दिनअगाडि चिनो लगाउने काम भए तापनि विस्तार थालिएको छैन। सडक भत्केर समस्या हुँदा पनि सम्बिन्धित निकाय भने एकैपल्ट बनाउने भन्दै टार्ने प्रयास गरिरहेको छ।
सडक विस्तार आयोजना भने सडक टाल्ने (मर्मतसम्भार) बजेट आयोजनासँग नभएकाले तत्काल केही गर्न नसक्ने बताइरहेको छ। ‘सडक विस्तार आयोजनाले सडक मर्मत गर्दैन। हाम्रो काम नयाँ सडक बनाउने हो,’ सडक विस्तार आयोजना प्रमुख मनोज श्रेष्ठ भन्छन्, ‘काठमाडौं उपत्यका विकास प्राधिकरणले भत्काएपछि ठेक्का लगाएर सडक बनाउने काम गर्छौं।’
श्रेष्ठका अनुसार आयोजनाले ठेक्का दिइसकेको भए तत्कालका लागि ढुंगागिट्टी भरेर भए पनि केही सहज बनाउन सकिन्थ्यो,’ उनले भने, ‘ प्राधिकरणले नभत्काएकाले हामी त केही गर्न सक्दैनौं अहिले। तैपनि आग्रह गरेर तत्काललाई गाभ्रेल हाल्न लगाउने प्रयास गर्छु।’
काठमाडौं क्षेत्र नं. ३ का सांसद् रामेश्वर फुँयाल पोखरी छिचोल्दै सँधै त्यही बाटो हुँदै देशको प्रशासनिक केन्द्र सिंहदरबार धाउँछन्। धेरै पहिले सडक भत्केकाले डिभिजनसँग अनेकौंपल्ट आग्रह गर्दा पनि नसुनेको फुँयालले बताए। ‘तीनचुलीदेखि ढल आउँछ। खोलोजस्तै आउने भेल र सवारीले सडक खोतलेर ठूला खाल्डा बनेका छन्,’ उनले भने, ‘डिभिजन सडक विस्तार हुँदैछ भनेर टार्ने काम गरिरहेको छ। न सडक विस्तार थाल्छ न मर्मत गर्छ।’ सांसद भएदेखि निरन्तर उक्त क्षेत्रका सडकको स्तरोन्नतिमा लागे पनि सफल हुन नसकेको फुँयाल बताउँछन्। नागरिकन्युजमा समाचार छ |
Saturday, 28 May 2016
सडकमा गुड्छन् ‘पानीजहाज’
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment